१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० बैशाख १७ आइतबार ०८:३९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

लोभको पासोमा परनिर्भरता बढाउँदै टेक्नोलोजी

Read Time : > 2 मिनेट
२०८० बैशाख १७ आइतबार ०८:३९:००

टेक्नोलोजीमा परनिर्भरता बढ्दा हामी कम उत्पादक बन्छौँ, यसकै फाइदा उठाएर कम्पनीले हाम्रो भावनासँग खेली व्यापार गर्छ

भागदौडको समयलाई प्रविधिले जति सहज बनाएको छ, त्यति नै प्रयोगकर्ताको मनोवैज्ञानिक स्वास्थ्य, समाज र वातावरणमा हानिकारक प्रभाव पनि पारेको छ । प्रयोगकर्ता र समाज टेक्नोलोजीबाहेक अरू केही नदेख्दा प्रविधि हानिकारक बन्न पुग्छ । प्रविधिले प्रयोगकर्तालाई अक्षमता, आत्मनियन्त्रण, दुव्र्यवहार, प्राविधिक केन्द्रवाद र वातावरणीय ह्रास ल्याउँछ भनेर विभिन्न अनुसन्धानले पुष्टि गरिसकेका छन् । 

टेक्नोलोजीले मानिसले गर्न सक्ने काम गर्न थालेपछि प्रयोगकर्ता सीप सिक्न तथा जिज्ञासाहीन हुन जान्छ । यसबाट मान्छे अटोमेटेड हुन थाल्छ । निस्फिक्री विश्वास गर्न थाल्छ, प्रविधिलाई । सीपविहीन भई मान्छे प्रविधिको सेड्युलमा चल्छ । आत्मविश्वास त लगभग हराएरै जान्छ । उदाहरणमा क्याल्कुटेरलाई लिन सकिन्छ । दिमागलाई विश्वास गर्न छोडेर हामी क्याल्कुलेटरको विश्वास गर्न थालेका छौँ । यसले हामीलाई यान्त्रिक बनाएको छ ।

एउटा क्यामेराम्यान एआईको प्रयोग गर्न थाल्छ र समाजलाई ढाँट्छ कि यो फोटो आफैँले खिचेको हो । तर, वास्तविकता त्यस्तो नहुन सक्छ । टिकटक तथा ब्युटी प्लस क्यामेराको प्रयोग गरी सोसल मिडियामा सार्वजनिक गरिएका फोटो र वास्तविक अनुहारको फरकपनकै कारण धेरै मानिस डिप्रेसनमा गएका छन् ।

व्यक्तिबाट मेसिनमा सीमित सीप प्रवाह गर्न सकिन्छ । पूर्ण हस्तान्तरण असम्भव छ । एउटा अडियो क्यासेटमा जति गीत भरिएको छ, त्यति नै सुन्न सकिने हो, नभरिएको गीत सुन्न असम्भव छ । त्यस्तै, मेसिनमा पनि जति भरिएको छ, त्यति नै गर्छ । भुल्न नहुने कुरा के भने मेसिनमा भर्ने केही मान्छेको दिमागले हो, बाँकी सबै प्रयोगकर्ता मात्र हुन् । जसले मेसिनमा भर्न सक्छ, त्यो नै टेक्नोलोजीको दुनियाँमा बाँच्छ । उदाहरणका लागि, फेसबुकका मालिकले फलानो दिनसम्म आफ्नो प्रोफाइल फोटो नराख्नुहोला, नत्र अटोमेटिक तपाईंको फेसबुक डि–एक्टिभेट गर्छु भन्यो भने कसैको केही लाग्छ ? अनि भइएन त पालुवा ? एलन मस्कले ट्विटरमा भेरिफाइड अकाउन्ट बनाउन पैसा तिर्नुपर्ने नियम लगाए, जुन यसअघि थिएन । 

यो समयको मान्छे घरपरिवार घुमाउन हिँड्दा पनि सकेसम्म वाइफाईको पासवर्ड खोज्छ । पाइएन भने मोबाइलको डाटा लिन थाल्छ । घुम्नुको मजा लुट्न छोडेर, खानाको स्वाद लिन छोडेर फोटो पोस्ट गर्न व्याकुल हुन्छ । के यो प्रविधिले मेसिनपालुवा बनाएको होइन ?

जुनसुकै तप्कामा भए पनि जब एकाधिकार हुन थाल्छ, त्यसको परिणाम गलत नै हुन्छ । हामीले प्रयोग गरिरहेको इमेल, सोसल मिडिया तथा अन्य प्रविधिको उद्देश्य भनेको विभिन्न सुविधाको लोभमा पैसा कमाउने धन्दा हो । इमेलले सुरुमा प्रयोगकर्तालाई बानी लगाउन २ जिबी स्पेस सित्तैमा दिन थाल्यो, प्रयोगकर्ता बढेसँगै बढाएर १६ जिबी सित्तैमा दिन सुरु गर्‍यो र त्यसपछि बल्ल सुरु भयो व्यापार । प्रयोगकर्तालाई लत लगाएर योभन्दा धेरै ठाउँ चाहिए पैसा तिर भन्न थाल्यो, के अब हामी मेसिनपालुवा भएनौँ ?

