१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० असार २६ मंगलबार १०:१४:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपाल बैंक र पोखराका व्यवसायीबीचको भाडा विवादमा सहमति 

Read Time : > 1 मिनेट
२०८० असार २६ मंगलबार १०:१४:००

नेपाल बैंक लिमिटेडको स्वामित्वमा पोखरा महानगरपालिका वडा नम्बर ९ स्थित पृथ्वीचोकमा रहेको बैंक अफिस तथा कमर्सियल कम्प्लेक्स (पोखरा मल)को भाडा विवाद सकिएको छ । बैंकले कोभिड समयको भाडा छुट गर्ने, व्यवसायीले तिर्न बाँकी भाडा तिर्नेलगायतका आठ बुँदामा सहमति भएसँगै बैंक र व्यवसायी दुई पक्षबीचको लामो समयदेखिको विवाद सोमबारदेखि समाधान भएको हो ।

बैंकले व्यवसायीहरूले सहमतिअनुसारको भाडा नतिरेको बताउँदै आएको थियो भने व्यवसायीहरूले कोरोनाको समयमा घोषित भाडा छुट नपाएको बताएपछि दुई पक्षबीच विवाद भएको थियो । विवादका बीच यही १० असारमा बैंकको प्रधान कार्यालय, सामान्य सेवा विभाग धर्मपथ काठमाडौंले घरभाडा बुझाउन आउन भन्दै मलमा व्यवसाय गरिरहेका व्यवसायीहरूको नाम र तिर्नुपर्ने रकम उल्लेख गरी १५ दिने सूचना जारी गरेको थियो ।

मलमा रहेको सटर भाडामा लिई व्यवसाय गर्दै आएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले सम्झौताबमोजिम तिर्नु/बुझाउनुपर्ने बहाल रकम नियमित रूपमा नबुझाएपछि बैंकले पटक–पटक लिखित तथा मौखिक जानकारी गराई छलफल गर्दा व्यवसायीहरूले रकम भुक्तानी नगरेपछि बैंकले पछिल्लोपटक १० चैत ०७९ मा पत्राचार गरी बहाल रकम तिर्न/बुझाउन २१ चैत ०७९ सम्मको समय दिएको थियो ।

बैंकले दिएको समयभित्र रकम तिर्नुपर्ने व्यवसायीहरूले नतिरेपछि बैंकले १० असारमा १५ दिने सूचना प्रकाशित गर्दै जेठ ०८० सम्मको भाडा २४ असारसम्म बुझाउन भन्दै मलमा व्यवसाय गर्दै आएका व्यवसायीहरूको नाम र तिर्नुपर्ने रकम सार्वजनिक गरेको थियो । प्रकाशित सूचनाअनुसारको समयभित्र पनि बुझाउन बाँकी रकम चुक्ता/भुक्तानी नगरेको खण्डमा २५ असारबाट बैंकले रकम असुलीका लागि कानुनी उपचारसँगै सटरमा रहेका सामान हटाई सटर खाली गराइने जनाएको थियो । बैंकले दिएको समयसीमा सकिन लाग्दा सोमबार पोखरा उद्योग वाणिज्य संघको पहलमा भाडा विवाद समाधान भएको हो ।

विवाद समाधानका लागि मलमा व्यापार गरिरहेका व्यवसायीहरूले सहजीकरणका लागि पोखरा उद्योग वाणिज्य संघमा रहेको हेल्प डेस्कमा लिखित आग्रह गरेका थिए भने बैंक व्यवस्थापनले समेत सहजीकरणका लागि संघको मध्यस्थता स्वीकार गरी वार्तामा बस्न तयार भएपछि बसेको सर्वपक्षीय बैठकले विवाद समाधान गरेको हो ।