मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ९ बिहीबार १३:१२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एकै ठाउँबाट सेवा दिन काठमाडौं प्लाजा सर्दै महानगर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ९ बिहीबार १३:१२:००

काठमाडौं महानगरपालिका काठमाडौं प्लाजामा सर्ने भएको छ। सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौं प्लाजामा सर्न लागेको हो। 

नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्नका लागि महानगर र ट्रस्टबीच बुधबार सहमति भएको छ। सहमतिपत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र ट्रस्टका सहसचिव विष्णुप्रसाद ढकालले हस्ताक्षर गरे। 

महानगरले मिसिल शाखा, सहकारी विभाग, जिल्ला समन्वय समितिमा रहेका विभाग काठमाडौं प्लाजामा सार्ने तयारी गरेको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए। महानगरअन्तर्गतका १६ वटा विभागले अहिले फरक–फरक स्थानबाट सेवा प्रदान गर्दै आएको छ। 
   
सम्झौताबमोजिम झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका र भत्किएका संरचना बहाल रकमबाट कटाउने गरी महानगरले मर्मत गर्नेछ। प्रत्येक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता भएको छ। 

पाँच रोपनी दुई पैसा क्षेत्रफलमा निर्माण भएको उक्त सात तले भवनको तल्लो तलामा ७० वटा चारपांग्रे र दुई सय दुईपांग्रे सवारीसाधन पार्किङ गर्न मिल्छ।

सूचना अधिकारी आचार्यका अनुसार ०७२ सालको भूकम्पअघि महानगरको सेवा बागदरबारबाट प्रवाह भइरहेको थियो। 

भूकम्पका कारण भवन जीर्ण भएपछि केही समयका लागि राष्ट्रिय सभा गृहबाट सेवा सञ्चालन गरिएको थियो। हाल सुन्धारामा रहेको जेडिए कम्प्लेक्सबाट सेवा सञ्चालन भइरहेको छ। 

कम्प्लेक्समा प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, वित्त, प्रशासन, कानुन तथा मानव अधिकार, आन्तरिक लेखापरीक्षण इकाइ, खरिद इकाइ छन्।

साबिक बागदरबारमा महानगर प्रहरी बल, इजलास, कानुनसम्बन्धी सेवा, ट्राफिक व्यवस्थापन विज्ञको कार्यकक्ष, योजना अनुगमन तथा मूल्यांकन इकाइ छन्।

टेकुमा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, वातावरण व्यवस्थापन विभाग र जग्गा एकीकरण आयोजनाका कार्यालय र मिसिल शाखा छन्। कृषि तथा पशुपक्षी विभाग र शिक्षा विभाग ताहाचलमा छ। 

राजस्व, सार्वजनिक निर्माण र सहरी व्यवस्थापन विभाग बबरमहलमा छन्। सहकारी विभाग बिजुली बजारमा छ। सहरी योजना आयोगको कार्यालय थापाथलीमा छ।

जिल्ला समन्वय समितिको कार्यालय बबरमहलमा स्वास्थ्य, सम्पदा तथा पर्यटन, विपद व्यवस्थापन, सामाजिक विकास विभाग, सार्वजनिक निजी साझेदारी इकाइलगायत कार्यालय छन्।  

हनुमानढोका दरबार संरक्षण कार्यालय वसन्तपुरमा छ। राष्ट्रिय सभा गृह परिसरमा सूचना प्रविधि विभाग र जिन्सी शाखालगायत संरचना छन्।