१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ बैशाख २४ सोमबार १७:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुरुङबाट पानी चुहिएर प्रभावित भएका १६ घरधुरीलाई सुरक्षित स्थानमा सारियो

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:४७:oo

उमाकुण्ड गाउँपालिकामा निर्माणाधीन लिखु–२ जलविद्युत् आयोजनाले सुरुङबाट पानी चुहिएर प्रभावित भएका ४२ घरमध्ये १६ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ। 

आयोजनाका कर्मचारीले जिल्ला प्रशासन कार्यालय रामेछापमा गरेको सहमति अनुसार अति जोखिममा परेका घरधुरीलाई सुरक्षित ठाउँमा सारेको आयोजनाले जनाएको छ। 

उनीहरूलाई आयोजनाले अस्थायी बसोवास र खानाको व्यवस्था गरेको छ। ५५ मेगावाट क्षमताको आयोजनाको उत्पादन गृहमा पानी खसाली परीक्षण गर्ने क्रममा सुरुङको पानी चुहिएर बस्तीमा पसेको हो। सुरुङभन्दा तलको बस्तीमा घर आसपासमै पानी आएपछि विस्थापितहरूलाई अस्थायी बसोबासको व्यवस्था गरेर अध्ययन थालेको जनाएको छ। 

सुरुङको पानी बस्तीमा पसेपछि स्थानीयले उक्त पानी रोक्न पटक–पटक माग गरे पनि आयोजनाले अटेर गर्दै आएको थियो। आयोजनाले अटेर गरेपछि स्थानीयले आयोजनामै तालाबन्दी गरेका थिए। पछि जिल्ला प्रशासन कार्यालय रामेछापको अनुरोधमा विद्युत् विभागले सुरुङमा पानी पठाउने काम रोक्न निर्देशन दिएपछि उक्त सुरुङभित्र हालिएको पानी हाललाई रोक्का गरिएको छ। 

अहिले आयोजनाले सुरुङमा पानी पठाउन बन्द गरेको भए पनि सुरुङ खाली भने गराएको भने छैन। सुरुङको पानी बस्तीमा धेरै ठाउँबाट निस्किएकोले आफूहरूलाई अन्यत्र बसोबासको व्यवस्था गर्न माग गरेको स्थानीय सुवास बस्नेतले बताए। 

सुरुङबाट पानी चुहिएको बारेमा अध्ययन गर्न विद्युत् विभागले विज्ञटोली गठन गरेर रामेछाप पठाएको छ। विज्ञटोलीले आज बुधबार प्रभावित क्षेत्रमा पुगेर काम सुरु गरेको छ।

ad
ad