मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
नयाँ पत्रिका काठमाडाैं
२०८० असार २५ सोमबार १०:३७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महानिर्देशक अधिकारीले बुझाए स्पष्टीकरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० असार २५ सोमबार १०:३७:००

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा स्पष्टीकरण बुझाएका छन् । मन्त्री किराँतीले ११ असारमा अधिकारीलाई नौबुँदे स्पष्टीकरण एक साताभित्र बुझाउन निर्देशन दिएका थिए । तर, मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण सार्वजनिक गरेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले मन्त्रालयलाई स्पष्टीकरण दिइरहनुनपर्ने जिकिर गर्दै आएका थिए । महानिर्देशकबाट समयभित्र स्पष्टीकरण नआएपछि मन्त्री किराँतीले पुनः तीन दिनको समय दिएर ‘के–कति कारणले स्पष्टीकरणको जवाफ नदिएको हो’ भन्ने व्यहोराको दोस्रो स्पष्टीकरण सोधेका थिए । 

महानिर्देशक अधिकारीले आफूलाई मन्त्रिपरिषद्ले नियुक्ति गरेको भन्दै स्पष्टीकरण नदिने अडान लिएका थिए । तर, मन्त्री किराँतीले दोस्रो स्पष्टीकरणको तीन दिनभित्र जवाफ नआएमा कानुनअनुसार प्रक्रिया अगाडि बढ्ने चेतावनी दिएका थिए । तीन दिनको समय दिएर दोस्रोपटक ध्यानाकर्षण गराएपछि अधिकारीले मन्त्रालयमा स्पष्टीकरण बुझाएको मन्त्रालयले जनाएको छ । तर, अधिकारीले के–कस्तो स्पष्टीकरण दिए भन्ने खुलेको छैन । समाचार तयार पार्दा महानिर्देशक अधिकारी र पर्यटन सचिव सुरेश अधिकारीको फोन स्विच अफ छ ।  

निजी कम्पनी सिम्रिक एयरलाई होलिपोर्ट निर्माण एवं सञ्चालनको जिम्मेवारी सुम्पिने निर्णय कार्यान्वयनमा बाधक बनेपछि मन्त्री किराँती महानिर्देशक अधिकारीसँग रुष्ट भएका थिए । मन्त्रालयले नियामक निकायलाई सुइँको नै नदिई गैरकानुनी रूपमा गैरसैनिक हवाई ऐन, २०१५ विपरीत निजी कम्पनीलाई हेलिपोर्ट निर्माण गर्न अनुमति दिने निर्णय गरेको थियो । यही कारण मन्त्रीले महानिर्देशकलाई स्पष्टीकरण सोधेको हुन सक्ने मन्त्रालय स्रोत बताउँछ । 

क्यानलाई नियामक निकाय र सेवाप्रदायक निकायका रूपमा छुट्याउने सरकारको नीतिविपरीत किन अभिव्यक्ति दिँदै हिँडेको भन्दै मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई स्ष्टीकरण सोधेका छन् । स्पष्टीकरण पेपरमा उल्लेख छ– ‘सरकारको नीतिको परिपालना नगर्ने र उल्टै त्यसलाई चुनौती दिने कार्यमा संलग्न रहेको पाइएको छ, तपाईंको उक्त कार्य नेपला नागरिक उड्डयन प्राधिकरण, कर्मचारी सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०५६ को नियम ११.२६ को प्रावधानविपरीत रहेकाले के–कति कारणले तपाईंले आफ्नो पदीय जिम्मेवारीविपरीत सरकारको नीतिका विरुद्धमा काम गर्नुभएको हो ?’ हवाई सुरक्षामा प्रश्न तेस्र्याउँदै कराँतीले उड्डयन सुरक्षालाई प्रभाकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न किन असफल रहेको किन मान्नुनपर्ने ? भन्दै स्पष्टीकरण सोधेका छन् ।