१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
गाउँपालिकाले मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाइमा सहभागिता जनाउँदै सर्वसाधारण । तस्बिर : नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कोन्ज्योसोमवासी भन्छन्– गाउँपालिकाले नै भेदभाव गर्‍यो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o९:o५:oo

ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा मंगलबार सम्पन्न सार्वजनिक सुनुवाइमा सहभागीले पालिकाले नै भेदभाव गरेको आरोप लगाएका छन् । उनीहरूले पालिकाले सबै क्षेत्रलाई समान रूपले नहेरेको बताएका हुन् । 

गाउँपालिकाले कुनै क्षेत्रलाई काखा र कुनै क्षेत्रलाई पाखाको व्यवहार गर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेकोे बताए । स्थानीय महेन्द्र लामाले कोन्ज्योसोम गाउँपालिकाका कारण पालिकाका सबै क्षेत्रमा खानेपानीको समान वितरण नभएको बताए । ‘यस क्षेत्रमा समस्या धेरै छन्, खानेपानी, शिक्षा, स्वास्थ्यमा यो क्षेत्र पछि नै परेको छ,’ उनले भने, ‘अझ गाउँपालिकामा सेवा लिन आउँदा कर्मचारी नै हुँदैनन् ।’ 

यो गाउँपालिका ललितपुरको लगनखेलदेखि करिब ४६ किमि टाढा पर्छ । तर, यहाँ काम गर्ने सबैजसो कर्मचारी सहरी क्षेत्रबाट नै ओहोरदोहोर गर्छन् । टाढाको कार्यालय भएपछि कतिपय कर्मचारी नियमित कार्यालय जाँदैनन् । कर्मचारी नियमित कार्यालय नजाँदाको असर सेवाग्राहीलाई परेको छ । स्थानीय डोल्मा तामाङले भनिन्, ‘एउटै काममा पनि बारम्बार आउनुपर्छ । सडक र खानेपानीको समस्या ज्युँका त्युँ छ ।’ उनले यस क्षेत्रमा बालविवाह र आत्महत्याका घट्ना बढेकाले त्यसलाई रोकथाम गर्नतिर पालिकाले चासो दिनुपर्ने बताइन् । ‘यस क्षेत्रमा कृषि र पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले खासै चासो दिएको छैन,’ उनले भनिन्, ‘बालविवाह पनि बढेको छ, यसबारे गाउँपालिकाले चासो दिन आवश्यक छ ।’ असारयता प्रहरी तथ्यांक हेर्दा कोन्ज्योसोममा ११ जनाले आत्महत्या गरेका छन् ।

अर्का स्थानीय चन्द्रमान लामाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेकाले यसतर्फ चासो दिनुपर्ने बताए । यहाँ रहेका सामुदायिक विद्यालयलाई सुधार गर्न आवश्यक रहेको लामाले बताए । ‘विद्यालय पनि पायक पर्ने स्थानमा छैनन्, भएका विद्यालयमा पनि राम्रो पढाइ हुँदैन, स्थानीय भाषामा पनि पढाउन सुरु गरिएको छैन,’ उनले भने ।

पालिका अध्यक्षको प्रतिबद्धता : स्थानीयको माग आगामी वर्ष पूरा हुन्छन् 
पालिकाका अध्यक्ष कृष्णमान लामाले सुशासनलाई प्राथमिकतामा राखेर काम गरेको र सडक, यातायात, शिक्षा, स्वास्थ्यजस्ता विषयका योजनाअनुसार नै काम भइरहेको दाबी गरे । उनले स्थानीयले उठाएका सवाललाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिने प्रतिबद्धता जनाए ।

‘हामीले नगरपालिकालाई चुस्त र व्यवस्थित बनाउने गरी काम गरिरहेका छौँ,’ उनले भने, ‘यस वर्षका धेरै काम सञ्चालनकै चरणमा छन्, अहिले उठेका महत्वपूर्ण विषयलाई आगामी वर्षको कार्यक्रममा समावेश गर्छौँ ।’ पालिकाले तामाङ भाषामा पठनपाठन गराउन पाठ्यक्रम तयार पारेको उनले बताए ।

त्यसका लागि शिक्षक अभाव रहेकाले शिक्षक व्यवस्थापनमा लागिरहेको बताए । उनका अनुसार पालिकाले आगामी वर्ष अपांगमैत्री शौचालय निर्माण, स्थानीय सडक व्यवस्थापन, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत विषयलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । 

ad
ad