१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २३ आइतबार १२:३o:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

अलैँचीले देखाएको आशा : विदेशबाट फर्किएर व्यावसायिक खेती गर्दै ३४ वर्षीय दिनेश

Read Time : > 3 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:३o:oo

पूर्वी पहाडी जिल्ला संखुवासभामा ‘कालो सुन’ भनेर चिनिने अलैंचीमा विभिन्न रोग लागेर मासिन थालेपछि अधिकांश कृषकहरुले अलैंची खेती गर्न छोडेका छन् । तर, चिचिला गाउँपालिका– ३ खर्सुका ३४ वर्षीय दिनेश थुलुङ राई भने व्यवसायिक रुपमा अलैंची खेती विस्तार गरिरहेका छन् ।

विदेश र स्वदेशका विभिन्न ठाउँ घुमफिर गरेका राई आत्मनिर्भर बन्नुपर्छ भनेर व्यवसायिक रुपमा अलैंची खेती गर्न थालेको बताउँछन् । उनले ‘थुलुङ कृषि तथा पशुपन्छी तथा जडीबुटी फर्म’ दर्ता गरी ब्यावसायिक खेती गरिरहेका छन्।

०४६ सालमा खर्सुमा नै जन्मिएका राई एसएलसीसम्मको अध्ययन गरेर ०६५ सालमा वैदेशिक रोजगारीका लागि इराक उडे । त्यहाँ ३० महिना काम गरेर नेपाल फर्किए । विदेशमा राम्रै पैसा कमाएर फर्केपछि पथरीमा सामान्य काम गर्दै जिविकोपार्जन गरिरहेका उनलाई विश्वभर फैलिएको कोभिड– १९ ले नराम्रोसँग असर ग¥यो । त्यसपछि पुख्र्यौलीथलो खर्सु फर्किएर। त्यहाँ पाखोबारी र वनजंगल गरेर ३०० रोपनीभन्दा बढि जमिन त्यसै खेर गइरहेको थियो। गाउँ फर्किएर उनले त्यही पाखोबारी र जंगलमा अलैंचीको विरुवा लगाए।

‘अलैंचीको गोडमेल, स्याहारसुसार र हेरचाह गर्दा–गर्दै यतै रमाईलो लाग्न थाल्यो,’ दिनेशले भन्छन्, ‘त्यसपछि व्यवसायिक रुपमा अलैंची खेती विस्तार गर्छु भनेर लागेँ । विदेशमा गएर पनि श्रम गर्नुपर्छ भने आफ्नै गाउँमा पसिना बगाउन किन श्रम नगर्ने भन्ने सोच आयो। अहिले त यही बगान नै रमाइलो लाग्छ।’ उनी गाउँभन्दा पारीपट्टि रहेको अलैंची बगान भएको जंगलमा नै बस्छन् । त्यहीँ उनले रातो जस्तापाताले छाएर सानो चिटिक्क घर बनाएका छन्। घर सफा र सुन्दर छ । डाँडामा घर, जतिबेलै सिरसिर हावा चल्ने, डाँडाबाट चारैतिरको दृश्यहरु देखिने, आँगनमा विभिन्न रंगीबिरंगी फूल र पानीधारो छ । उनी विहानदेखि बेलुकीसम्म अलैंचीको बगानको हेरचाहमा बिताउँछन्।

उनी हेलमेट, जुत्ता र ग्लोबबिना कसैलाई पनि बगानको काममा जान दिँदैनन्। ‘सबैभन्दा पहिलो प्राथमिकता स्वस्थ्य र सुरक्षालाई दिनुपर्छ नि,’ दिनेशले भने, ‘शहरमा नै हुर्केँ बढेँ, विदेशमा पनि त्यही सिकेँ, त्यही सिकाई गाउँमा लागू गर्दैछु। अहिले त शहर र गाउँ जाँदा सबै विरानो लाग्छ । जंगलको बगानमै बस्ने बानी परिसक्यो।’

दिनेशले आफ्नो पाखोबारी र जंगलमा रहेको रुखलाई पातलो बनाएर अलैंची बगान विस्तार गरेका छन् । अहिले उनले २०० रोपनीभन्दा बढि क्षेत्रफलमा अलैंची लगाएका छन्। अझै ४० हजार बिरुवा लगाउने तयारीमा छन् । उनले अलैंचीबाहेक अन्य खेतीपाती र पशुपालन केही पनि गदैनन्। सुख्खयामका लागि पनि उनले अलैंची खेतीमा सिँचाई सुविधा विस्तार गरेका छन् । समयसमयमा औषधीउपचार र हेरचाहमा ध्यान दिइरहेका छन् । उनको अलैंचीले गत वर्षदेखि फल दिन थालेको छ । यो वर्ष १० मोन (प्रतिमोन ४० केजी) उत्पादन भयो । ‘अहिले स्थानीय बजार मूल्य २७ हजारदेखि ३० हजार रुपैयाँ छ,’ उनले भने।

