काठमाडौं/ हिमालयन बुलियन कम्पनी (एचबिसी)ले काठमाडौंको न्युरोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । हाल ज्ञानेश्वरबाट मात्र शुद्ध चाँदीका बार र सिक्काको कारोबार गर्दै आएको कम्पनीले आइतबारदेखि न्युरोड मलको पहिलो तलामा शाखा सुरु गरेको कम्पनी सञ्चालक भीष्म गौतमले जानकारी दिए ।
कम्पनीका अनुसार न्युरोड शाखा कम्पनीको व्यवसाय विस्तारको हिस्सा हो । यसबाट ग्राहकलाई सहज हुने विश्वास गरिएको छ । भविष्यमा देशका अन्य प्रमुख सहरमा पनि आउटलेट विस्तार गर्ने बताइएको छ ।
न्युरोड शाखामा ग्राहकले चाँदीका बार र सिक्का प्रत्यक्ष अवलोकन गरेर खरिद गर्न सक्नेछन् । कम्पनीको ‘एचबिसी एप’मार्फत खरिद गरेको चाँदी पनि उक्त आउटलेटबाट संकलन गर्न सकिने बताइएको छ । ग्राहकले एपमार्फत आफ्नो अनुकूलताअनुसार चाँदीका सिक्का तथा बार खरिद गर्न सक्ने कम्पनीको भनाइ छ ।
एपमा खाता खोलेर ग्राहक पहिचान प्रक्रिया पूरा गरेपछि चाँदीको दैनिक मूल्य हेर्न र खरिदको लक्ष्य तोक्न सकिनेछ । एपमार्फत १०, २०, ५० र १०० ग्रामका सिक्का तथा ५०० ग्राम वा सोभन्दा बढी तौलका चाँदीका बार खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार एपमार्फत चाँदी खरिद गरेको पटकका आधारमा ग्राहकलाई स्ट्यान्डर्ड, गोल्डेन र प्लाटिनम श्रेणीमा राखेर क्रमशः स्ट्यान्डर्डलाई एक लाख रुपैयाँ, गोल्डेनलाई पाँच लाख रुपैयाँ र प्लाटिनम ग्राहकलाई १० लाख रुपैयाँको दुर्घटना बिमा सुविधासमेत उपलब्ध गराइनेछ ।