१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
शान्ति तामाङ काठमाडाैं
२०८० बैशाख २८ बिहीबार १०:१७:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

काठमाडौं भ्यु टावरको पार्किङ खुल्यो

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
२०८० बैशाख २८ बिहीबार १०:१७:००

चारपांग्रे साना सवारीसाधन र मोटरसाइकलले मात्रै प्रवेश पाउने

पुरानो बसपार्कस्थित निर्माणाधीन भ्यु टावरको अन्डरग्राउन्ड पार्किङ सर्वसाधारणका लागि खुला भएको छ । काठमाडौं महानगरपालिकाले गत शुक्रबारदेखि भ्यु टावरको अन्डरग्राउन्ड पार्किङ खुला गरेको हो । योसँगै महानगरको सहरी क्षेत्रमा देखिएको पार्किङ समस्या कम हुने अनुमान छ ।

महानगरपालिकाअन्तर्गत सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रमुख महेश काफ्लेका अनुसार सुरुवातमा यहाँ तीन सयवटा चारपांग्रे र एक हजारवटा दुईपांग्रे सवारीसाधन पार्क गर्न मिल्नेछ । ‘२२ वैशाखदेखि नै भ्यु टावरको पार्किङ खुला गरिसकेका छौँ,’ प्रमुख काफ्लेले भने । 

महेश काफ्ले, प्रमुख, सार्वजनिक–निजी साझेदारी (पिपिपी) 
२२ वैशाखदेखि नै भ्यु टावरको पार्किङ खुला गरिसकेका छौँ । अहिले यहाँ तीन सयवटा चारपांग्रे र एक हजारवटा दुईपांग्रे सवारीसाधन पार्क गर्न मिल्छ । नि:शुल्क गर्न सम्भव नभएकाले न्यूनतम शुल्क लिने निर्णय भएको छ ।  

महानगरले बागबजार, दरबारमार्ग, कालीमाटी, कलंकी, कुलेश्वर, चाबहिल, बौद्ध, माछापोखरीलगायत ठाउँको पार्किङ हटाएसँगै निर्माणाधीन भ्यु टावरको पार्किङ खोल्ने निर्णय गरेको थियो । पार्किङको माग गर्दै बागबजार क्षेत्रका व्यवसायी पटक–पटक आन्दोलित पनि भएका थिए । विरोधस्वरूप अझै पनि बागबजार क्षेत्रका व्यापारीले ब्यानर झुन्ड्याएका छन् । दरबारमार्ग क्षेत्रका व्यवसायीले पनि विरोधस्वरूप ब्यानर झुन्ड्याएका छन् । ‘हामीले विभिन्न ठाउँका पार्किङ हटाइसकेका छौँ ।

हटाउने क्रममा पनि छौँ,’ पिपिपी प्रमुख काफ्लेले भने, ‘पार्किङ हटाउँदै गएपछि ‘कोर एरिया’को व्यापार नचल्ने अवस्थामा छ । ती ठाउँ चलायमान बनाउने गरी पार्किङस्थलको व्यवस्था गर्न माग आउन थालेको छ । त्यसैले भ्यु टावरको पार्किङ खुला गरेका हौँ ।’ निर्माणाधीन भ्यु टावरको पार्किङ भने शुल्कसहितको हुनेछ । निःशुल्क गर्न सम्भव नभएकाले न्यूनतम शुल्क लिने निर्णय भएको काफ्लेले बताए । 

उद्देश्य एउटा, काम अर्कै

२५ कात्तिक ०७२ मा तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनले काठमाडौं भ्यु टावरको शिलान्यास गरेका थिए । त्यसको अर्को वर्ष वैशाखमै भ्यु टावरको अन्टरग्राउन्ड पार्किङ निर्माण सम्पन्न गर्ने भन्दै पुरानो बसपार्कलाई ६ महिनाका लागि भन्दै खुलामञ्चमा सारियो । तर, भ्यु टावर निर्माणले गति लिन नसक्दा ६ वर्षपछि वैशाख ०७८ मा खुलामञ्चबाट बसपार्क हटाइयो । बसपार्क हटाइएसँगै पुरानो बसपार्कमा पार्क हुँदै आएका यात्रुवाहक बस अचेल तीनकुनेअगाडिको मनोहरा खोला, न्युरोडको एनएसी भवनअगाडि, खुलामञ्चअगाडिको सडकमा पार्क हुने गरेका छन् । लामा तथा छोटा दूरीका बस सडकमै रोकिँदा ट्राफिक व्यवस्थापनमा असहज भएको छ । तर, भ्यु टावरमा बनाएको अन्डरग्राउड पार्किङ प्रयोग भने साना तथा दुईपांग्रे निजी सवारीसाधनले मात्र पाउने भएका छन् । भ्यु टावरको पार्किङ खुलाए पनि बसपार्कका रूपमा भने कहिलेदेखि खुल्ने टुंगो नलागेको महानगरले जनाएको छ । 

दुई तला पार्किङका रूपमा प्रयोग हुने
महानगरपालिकाका अनुसार टावरको दुई तला भूमिगत पार्किङको रूपमा प्रयोग हुनेछ । जसमा तीन सय सवारी अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ भने पहिलो तलामा बसपार्कको काउन्टर हुनेछ । दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्था, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुनेछन् । टावर भूकम्प प्रतिरोधात्मक जापानी प्रविधिमा निर्माण भइरहेको छ ।

महानगरपालिकाका अनुसार यो पार्किङले रत्नपार्क र न्युरोडआसपास पार्किङ भइरहेका सम्पूर्ण सवारीसाधनलाई धान्नेछ । भ्यु टावर निर्माणमा हाल २४सै घन्टा काम भइरहेको छ । निर्माणाधीन नै भए पनि उक्त क्षेत्रमा पार्किङका लागि कुनै समस्या नभएको काफ्लेले बताएका छन् । महानगरका अनुसार पुल्चोक इन्जिनियरिङ क्याम्पसको टोलीले टावरको प्राविधिक पक्ष अध्ययन गरिरहेको छ । कसरी काम भइरहेको छ ? गुणस्तर कस्तो छ ? कति तला बनाउने, के–के थपघट गर्ने, कसरी अगाडि बढ्नेलगायत विषयमा प्राविधिक टोलीले दिएको प्रतिवेदनअनुसार अगाडि बढ्ने काफ्लेले बताए ।