१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o८:५१:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

समिट अपार्टमेन्ट घटना : विस्थापित घरपरिवारलाई तत्काल राहत दिन एक करोडको फन्ड, निर्माणको काम रोकियो

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:५१:oo

ललितपुरको बखुन्डोलस्थित समिट अपार्टमेन्ट निर्माणको क्रममा घर भासिएका पीडित, ललितपुर महानगरपालिका, ग्रीनविच होटल र समिट होटलबीच आइतबार सहमति भएको छ । सहमतिपत्रमा १२ बुँदे उल्लेख भए पनि मुख्य गरी तीनवटा विषयलाई प्राथमिकता दिइएको छ ।

चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरी, एनई ग्रुपका रविभक्त श्रेष्ठ, सञ्जय मानन्धरसहित चारजनाले प्रभावितलाई तत्काल बसोबासको व्यवस्थापन गर्न र ग्रीनविच होटलसमेत भासिएकाले त्यहाँ काम गर्नेलाई खानबस्नको व्यवस्था गर्न एक करोडको आकस्मिक सहजीकरण कोष खडा गर्ने, ज–जसका घर चर्केका र भत्केका छन्, त्यसको मर्मत र निर्माण निर्माण कम्पनीले गर्ने र तत्काल बाँकी निर्माणको काम नगर्ने सहमति भएको छ ।

अवैध रूपमा निर्माणाधीन अपार्टमेन्ट निर्माणको सबै काम तत्काल रोक्न ललितपुर महानगरपालिकाले आइतबार नै निर्माता कम्पनीलाई निर्देशन दिएको छ । निर्देशनपछि निर्माता कम्पनीले सबै काम तत्कालका लागि रोकेको छ ।घटनाको छानबिन गर्न महानगरपालिकाले आइतबार नै उपमेयर मन्जिला शाक्य बज्राचार्यको संयोजकत्वमा समिति गठन गरेको छ ।

समितिले घटनाको अनुसन्धान, क्षतिको विवरण संकलन गर्ने र दोषीलाई कारबाही गर्न सम्बन्धित निकायमा सिफारिस गर्नेछ । पीडितलाई उचित क्षतिपूर्ति दिन पनि सम्बन्धित निकायलाई निर्देशन दिनेछ । विस्थापित घरपरिवारलाई तत्काल राहत दिने महानगरपालिकाले आइतबार नै एक करोड रुपैयाँको ‘र्‍यापिड रिलिफ फन्ड’ बनाएको छ । फन्डका लागि आवश्यक सम्पूर्ण रकम अपार्टमेन्ट निर्माता कम्पनीले दिनेछ । फन्डबाट विस्थापित घरपरिवारका लागि वासको व्यवस्था गरिनेछ । 

‘अवैध काम भएको छ । दोषीलाई हदैसम्मको कारबाही गरिने भनेका छौँ । तत्कालका लागि निर्माणको सबै काम रोक्न भनेका छौँ । पीडितलाई राहत दिन एक करोड रुपैयाँको फन्ड पनि बनाएका छौँ । घटनाको अनुसन्धान गर्न समिति पनि बनेको छ । समितिमा प्राविधिक टोली सहभागी छन् । उनीहरूले दिएको प्रतिवेदनका आधारमा दोषीलाई कारबाही हुन्छ,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भने ।

 सात अर्ब लगानीमा बन्दै थियो ‘लक्जरी अपार्टमेन्ट’
ललितपुर महानगरका अनुसार समिट अपार्टमेन्टको मुख्य लगानीकर्ता चौधरी ग्रुप हो । अपार्टमेन्टमा साझेदारका रूपमा एनई र समिट ग्रुप पनि छन् । उनीहरूले सात अर्ब रुपैयाँ लगानीमा ‘मल्टिप्रपोज लक्जरी अपार्टमेन्ट’ निर्माण गर्दै छन् । सन् २०२५ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण गरिएको अपार्टमेन्ट ‘इलिट वर्ग’लाई लक्षित गरी निर्माण हुँदै छ । जसमा एक सय ३० कोठा हुनेछन् । २४ सर्भिस अपार्टमेन्ट रहनेछन् । अपार्टमेन्टको बेसमेन्टमा सुपरमार्केट रहेनछ । माथिल्लो तलाको एकातर्फ लक्जरी होटेल र अपार्टमेन्ट निर्माण गरिनेछ । 

निर्माता कम्पनीले काठमाडौं उपत्यका विकास प्राधिकरणबाट अपार्टमेन्ट बनाउन स्वीकृति लिएको छ, तर भवन निर्माणको नक्सा भने पास गरेको छैन । न उनीहरूले माटो परीक्षण गरेका छन्, न इन्भाइरोमेन्ट इम्क्याक्ट एसेसमेन्ट (इआइए) परीक्षण नै गरेका छन् । अवैध ढंगले अपार्टमेन्ट निर्माण गरिएको मेयर महर्जनले बताए । ‘यति ठूलो संरचना निर्माण हुँदै रहेछ । उनीहरूले हामीकहाँ नक्सापास गर्ने आवश्यकतासमेत महसुस गरेनन् । यो सरासर गैरकानुनी काम हो । हामीले उनीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्ने भनेका छौँ । यो काम हामी गरिछाड्छौँ,’ उनले भने ।

