आठ महिनाभित्र महाधिवेशन गर्ने सहमतिपछि तोडियो नेविसंघ असन्तुष्ट पक्षको अनशन

मंगलबार, २१ चैत, २०७९
डिजिटल संस्करण

आठ महिनाभित्र महाधिवेशन गर्नेलगायत चारबुँदे सहमतिपछि नेविसंघको असन्तुष्ट समूहको अनशन तोडिएको छ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहबरमा नेविसंघ बृहत् संघर्ष समितिसँगको सहमतिपछि अनशन तोडिएको हो। चारबुँदे सहमतिमा १० दिनभित्र अध्यक्ष दुजाङ शेर्पा नेतृत्वको केन्द्रीय तदर्थ समितिलाई पूर्णता दिने, आठ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने, जिल्लामा देखिएका विवाद आपसी समझदारीमा टुंग्याउने र अनशन स्थगन गर्ने उल्लेख छ।

समितिका तर्फबाट विद्यार्थी नेता उज्वल बज्रचार्य र नेविसंघका तर्फबाट अध्यक्ष शेर्पाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। नेविसंघको असन्तुष्ट समूहले १८ चैत्रबाट कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अनशन थालेको थियो।

असुन्तुष्ट समूहले अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अनशन सुरु गरेको थियो। संघर्ष समितिले म्याद सकिसकेकाले नयाँ पदाधिकारीसहितको विधानसम्मत कमिटी ल्याउनुपर्ने, सभापतिले म्याद सकिएपछि जारी गरेका चिठी खारेज हुनुपर्ने, १२औँ महाधिवेशन सुनिश्चित गरिनुपर्ने, स्ववियु निर्वाचनको समयमा जथाभावी तोकिएका जिम्मेवारी खारेज गर्नुपर्ने माग राखेको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवाले एक वर्षअघि शेर्पालाई नेविसंघ अध्यक्षमा मनोनीत गरेका थिए। नियुक्तिका क्रममा स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो।

सुझावित समाचार