प्रविधिका पनि प्रकार छन् । केहीले पेपरलेस भन्दै ट्याब्लेट बिक्री गराउँछ, कलम र कागजको बजार चौपट पार्छ । अर्को आउँछ, औद्योगिक क्रान्ति भन्दै रोबोट बेच्छ, श्रमिकको रोजिरोटी खोस्छ ।

प्रयोगकर्तालाई प्रविधिले एउटा बटनमा सबै काम हुने भ्रम फैलाइदिन्छ । पुस नोटिफिकेसन पठाई जबरजस्ती डाउनलोड गर्न लगाउँछ र प्राविधिक धन्दा सुरु हुन्छ, डाउनलोड भएका एपमा विज्ञापन देखाएर । भर्खरै एप्पल कम्पनीले आइडीको पासवर्ड मागिरहेको छ, पासवर्ड सुरक्षाका निम्ति प्रयोग गरिन्छ । के एप्पलले पासवर्ड मागेर हाम्रो अकाउन्टलाई सुरक्षामा राख्यो त ? प्रविधि कम्पनीले जे चाह्यो, त्यही हुने अवस्थामा छ, अझ भनौँ केहीको मुठीमा छ, प्रविधि । प्रयोगकर्तालाई प्रविधिले कसरी काम गर्छ भन्ने कुरा हेक्का राख्ने समय नै हुँदैन, झल्याँस्स हुँदा त्यो प्रविधिको लत लागिसकेको हुन्छ । 

इन्टरनेटविनाको जीवन अकल्पनीय भइसकेको छ । यो समयको मान्छे घरपरिवार घुमाउन हिँड्दा पनि सकेसम्म वाइफाईको पासवर्ड खोज्छ । पाइएन भने मोबाइलको डाटा लिन थाल्छ । घुम्नको मजा लुट्न छोडेर, खानाको स्वाद लिन छोडेर फोटो पोस्ट्याउन व्याकुल हुन्छ । के यो प्रविधिले मेसिनपालुवा बनाएको होइन ?

टेक्नोलोजीले पक्कै पनि धेरै ठाउँका ढोका खोल्छ र सूचनाको पहुँचमा राख्छ, यसलाई नकार्न सकिँदैन । तर, यसले हामीलाई हाम्रो महत्वपूर्ण कामबाट विचलित गराइरहेको छ । हाम्रो दैनिकीमा प्रविधिको हस्तक्षेपलाई एकपटक विचार गरेर हेरौँ । सम्झनुहोस् त, फेसबुकमा जन्मदिनको शुभकामना, वर्षगाँठको शुभकामनालगायत भन्दै कति समय खर्च भयो ? मोबाइलको स्क्रिन नै पातलो हुने गरी टिकटक कति समय स्क्रोल गर्‍यौँ ? 

उद्यममा प्रविधि मिसिनु आवश्यक छ, तर घोलिनु आवश्यक छैन । इन्टरनेटमा पनि खराबी छन् । त्यहीँ गौतम बुद्धको उपदेशदेखि वीरताको गाथा पढ्न र हेर्न पाइन्छ र त्यहीँ बन्दुक बनाउने तरिका पनि सिकाइन्छ । अहिलेको समाज बुद्धको उपदेशभन्दा बन्दुक बनाउन दौडिएको देखिन्छ । 

टिकटक लाइभमा बसेर पैसा कमाउने लोभमा युवायुवतीले आफूलाई नंग्याउँदै लगेका छन् । चिनियाँ प्रविधि उकालो लाग्यो भनेर इन्स्टाग्रामले रिल भन्दै अश्लील दृश्यलाई प्रसारण गरिरहेको छ । हामीलाई लत लगाइरहेको छ । लत लाग्छ अनि पैसा माग्छ, प्रविधिको लडाइँमा पनि हामी प्रयोगकर्ता फेरि अनायासै मेसिनपालुवा बनिसक्छौँ । प्रविधि र मानव फरक हो भन्नेमा निर्माण कम्पनीहरूले पनि हेक्का राख्न जरुरी छ । 

टेक्नोलोजीमा जब परनिर्भरता बढ्न थाल्छ, तब हामी कम उत्पादक हुन थाल्छौँ, यसकै फाइदा उठाएर कम्पनीले हाम्रो भावनासँग खेल्छ र व्यापार गर्छ । निर्माण कम्पनीहरूले चाहन्छन् नै यही, सजग त प्रयोगकर्ता नै हुनुपर्छ ।