बिरुवा बढेकाले आगामी वर्ष ५० देखि ६० मोनसम्म अलैंची उत्पादन हुने उनको अनुमान छ। इराकमा कमाएको करिब ३० लाख रुपैयाँ उनले यही अलैंची खेती विस्तार गर्न खर्चिए। आर्थिक क्रान्ति गर्नुपर्छ, अर्काको मुख ताक्नु हुँदैन भनेर नै व्यवसायिक अलैंची खेतीमा लागेको दिनेशले सुनाए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संखुवासभा र चिचिला गाउँपालिकाले समेत प्रविधि यान्त्रिकरण, तालिम र अनुदान उपलब्ध गराएको उनले बताए।

जिल्लामा खर्सका दिनेश राई, नुनढाकीका चेतनमणि गुरुङ, चिचिला–२ याफुडाँडाका अनिश गुरुङ र चैनपुर पोखरीका पासाङ शेर्पाको अलैंची बगान निकै राम्रो छ। उनीहरुले परियोजनाको अनुदान सहयोगमा चक्लाबन्दी कार्यक्रमअन्तर्गत नयाँ बगैँचा विस्तार गरिरहेका छन्।

अलैंची खेतीबाट कृषकहरुले विगतमा मनग्ये आम्दानी लिएपनि के कारणले बगान मासिएको हो भन्ने कुराको जड पत्ता लगाएर नवीनतम् कार्यक्रमहरु लागू हुनपर्ने याफुडाँडाका कृषक अनिश गुरुङले बताए। अलैंची खेतीले कृषकहरुको जीवनस्तर परिवर्तन गरेको स्मरण गर्दै उनले अझै पनि अलैंची खेतीप्रति आशावादी भएर नै व्यवसायिक खेतीमा लागिरहेको बताए । 

दिनेश राई जिल्लाभित्र नै नमुना युवा अलैंची व्यवसायिक कृषकको रुपमा चिनिएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यन्वयन एकाई संखुवासभाका कार्यालय प्रमुख नवराज गुरुङले बताए । उनले व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन)अन्तर्गत जिल्लामा सबैभन्दा व्यवसायिक अलैंची कृषक दिनेश राई भनेर चिनिएको बताए।

‘उनको मेहनत र परिश्रम देखेर परियोजनाले चक्लाबन्दी कार्यक्रममार्फत अनुदान रकम, प्रविधी र यान्त्रीकरण उपलब्ध गराएको छ । उनको बगान देखेर हामी जिल्लामा फेरी अलैंची खेती पुर्नस्थापना हुन्छ भनेर आशावादी छौं,’ कार्यालय प्रमुख गुरुङले भने, ‘परम्परागत खेती प्रणालीलाई हटाउँदै आधुनिक खेती शुरुवात गरिएको छ । उन्नत जातका बिउ वितरण, अलैंची सुकाउन सुधारिएको आधुनिक भट्टीको प्रयोग, अलैंची बगानमा सिंचाई र पूर्वाधार कार्यक्रम लागू हुन थालेको छ। यसबाट गुणस्तरीय अलैंची उत्पादनमा बृद्धि हुन थालेको छ । कृषकहरुले तालिम सीप प्राप्त पछि अलैंचीको गुणस्तर र ग्रेडिङ्गमा ध्यान दिन थालेका छन् । अलैंची खेतीको सम्भावना धेरै छ। त्यसैले परियोजनाको लगानी खेर जाँदैन भन्ने लाग्छ।’

संखुवासभामा ०७५ सालदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यन्वयन एकाईमार्फत अलैंची जोन कार्यक्रम शुरु भएको हो । अलैंची खेतीलाई व्यवसायिकीकरण गर्नका लागि परियोजनाले हालसम्म १ सय ४२ वटा सुधारिएको भट्टी वितरण गरिसकेको छ। आ.ब ०७८÷७९ मा संखुवासभामा १ हजार ३ सय २२ मेट्रिक टन अलैंची उत्पादन भएको थियो । यो वर्षमात्रै नेपालबाट ७ अर्बबराबरको अलैंची निर्यात भएको कार्यालय प्रमुख गुरुङले बताए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यन्वयन एकाई संखुवासभाको तथ्यांकअनुसार जिल्लाको १० वटा स्थानीय तहका ३२ वटा वडामा अलैंची जोन कार्यक्रम लागू भई संचालनमा छ। दुई हजार ३ सय हेक्टर क्षेत्रफलमा अलैंची खेती हुने गर्दछ।

ad
ad