
नेपाल वायुसेवा निगम (एनएसी)ले दुर्गम क्षेत्रमा हवाई कनेक्टिभिटी बढाउन तीनवटा साना जहाज खरिद गर्ने भएको छ । दुर्गम क्षेत्रमा उडान गर्न साना जहाज खरिद गर्ने कार्ययोजना अघि बढाउन निगम व्यवस्थापन उपसमितिले प्रतिवेदन पेस गरेपछि सञ्चालक समितिले प्रक्रिया अगाडि बढाएको हो ।
स्टल जहाज खरिद कार्यलाई छिटो सम्पन्न गर्न भन्दै निगम सञ्चालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधीरशमशेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । उक्त उपसमितिले काम सुरु गरिसकेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।
निगमले सीधै जहाज निर्माता कम्पनीसँग जहाज खरिद गर्ने गरी योजना अगाडि बढाएको छ । यी जहाजहरू निगमले आफ्नै आन्तरिक स्रोतबाट खरिद गर्न लागेको जनाएको छ । ‘आर्थिक वर्ष ०७९÷८० मा निगमले एक अर्ब सञ्चालन नाफा कमाएको छ, यस्तै नागरिक लगानी कोष र कर्मचारी सञ्चाय कोषलाई तिर्नुपर्ने चैतसम्मको किस्ता पनि बुझाएको छ,’ प्रवक्ता पौडेलले भने, ‘निगमको वित्तीय अवस्था बलियो हुँदै गएपछि आफ्नै आन्तरिक स्रोतबाट जहाज खरिद प्रक्रिया अगाडि बढाइएको हो ।’
निगमले नयाँ तीनवटा जहाज खरिद गरेपश्चात् नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरूलाई सेवा प्रदान गर्न सकिने बताएको छ । दुर्गम क्षेत्रमा निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडादर केही हदसम्म कम हुने निगमको विश्वास छ ।
निगम अध्यक्षलाई तीनदिने स्पष्टीकरण
क्याप्टेन आरके शेरचनलाई जहाज उडाइरहेकै अवस्थामा निलम्बन गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तीनदिने स्पष्टीकरण सोधेको छ । ११ अप्रिलमा काठमाडौं–हङकङ–काठमाडौं उडानकै क्रममा क्याप्टेन शेरचनलाई उनले अनिश्चित कालसम्मका लागि निलम्बन गर्ने निर्णय गरेका थिए । जहाज उडाइरहेकै वेलामा पाइलटलाई निलम्बन गर्दा उडान सुरक्षामा प्रतिकूल असर पर्न सक्ने अवस्थालाई ध्यानमा नराखेको क्यानको हवाई सेफ्टी विभागको जिकिर छ ।