राष्ट्रिय युवा परिषद् : आवश्यकता कि चुनौती ?

राष्ट्रिय युवा परिषदकाे हालको संरचना हेर्दा राज्यकोषलाई आर्थिक व्ययभार मात्रै परेको देखिन्छ, उपलब्धि भने अपेक्षाअनुरूप छैन

बिहिबार, २१ असार, २०८०
डिजिटल संस्करण

नेपालको जनगणनालाई आधार मान्दा १६ देखि ४० वर्ष उमेरसमूहको युवाको संख्या ४२.५६ प्रतिशत छ, जुन नेपालका लागि ठूलो अवसर पनि हो । विश्वका कैयौँ देशमा यो उमेरसमूहका युवाको संख्या कम हुँदा विकासको मेरुदण्ड कम भएको महसुस हुन थालेको छ ।

मुलुकले आगामी डेढ दशकसम्म चल्ने जनसांख्यिक लाभांशलाई अवसरका रूपमा लिन सकेन भने ‘एजिङ’ अर्थात् प्रौढहरूको जनसंख्या युवाको भन्दा धेरै हुन्छ । हाल जापानलगायतका देशले एजिङ जनसंख्याको असर भोगेका छन् । प्रत्येक वर्ष आर्थिक अवस्थाको मापन नगरी वृद्धभत्ता वितरण गरिरहेको राज्यका लागि त्यो अवस्था अर्थराजनीतिक दृष्टिकोणले धान्नै नसक्ने हुने आकलन गर्न सकिन्छ । अतः राज्यले वेलैमा योजना निर्माण गरी युवा परिचालन वर्ष घोषणा गर्नुपर्छ । 

राष्ट्रिय युवा परिषद्, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय ०७२ मा युवा हकहितको संरक्षण संवद्र्धन गर्ने, युवाको बृहत्तर विकास, युवा परिचालन र सशक्तीकरण गर्ने उद्देश्यका साथ युवाद्वारा नै नेतृत्व गर्ने उद्देश्यले स्थापित सरकारको माथिल्लो युवा निकाय हो । परिषदमा एक मन्त्रीसहित ३५ सदस्य रहन्छन् । त्यसको अध्यक्ष मन्त्री स्वयं हुने प्रावधान छ ।

नेपाल सरकारबाट मनोनीत एकजना राज्यमन्त्रीसरहको सेवासुविधासहित उपाध्यक्ष, सात विभिन्न मन्त्रालयका सचिव पदेन सदस्य, एक राष्ट्रिय योजना आयोगको सचिवालय सचिव, २१ जना विभिन्न क्षेत्रबाट युवा मनोनीत र चारजना सामाजिक संघसंस्थाबाट प्रतिनिधित्व गर्ने भनी प्रावधान भए पनि त्यसअनुरूप नियुक्ति हुन सकेको छैन । त्यसैगरी, ७ वटै प्रदेशमा प्रदेश युवा परिषद्, जिल्ला–जिल्लामा जिल्ला युवा परिषद् छ ।

राष्ट्रिय युवा परिषद् र प्रदेश युवा परिषद्मा कार्यकारी उपाध्यक्ष रहने व्यवस्था छ । त्यसका उपाध्यक्षले राज्यमन्त्रीसरहको सेवासुविधा राज्यकोषबाट लिने गर्दछन् भने जिल्ला युवा परिषद्को अध्यक्षले पनि मासिक रूपमा २० हजारबराबराको सेवासुविधा लिन्छन् । राष्ट्रिय युवा परिषदकाे वर्तमान संरचनालाई हेर्दा निकै ठूलो आर्थिक व्ययभार राज्यकोषलाई परिरहेको छ, तर उपलब्धि भने अपेक्षाकृत छैन । हरेक वर्ष राज्यकोषबाट युवा परिचालन, क्षमता अभिवृद्धि गर्ने भनी करोडौँको बजेट विनियोजन हुन्छ । तर, त्यो बजेट कहाँ र कसरी खर्च भइरहेको छ भन्ने स्वयं युवाले नै थाहा पाउँदैनन् ।

हरेक वर्ष राज्यकोषबाट युवा परिचालन, क्षमता अभिवृद्धि गर्ने भनी करोडौँको बजेट विनियोजन हुन्छ । तर, त्यो बजेट कहाँ र कसरी खर्च भइरहेको छ भन्ने स्वयं युवाले नै थाहा पाउँदैनन् । 
 

गत दुई आर्थिक वर्षको तथ्यांकलाई हेर्दा निकै ठूलो धनराशि खर्च गरेको पाइन्छ । तर, खर्चको तुलनामा उपलब्धि देखिएको छैन । यस्तै, पछिल्लो तीन वर्षको बजेटको तथ्यांकलाई हेर्दा परिषदकाे कार्यक्रम र पदाधिकारीको पारिश्रमिकमा निकै ठूलो धनराशि खर्च भएको देखिन्छ ।

