Skip This
नेसनल ग्रिडमा जोडिए पनि जुम्लामा विद्युतको समस्या उस्तै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २६ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o जेठ २६ शुक्रबार १३:२५:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

नेसनल ग्रिडमा जोडिए पनि जुम्लामा विद्युतको समस्या उस्तै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o जेठ २६ शुक्रबार १३:२५:oo

जुम्लाको चन्दननाथ नगरपालिका– ७ की अतिना रावल बत्ती नहुँदा बेलुका पढ्न पाउँदिनन्। कनकानिशा माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत अतिनाले बत्ती नहुँदा गृहकार्य गर्न अझै पनि समस्या भोग्दै आएकी छिन्।

जुम्ला जिल्ला नेसनल ग्रिडमा जोडिए पनि बिजुली नआउँदा जिल्लावासीको अवस्था फेरिन सकेको छैन । बेलुकी र रातको समयमा बिजुली नहुँदा दियालो वा टुकीको भर पर्नुपरेको अतिनाको गुनासो छ। चन्दननाथ माध्यमिक विद्यालयको कक्षा १० मै अध्ययनरत छात्रा विनिता नेपालीको पनि उस्तै दुःखेसो छ। ‘नियमित बिजुली आपूर्ति नहुँदा निकै समस्या हुने गरेको छ । हामीजस्तो विपन्न परिवारको घरमा वैकल्पिक ऊर्जा सोलारको व्यवस्था पनि हुँदैन,’ उनले भनिन्।

नियमित विद्युत् आपूर्ति नहुँदा विद्यार्थीजस्तै साना उद्योग–कलकारखाना, व्यापार–व्यवसाय गर्नेहरू पनि मारमा परेका छन् । चन्दननाथ नगरपालिका– ४ का मोबाइल मर्मत पसल सञ्चालक कमल नेपालीले नेसनल ग्रिड पुगेपछि भएको सोलार ऊर्जा बेचे । ‘नेसनल ग्रिड पुगेपछि सधैँ बिजुली आउँछ होला भन्ने भयो। तर, अहिले नियमित विद्युत् नआउँदा निकै समस्या खेप्नुपरेको छ,’ उनले भने, ‘बेलुका त बिजुली सधैँ आउँदैन । दिउँसो पनि नआउँदा मोबाइल मर्मत गर्न आएका धेरै ग्राहक फर्केर जान्छन्।’ एक त आर्थिक मन्दीले व्यापार–व्यवसाय नै ठप्प भएको वेला, त्यसमाथि पनि बिजुली नहुँदा आउने एक–दुई ग्राहक पनि फर्केर जाने गरेका उनले सुनाए।

०७८ साउन महिनामा जुम्ला नेसनल ग्रिडसँग जोडिएको हो । दैलेखदेखि कालीकोट र कालीकोटदेखि जुम्ला राष्ट्रिय विद्युत् प्रसारण लाइन पुगेको छ। राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिए पनि नियमित बिजुली आपूर्तिमा भने चुनौती हुँदै आएको छ ।

नागरिक अगुवा राजबहादुर महतका अनुसार जुम्ला मुकामसहित यहाँका केही गाउँबस्तीमा नेसनल ग्रिड पुगे पनि नियमित बिजुली आपूर्ति हुन सकेको छैन । ‘नियमित विद्युत् आपूर्ति नहुँदा यहाँका नागरिकले नेसनल ग्रिड पुगेको महसुस गर्न सकेका छैनन्,’ उनले भने, ‘संघीय सरकार विदेशमा बिजुली बच्ने सम्झौता गर्छ, तर कर्णालीका नागरिक अझै अँध्यारोमा छन्।’

कर्णाली राजमार्ग हुँदै लामो दूरीको भिरालो भौगोलिक जमिनमा राष्ट्रिय विद्युत् प्रसारण लाइन जोडिएकाले नियमित बिजुली आपूर्तिमा चुनौती देखिएको हो । कर्णाली राजमार्गमा विभिन्न खण्ड र यो राजमार्गसँग जोडेर विभिन्न सहायक सडक निर्माण गरिँदा जथाभावी डोजर प्रयोग हुँदै आएको छ । डोजर प्रयोग हुँदा बिजुलीका पोल ढल्ने र तार चुँडिँदा नियमित बिजुली आपूर्तिमा समस्या आउने गरेको छ।

लामो दूरीको लाइन हुँदा हावाहुरी, वर्षा र हिमपातले पनि नियमित बिजुली आपूर्तिमा समस्या हुने गरेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश रावलले बताए । ‘लामो दूरीको लाइन भएका कारण बिग्रेको खण्डमा मर्मत गर्न पनि समय लाग्छ । विद्युतमा केही समस्या आएपछि तुरुन्तै मर्मतका लागि टोली परिचालन गरेका हुन्छौँ । तर, भौगोलिक बनावट पनि अप्ठ्यारो छ,’ उनले भने, ‘अहिले जुम्लासम्म पुगेको ११ केभिए लाइन हो । यो निकै कम क्षमताको विद्युत् हो । सहरीकरण बढ्दै गरेपछि बिजुली लोड पनि बढ्दै गएको छ । लोड धान्न नसकेर विद्युत् फल्ट हुने गरेको छ।’ नेसनल ग्रिड कम क्षमताको हुनु र यहाँ स्थानीय स्तरमा पनि विद्युत् उत्पादन नहुनुले नियमित विद्युत् आपूर्तिको समस्या झेल्नुपरेको उनको भनाइ छ।

नेपालगन्ज, सुर्खेत र दैलेखमा वैशाख–जेठ महिनामा विद्युतको अत्यधिक लोड बढ्छ। गर्मी बढेपछि विद्युतका विभिन्न उपकरण सञ्चालन गरिने भएकाले लोड बढेको केन्द्रका प्रमुख रावलले बताए । ‘३३ केभिएको लाइन विस्तारका लागि ठेक्का लागेको छ । यो निर्माण नभएसम्म र पातारासी गाउँपालिकास्थित चुकेनी विद्युत् आयोजना निर्माण नभएसम्म विद्युतको समस्या न्यूनीकरण हुने सम्भावना देखिँदैन,’ उनले भने, ‘अर्काे १३२ केभिए विद्युत् विस्तारको पनि कुरा छ । तर, यसमा निकै समय लाग्ने देखिन्छ।’