
प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले गलत आचरणबाट टाढा रहन सबै प्रहरी युनिटलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको बिहीबार नवनिर्मित भवनहरूको उद्घाटन गर्दै महानिरीक्षक कुँवरले यस्तो निर्देशन दिएका हुन् ।
आन्तरिक सुदृढीकरण पहिलो आवश्यकता भएको बताउँदै आइजिपी कुँवरले भने, ‘नागरिकका बीचमा जानुभन्दा पहिले आफू सुध्रिनु जरुरी छ ।’ भौतिक संरचना निर्माणले मात्रै नहुने भएकाले प्रहरी कर्मचारी ज्ञान र सीपमा पनि अब्बल बनाउनुपर्नेमा कुँवरले जोड दिए ।
उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको उद्देश्य प्राप्तिमा लागे नागरिकमैत्री सेवा र विश्वास कायम रहने भएकाले गलत आचरणबाट टाढा रहन सबै प्रहरी युनिटहरूलाई निर्देशन दिए ।
‘विवेकलाई कसैले ढाँट्न हुँदैन । घटनाको तथ्यमा सबैको धारणा समान हुनु जरुरी छ,’ उनले भने, ‘स्वार्थका कारण बुझाइ फरक हुँदा प्रहरीलाई अनुसन्धानमा अप्ठ्यारो पर्ने गरेको छ ।’ सीमित स्राेत र साधनबीच पछिल्लो पाँच वर्षमा तीव्र रूपमा पूर्वाधार निर्माण गरिएको उनकाे भनाइ थियाे ।
जिल्ला प्रहरी कार्यालय गुल्मी र बिकोई सुनील समीर निर्माण सेवाबीच ०७६ चैत ६ गते भवन निर्माण सम्झौता भएको थियो । ६ करोड ६८ लाख २६ हजार तीन सय ५६ रुपैयाँको लागतमा भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयको आफ्नै जग्गामा कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत निवास, ब्यारेक, मेस तथा हिरासत कक्ष भवनहरू निर्माण भएका छन् ।