
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजपीडितको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् । मंगलबार विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याजपीडितलाई प्रदर्शनस्थलमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।
पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए । आफ्नो पार्टी पीडितहरूको साथमा सदैव रहेको बताउँदै सभापति लामिछानेले मिटरब्याजको समस्यालाई राजनीतीकरण गर्नु नहुनेमा जोड दिए ।
उनले मिटरब्याजपीडितको मुद्दामा टेकेर आफ्नो पार्टीले राजनीतिको रोटी नसेक्ने भन्दै वास्तविक पीडितको समस्या समाधान गरिने बताए । सरकारले आर्थिक अवस्था कमजोर भएका मानिसलाई पहिलो प्राथमिकतामा नराखेसम्म समस्याको समाधान हुन नसक्ने उनको भनाइ थियो । मिटरब्याजपीडितको विरोध प्रदर्शनमा रास्वपाका उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्याल पनि सहभागी भएका छन् ।
बिहानैदेखि मिटरब्याजपीडितहरूको विरोध प्रदर्शन
मिटरब्याजपीडितहरूले आज बिहानैबाट विरोध प्रदर्शन सुरु गरेका छन् । पीडितहरूले आज बिहानैदेखि काठमाडौंको टंगालमा विरोध प्रदर्शन गरेका हुन् । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याजपीडितले सोमबार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा विरोध प्रदर्शन गरेका हुन् ।
पीडितहरू खुलामञ्चमा बस्न आए पनि काठमाडौं महानगरपालिकाको नगरप्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएपछि उनीहरूले खुलामञ्चबाहिरको सडकमा नै सोमबारको रात बिताएका थिए । पीडितहरूले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहविरुद्ध नाराबाजीसमेत गरेका थिए । उनीहरूले मिटरब्याजीलाई कारबाही गर, पीडितलाई न्याय दे, तमसुक व्यवस्था खारेज गरलगायतका नारासहित प्लेकार्ड बोकेर विरोध गरेका छन् ।