गत दुई वर्ष र यो वर्ष विनियोजित परिषदका पदाधिकारीको पारिश्रमिक हेर्ने हो भने राज्यकोषलाई ठूलोे व्ययभार परिरहेको देखिन्छ । आव ०७८/७९ मा एक करोड ८० लाख मात्र परिषद्का पदाधिकारीको पारिश्रमिकस्वरूप खर्च भएको देखिन्छ । त्यसैगरी, आव ०७९/८० मा झन् बढेर एक करोड ८९ लाख खर्च नै भएको पाइन्छ । अहिले बजेटमा हेर्ने हो भने एक करोड एक लाख मात्र राखिएको छ । तर, यति मात्रैले पुग्दैन भन्ने यसअघिका दुई आवको खर्चले प्रमाणित गर्छ । 

सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी खर्च शीर्षकमा आव ०७८/७९ मा ४७ लाख खर्च भएको देखिन्छ । आव ०७९/८० मा बढेर ५२ लाख खर्च भएको अनुमान गरेको छ भने आव ०८०/८१ मा २९ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन विगतका वर्षभन्दा निकै कम रकम हो । 

राष्ट्रिय युवा परिषदकाे आव ०७८/७९ मा कार्यक्रम खर्च शीर्षकमा २ करोड ६७ लाख र ०७९/८० मा दुई करोड ८८ लाख खर्चको आँकडा आएको छ । यो खर्च धेरै हो । आव ०८०/८१ मा दुई करोड २८ लाख विनियोजन गरेको देखिन्छ । परिषद्ले हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवसका दिन प्रदेशस्तरीय रूपमा कार्यक्रम गर्छ । यो कार्यक्रमबाहेक परिषदकाे अर्को कुनै कार्यक्रम भएको देखिँदैन । यद्यपि, खर्च भने निकै ठूलो परिमाणमा भएको देखिन्छ ।

आव ०७८/७९ मा संस्थालाई अनुदान ससर्त शीर्षकमा १९ लाख बाँडिएको देखिन्छ । यो किन र के कार्यका लागि हो भन्ने कुरा अन्योल नै छ । त्यसवेला परिषद्को कार्यकारी उपाध्यक्षका रूपमा नेकपा एमालेका नेता माधव ढुंगेल थिए । उनले आफ्नो कार्यकालमा जिल्ला युवा परिषदमा अध्यक्ष नियुक्ति गर्ने र केही प्रदेशमा उपाध्यक्ष नियुक्ति गरेका थिए । 

डेढ वर्षदेखि परिषद्को कार्यकारी उपाध्यक्षमा माओवादी नेता सुरेन्द्र बस्नेत छन् । यद्यपि, यो अवधिमा उनले उल्लेख्य काम गर्न सकेका छैनन् । उनले जिल्ला, प्रदेशसमा युवालाई जानकारी गराउँदै युवाको प्रतिनिधित्व गर्दै केही विभिन्न देशमा समेत भ्रमण गरेको देखिन्छ । तर, युवालक्षित अन्तर्राष्ट्रियस्तरको कार्यक्रम भने नेपालमा कार्यान्वयन भएको पाइँदैन । 

मेरो विचारमा परिषदले कम्तीमा हरेक वर्ष विश्व युवा सम्मेलन नेपालमा आयोजना गर्नुपर्छ, जसले गर्दा नेपालको पर्यटनको प्रचारप्रसारसमेत हुन्छ । हरेक प्रदेशमा एक प्रविधिमैत्री युवा अध्ययन केन्द्र स्थापना गर्ने र कम्तीमा त्यस प्रदेशका युवालाई त्यहाँ निःशुल्क तालिम लिन पाउने व्यवस्था मिलाउनुपर्छ ।

यस्तै, प्रदेशमा आइडिया प्रतियोगिता गरी त्यहाँबाट छनोट भएका उत्कृष्ट आइडियालाई आर्थिक सहयोग प्रदान गर्ने र त्यस्ता परियोजनालाई वेलावेलामा राज्यबाट अनुगमन र काउन्सिलिङ दिने व्यवस्था मिलाउनुपर्छ । यस्तै, प्रत्येक युवालाई सामाजिक रूपमा कम्तीमा एक महिना स्वयंसेवी कार्य गर्न प्रेरित गर्ने र त्यस्ता कार्यक्रमलाई जिल्ला युवा समितिमार्फत सञ्चालनमा ल्याउने गरी कार्यक्रम सञ्चालनसमेत गर्नुपर्छ । 
(बानियाँ युवा अभियन्ता हुन्)

सुझावित समाचार