 कानुनमा पाँच लाख मात्रै जरिवानाको व्यवस्था
निर्माणाधीन अपार्टमेन्टको जग खन्दा आसपासका ६ वटा घर भत्किए । जमिन भासियो । स्थानीय विस्थापित भए, तर त्यस्तो काममा संलग्न हुनेलाई कानुनले बढीमा पाँच लाख रुपैयाँ मात्रै जरिवाना गर्ने व्यवस्था गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ ले भवन निर्माणअघि जो–कसैले सम्बन्धित स्थानीय तहमा अनिवार्य रूपमा नक्सापास गराउनुपर्ने भनेको छ । सोही ऐनको दफा ३९ ले कानुन उल्लंघन गर्नेलाई जरिवानाको व्यवस्था गरेको छ । तर, जरिवाना रकम मात्रै पाँच लाख रुपैयाँ तोकिएको छ । ‘ऐनबमोजिम नक्सा पास नगरी वा पास भएको नक्सामा स्वीकृतिबेगर हेरफेर गरी भवन निर्माण गरेको वा गरिरहेको ठहरेमा नक्सा पास नगरी भवन बनाएको भए पाँच लाख रुपैयाँसम्म र पास भएको नक्सामा स्वीकृतिबेगर हेरफेर गरी भवन बनाएको भए दुई लाख रुपैयाँसम्म जरिवाना गरिनेछ,’ ऐनको दफा ३९ को उपदफा ५ मा भनिएको छ ।

 पहिल्यै पीडितहरूले ललितपुर महानगरमा दिएका थिए उजुरी
नक्सापासविनै ‘लक्जरी’ बहुतले अपार्टमेन्ट बनाउन धमाधम जग खन्न सुरु भएपछि ललितपुर महानगरपालिका– १ बखुण्डोलका स्थानीय रिकध्वज विष्टले तीन महिनाअघि नै महानगरमा उजुरी दिएका थिए, तर उनको उजुरीमाथि कुनै सुनुवाइ भएन । अन्ततः घर भासिएपछि उनी विस्थापित बने । उजुरीमा विष्टले नक्सापासविनै बहुतले अपार्टमेन्ट बनाउन सुरु गरिएको मात्र नभई जग खन्दा घरको गारो चर्किएको प्रस्टसँग उल्लेख गरेका थिए । साथमा आसपासका कुनै छिमेकीसँग पनि स्वीकृति नलिएको उजुरीमा उल्लेख गरेका थिए । 

तर, ललितपुर महानगरपालिकाले घटनाको गाम्भीर्यता बुझेन । नाकै सामुन्ने बनेको अवैध संरचना देखेको–नदेख्यै गर्‍यो । सोही आडमा सिजीले अन्धाधुन्ध अवैध संरचना बनाउन थाल्यो । आसपासका घरको जग भासिए । जसमध्ये केही घरको जग चर्किने मात्रै होइन, गल्र्यामगुर्लुम्मै ढल्न पुगे । ‘अन्धाधुन्ध जग खन्ने काम भएपछि निर्माण कम्पनीलाई सचेत गराएका हौँ । हामीमध्येकै एक पीडित रिकध्वज विष्टले त महानगरपालिकामा उजुरी नै दिएका थिए, तर उजुरीमाथि कुनै कारबाही भएन । अवैध संरचनाप्रति महानगरले देखेको–नदेख्यै गर्‍यो,’ पीडितमध्येका एक प्रवीण आचार्यले भने ।

अपार्टमेन्टसँगै आचार्यको ग्रिनरिच होटेल छ । होटेलका गारो चर्किएका छन् । स्विमिङ पुल भासिएको छ । होटेलबाट पर्यटक विस्थापित भएका छन् । होटेलको जगसमेत भासिन थालेपछि उनले शनिबारबाट होटेल पूर्ण रूपमा बन्द गरेका छन् । महानगरपालिकाको सानो लापरबाहीले स्थानीयले दुःख पाएको उनले गुनासो गरे । ‘उजुरी पर्दा नै महानगरपालिकाले ‘एक्सन’ लिएको भए यो विपत्ति आउने थिएन । ‘पिक’ सिजनमै होटेल बन्द गर्नुपर्‍यो । यसमा निर्माता कम्पनीको जति दोष छ, महानगरपालिकाको पनि उत्तिकै दोष देखिन्छ । कमसेकम महानगर निरीक्षणमा मात्रै गइदिएको भए निर्माण कम्पनी हच्किने थियो,’ उनले भने ।

स्थानीयले दिएको उजुरी महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले आवश्यक कारबाही गर्न भन्दै वडा नम्बर १ कार्यालयमा ‘फरवार्ड’ गरेका थिए । तर, वडा कार्यालयले उजुरीमा कुनै कारबाही चलाएन । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले भने उजुरीबारे आफूलाई जानकारी नभएको बताए ।

‘पीडितले महानगरपालिकामा यसअघि कुनै उजुरी दिएजस्तो लाग्दैन । मकहाँ कुनै उजुरी आएको छैन । प्रमुख प्रशासकीय अधिकृतकहाँ आएको हो भने मलाई जानकारी भएन । जे होस् अपार्टमेन्ट निर्माण कम्पनीले गैरकानुनी काम गरेको छ । उसविरुद्ध कडा कारबाही हुनेछ,’ उनले भने ।

अपार्टमेन्ट बनाउन निर्माण कम्पनीले जग खन्ने काम तीन महिनाअघिबाटै सुरु गरेको थियो । त्यसैवेला आसपासका छिमेकीले निर्माण कम्पनीविरुद्ध महानगरपालिकामा उजुरी दिएका थिए । निर्माण कम्पनीले अपार्टमेन्ट निर्माणका लागि अहिले सात मिटर गहिरो जग खनिसकेको छ । जगबाट पानीको भेल आउन थालेको छ । सोही कारण आसपसका जमिन भासिन थालेका हुन् । 

ad
ad