१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o७:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेयर बजार सुधार्न फेरि नयाँ कार्यदल बनाउने तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:२९:oo

सेयर बजार सुधारका लागि फेरि अध्ययन कार्यदल गठन गर्ने तयारी गरिएको छ । पछिल्लो समय बजार घट्न थालेपछि अर्थमन्त्री डा.प्रकाशशरण महतले पुँजी बजार सुधारका समस्या समाधान गर्न नयाँ कार्यदल बनाउन लागेका हुन् । अर्थमन्त्रीमा महत नियुक्त भएदेखि बिहीबारसम्ममा लगानीकर्ताले ३१ अर्ब गुमाएका छन् । पाँच दिनमा ४१ अंक घटेर नेप्से सूचक १८ सय ६६ विन्दुमा आइपुगेको छ ।  

सेयर लगानीकर्ताले नयाँ अर्थमन्त्री आएपछि बजारमा केही सुधारको अपेक्षा राखेका थिए । तर, उनको प्रवेशसँगै बजार १९ सय तलको विन्दुमा झरेपछि लगानीकर्ताले अर्थमन्त्री महतलाई मंगलबार भेटेर ६ पृष्ठ लामो सुझावपत्र बुझाएका थिए ।
सुझावमा अर्थ मन्त्रालयले सरोकारवालासमेतलाई समावेश गरी अध्ययन कार्यदल गठन गर्ने र उक्त कार्यदलको सुझावअनुसार कार्य गराउनुपर्ने उल्लेख छ । अर्थमन्त्री महतले अहिलेको परिस्थितिअनुसार नयाँ अध्ययन कार्यदल गठन गरेर समस्याको समाधान खोज्नुपर्ने निष्कर्षमा पुगेको मन्त्रालयका एक अधिकारीले बताए । 

 अर्थमन्त्रीपिच्छे बन्छ अध्ययन समिति र कार्यदल
अर्थमन्त्री परिवर्तन हुनासाथ सेयर बजार सुधार गर्न अध्ययन समिति गठन हुने गरेका छन् । ०७४ सालयता मात्रै तीनवटा कार्यदल र प्रतिवेदन बनेका छन् । अर्थमन्त्री युवराज खतिवडा मन्त्रालय प्रवेशअघि नेप्से परिसूचक १६ सय विन्दुुमा थियो । उनकै पालामा बजार ११ सय विन्दुको आसपास आइपुगेपछि लगानीकर्ता, धितोपत्र बोर्ड, अर्थ मन्त्रालयका प्रतिनिधिसहित ८ मंसिर ०७४ मा मन्त्रीस्तरीय सुझाव समिति गठन गरिएको थियो । तत्कालीन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वको ६ सदस्यीय टोलीले २४ पुस ०७५ मा पुँजी बजारमा देखिएका प्रवृत्तिहरूको समग्र मूल्यांकनसहितको प्रतिवेदन पेस गरेका थिए । 

खतिवडाको कार्यकाल सकिएपछि अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल नियुक्ति भएका थिए । उनकै कार्यकालमा नेप्से परिसूचक ३२ सयको विन्दुनजिक पुगेर नयाँ रेकर्ड बनाउन सकेको हो । त्यही विन्दुमा ओरालो लागेको बजार हालसम्म पनि बढ्न नसक्दा लगानीकर्ताले यसबीचमा १४ खर्ब रुपैयाँबराबरको सेयर हिस्सा गुमाएका छन् ।

पौडेलपछि अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त भए, उनी आएसँगै बजार पुनः ओरालो लागेको थियो । बजार घटेर करिब १८ सयको विन्दुमा आएपछि लगानीकर्ता फेरि आन्दोलनमा उत्रिँदै  धितोपत्र बोर्डअघि अनशनसमेत बसेका थिए । तत्कालीन अर्थमन्त्री शर्माले मन्त्रीस्तरीय निर्णय गरेर धितोपत्र बोर्डको संयोजकत्वमा नयाँ सुझाव समिति बनाएका थिए ।

बोर्डका कार्यकारी निर्देशक रूपेश केसीसहित उक्त समितिमा सदस्य रहेका थिए । हालसम्म त्यो समिति कायमै छ । अघिल्लो २५ जेठमामा गठन भएको उक्त समितिले हालसम्म पनि सुझाव  संकलन गरेर प्रतिवेदन बुझाएको छैन ।  लगानीकर्ता तथा नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले सुझाव संकलनका लागि वेलाबखतमा बोलाउने गरे पनि सो समितिले ठोस निर्णय नलिएको बताइन् । उनले भनिन्, ‘त्यो समितिले खासै काम गरेको छैन, निष्क्रिय जस्तै बनेको छ ।’  

त्यस्तै, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले पुँजी बजार सुधारको ठोस निर्णय कुनै पनि मन्त्रीका पालामा हुन नसकेको बताए । उनले भने, ‘हरेक मन्त्रीको मनसाय फरर–फरक हुने र समय, माग र परिस्थितिअनुसार पनि अध्ययनको माग हुने हुँदा यस्तो समिति बन्ने गरेका छन् ।’

ad
ad