मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असार १७ आइतबार
  • Friday, 14 August, 2026
सौरभ यादव राजविराज
२o८o असार १७ आइतबार १९:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली नागरिकता कसुरमा उपमेयर मीरा र उनको पतिविरुद्ध मुद्दा दर्ता

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o असार १७ आइतबार १९:५४:oo

सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवविरुद्ध नागरिकतासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ। 

उच्च अदालत जनकपुर राजविराज इजलासको परमादेशपछि दुवैजनाविरुद्ध मुद्दा दर्ता भएको हो। झुठो विवरण पेस गरी नेपाली नागरिकता लिएको भन्दै कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयको नाउँमा परमादेश माग गर्दै दुई महिनाअघि उच्च अदालतमा मुद्दा दायर भएको थियो।

सो मुद्दामा गत ५ जेठमा न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र तेजनारायणसिंह राईको संयुक्त इजलासले जिल्ला प्रहरी कार्यालयको नाउँमा परमादेशको आदेश गर्दै मुद्दा दर्ता गरी छानबिन गर्न भनेको थियो। 

सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले परमादेशसँगै मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको बताए। ‘नागरिकतासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ,’ उनले भने, ‘दर्तासँगै हामीले प्रमाण जुटाउने कार्य अघि बढाएका छौँ।’

सोही नगरपालिका– ४ का ३५ वर्षीय कृष्णकुमार यादवले वारेस राजविराज नगरपालिका– ९ का ५७ वर्षीय परमेश्वर यादवमार्फत अदालतमा दायर गरेको सो मुद्दामा प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको ८ महिना बितिसक्दासमेत कारबाही प्रक्रिया अघि नबढाइएको उल्लेख छ।

कृष्णले गत साउनको दोस्रो साता जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको उजुरी दिएका थिए।

उजुरीमा विधानसभा निर्वाचन क्षेत्र बिहार निर्वाचक नामावली भाग सं.५१ अनुसार श्रीमान् श्रीमती दुवै भारतका स्थायी नागरिक रहे तापनि झुठो विवरणको आधारमा नेपाली नागरिकता लिएको उल्लेख छ। 

‘नेपाल देशमा मीरा, महेन्द्र र यी दुवैका छोरा इन्द्रजितले साबिकको सप्तरीको औरही गाविस वडा नम्बर–३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाणपत्र लिई मीरा सार्वजनिक पद धारण गरी न्यायजस्तो संवेदनशील न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकी छिन्,’ उजुरीमा भनिएको छ।

मीरा सार्वजनिक पद धारण गरी न्यायिक समितिको संयोजक पदमा बसी पदीय दायित्व दुरुपयोग गरिरहेकाले नागरिकता ऐन २०६३ को दफा नम्बर १२ बमोजिम मीरा, उनका पति महेन्द्र र छोरा इन्द्रजितको नागरिकता प्रमाणपत्र रद्द गरी सोही ऐनको दफा २१ बमोजिम हदैसम्म सजाय गर्न उजुरीमार्फत माग गरिएको थियो।

भारतको निर्वाचन नामावली २०२२ मा बिहारको क्रम संख्या ६३२ मा महेन्द्रको र ६३३ मा मीराको नाम रहेको छ भने अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेस गरेको शपथ–पत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचानपत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाण उजुरीमा संलग्न प्रमाण राखिएको छ। 

सो उजुरी गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय, सप्तरी, डाक्नेश्वरी नगरपालिका तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेतलाई बोधार्थ गर्दासमेत लामो समयसम्म कारबाही भएको छैन।

उपमेयर मीराले भने आरोपहरू गलत रहेको बताउँदै आएकी छिन्।