मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख ८ शुक्रबार ११:१७:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख ८ शुक्रबार ११:१७:००

पछिल्लो समय नेपालमा मस्तिष्क पक्षघात रोगीको संख्या बढ्दो छ । पक्षघात जटिल शारीरिक अवस्था हो । मस्तिष्कको कुनै भागमा रक्तसञ्चार कमी भएमा पक्षघात हुने गर्छ । पक्षघातलाई ‘स्ट्रोक’ पनि भनिन्छ । मस्तिष्कको कुनै पनि भागमा रक्त आपूर्ति बन्द भएर वा रक्तनली फुट्नुलाई स्ट्रोक अर्थात् पक्षघात भनिन्छ ।

मानसिक तनाव, अनियन्त्रित खानपान, शारीरिक परिश्रमको कमीलगायत यसको प्रमुख कारण बनेको छ । आरामदायी जीवनशैली बिताउने, जसले गर्दा उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्ने गरेको छ । खासगरी, अहिलेको समयमा हाम्रो खानपिनमा पनि समस्या देखिन्छ । हामीले सोचेजस्तो खानपिन नहुने, स्वास्थ्यलाई प्रतिकूल असर पार्ने खानेकुरा दैनिक खाइरहेका हुन्छौँ ।

पक्षघात दुई किसिमको हुन्छ । स्केमिक स्ट्रोक दिमागमा हुने रक्तनलीहरूमा केही चिजहरू गएर बसेमा रक्तनलीमा बगिरहेको रगतलाई बन्द गरिदिन्छ । त्यसकारण रगत पास हुन पाउँदैन । त्यसैले ब्रेनमा भएका तन्तुहरू ड्यामेज हुँदै गएपछि स्केमिक स्ट्रोक हुने गर्छ । हेमोरगिक स्ट्रोक उच्च रक्तचाप भएर रक्तनलीहरू फुट्न सक्छ । 

उपचार विधि

- पक्षघात भएको ६ घन्टाभित्र उपचार गर्न सकेमा मात्र ज्यान बच्न सक्छ । हामीले दैनिक खानेकुराको तालिकामा सुधार गर्नुपर्छ । धूम्रपान तथा मद्यपानबाट टाढा रहनुपर्छ । 

- शारीरिक व्यायाम गर्ने, जसले शारीरिक रूपमा सन्तुलन राख्न सहयोग गर्छ । 

- नुनको मात्रा धेरै भएका खानेकुरा नखाने, चिल्लो–पिरो र घिउको मात्रा पनि कम गर्नुपर्छ । मैदाबाट बनेका खानेकुरा सकेसम्म नखाने । घरमै बनाएको अर्गानिक खानेकुरामा जोड गर्नुपर्छ । 

- तनाव सकेसम्म लिनुहुँदैन । यसले पनि केही हदसम्म पक्षघात हुनबाट जोगाउँछ । 

- पक्षघात भएको ६ घन्टाभित्र उपचार गर्न सकेमा यसबाट बच्न सकिन्छ । पक्षघात भएपछि पनि न्युरो सर्जन र फिजिसियनको सल्लाहमा उपचार गर्नुपर्ने हुन्छ । 

- पक्षघातको ठूलो क्षति भनेको प्यारालाइसिस हो । यसलाई नियन्त्रण गर्नका लागि फिजियोथेरापीले सुधार ल्याउन भूमिका खेल्छ । तीन महिना राम्रोसँग फिजियोथेरापी गर्न सक्यो भने पक्षघातपछि देखिएको प्यारालाइसिसलाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ । 

- प्यारालाइसिस भएका बिरामीका लागि औषधि उपचारसँगै फिजियोथेरापी पनि गर्नुपर्ने हुन्छ ।

- रक्तनली फुटेको छ भने शल्यक्रिया गरेर उपचार गर्नुपर्ने हुन्छ । यदि औषधिले मात्रै भएन भने न्युरो सर्जनलाई भेटेर शल्यक्रिया गरेर पक्षघातलाई ठीक गर्न सकिन्छ । 

लक्षण 
- अनुहार बांगो हुनु 
- बोली लरबरिनु वा बोल्न नसक्नु 
- शरीरको एक भाग झमझमाउनु 
- आँखाको ज्योति गुम्नु 
- चक्कर लाग्नु 
- दिमागको सन्तुलन गुम्नु । 

कारण 
तनाव, उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूम्रपान, निष्क्रिय जीवनपद्धति, अस्वस्थ आहार, मुटुको चालको गडबडी मुख्य कारक हुन्छ । मद्यपान र धूम्रपान गर्ने बानीले पनि पक्षघातका बिरामी बढिरहेको देखिन्छ । सामान्यतया यो रोग उमेर बढ्दै जाँदा खानपिन र गलत जीवनशैलीका कारणले हुने गरेको पाइन्छ ।