१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३० आइतबार ११:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

गहना ट्रेन्ड : कम तौल र आकर्षक डिजाइनमा धेरैको रुचि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:३४:oo

सुनको भाउ बढेसँगै कम तौलका गहनामा मानिसको रुचि बढ्न थालेको छ । कम मूल्य तर आकर्षक डिजाइनका गहना मानिसको प्राथमिकतामा पर्ने गरेको व्यापारीहरूको अनुभव छ । अहिले टिकटक र फेसबुकजस्ता सामाजिक सञ्जालमा डिजाइन हेरेर गहना अर्डर गर्नेहरूको संख्या बढेको व्यवसायीहरू बताउँछन् । 

‘हिजोआज मानिसले हल्का तौल भएको सुनको गहना लगाउने गरेका छन् । अधिकांशले पश्चिमी डिजाइन मन पराउँछन् । यसले वास्तवमै फेन्सी लुक्स देखाउँछ,’ श्री नटराज ज्वेलर्सका सञ्चालक विपिन सरावगीले भने, ‘विवाहित महिलाले परम्परागत हल्का वजनको हार, झुम्का, एन्टिक गोल्ड फिगर सेट, फ्युजन स्टोन नेकलेस आदिलाई प्राथमिकता दिन्छन् ।’ 

उनी भन्छन्, ‘सोसल मिडियामा भेटेका डिजाइन लिएर धेरै ग्राहक हामीकहाँ आउनुहुन्छ । टिकटक, फेसबुक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालले प्रशस्त मात्रामा नयाँ डिजाइन हेर्ने मौका दिएको छ ।’ 

मैतीदेवीस्थित मंगलदेवी ज्वेलरीका सञ्चालक समीर दर्नाल अन्य समयमा पश्चिमा डिजाइनको माग हुने गरे पनि चाडपर्व र विवाहको सिजनमा मौलिक डिजाइन नै धेरै बिक्री हुने बताउँछन् । ‘माइली तिलहरी, छड्के तिलहरी, नवरत्नका हार, चन्द्र हार, रानी हार, सिक्का हार, मिनी हार, नौगेडीलगायतका कम मूल्यका गहनामा ग्राहकको माग बढी छ । यस्ता गहना प्रायः चाडपर्व र विवाहको सिजनमा बिक्री हुन्छन्,’ उनले भने, ‘सुनको साइड जन्तर दुई वर्षयता फेरि फेसनमा फर्किएको छ । सुनको साइड लकेटको माग पनि बढेको छ । दुलहीलाई तिलहरीको साथमा फेन्सी चुरा, औँठी, नेक्लेस पनि लगाइदिने चलन छ । पहिले काँडे चुरा, बाघमुखे चुरा, बुट्टेवाला चुरा, बुंगे चुरा लगाइदिने चलन थियो ।’ 

दर्नाल थप्छन्, ‘बजारमा चलेको अर्को गहना हो, माइली तिलहरी । विवाह पार्टी र तिजमा महिलाले यस्तो गहना लगाउने गरेको पाइन्छ । अहिले माइली तिलहरीमा डायमन्ड राखेर लगाउने चलन पनि छ । गणेशको लकेट, चन्द्रमा क्लिप र जन्तर पनि फेसनका रूपमा चलनचल्तीमा छ । सुनका चुरा, इयररिङ, शिरबन्दी तथा फूलका क्लिप पनि लगाइन्छ ।’ 

सुनको भाउ अकासिएको तथा आर्थिक संकट लागिरहेको अहिलेको समय कम तौलका गहना ग्राहकले खोज्ने गरेको उनले बताए । ‘पहिलेको दाँजोमा कम तौलका गहनामा मानिसलाई रुचि छ । त्यसैले हामीले पनि मागअनुसार फरक र आकर्षक डिजाइनमा कम तौलका गहना बनाउने गरेका छौँ । प्रायः आफैँ डिजाइन लिएर आउँछन् । हाम्रा कालिगढले त्यहीअनुसार गहना तयार गर्छन्,’ उनले भने । 

कपनस्थित न्यु भृकुटी ज्वेलरीका सञ्चालक पदम घतानी मौलिक गहनालाई नै आधुनिक लुक्समा परिमार्जन गरेर लगाउन चाहनेको संख्या ठूलो रहेको बताउँछन् । ‘मौलिक गहनामा पत्थर राखेर लगाउन खोज्ने ग्राहक बढ्दो छ । अहिले निश्चित समुदायको संस्कृति झल्किने गहनाको माग पनि बढेको छ,’ उनले भने, ‘विशेषगरी, विवाह र चाडपर्वमा मानिसहरू आफ्नै मौलिक संस्कृति झल्कने गहनामा सजिन रुचाउँछन् । विशेषगरी शेर्पा, तामाङ, गुरुङ, मगर समुदायले आफ्नो चाडपर्वमा मौलिक गहना नै लगाउन खोज्छन् । ढुंग्री, मडौरीको पनि खोजी हुन्छ ।’

ad
ad