मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
आठ वर्षदेखि अलपत्र तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडक । तस्बिर : नयाँ पत्रिका
२०७९ चैत १ बुधबार १०:३१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

गुल्मी सदरमुकाम जोड्ने सडक :  आठ वर्षमा ६ पटक म्याद थप, अझै भएन कालोपत्रे

Read Time : > 1 मिनेट
२०७९ चैत १ बुधबार १०:३१:००

गुल्मीका गाउँलाई सदरमुकामसँग जोड्न आठ वर्षअघि सुरु गरिएको तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडक आयोजना अहिलेसम्म सम्पन्न भएको छैन । यो आयोजनाअन्तर्गत एक वर्षमा सक्ने सम्झौता गरी सम्झौता भएको तम्घास–खाम्सेपानी साढे दुई किलोमिटर खण्ड पटक–पटक गरी ६ पटकसम्म म्याद थप्दा पनि कालोपत्रे हुन सकेको छैन । 

३१ असार ०७१ मा लोहोनी एन्ड ब्रदर्स प्रालि चितवनले यो खण्ड कालोपत्रे सम्पन्न गर्न सात करोड १९ लाख ८७ हजार ७० रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ३० चैत ०७२ मा सम्पन्न गर्नुपर्थ्यो । तर, आठ वर्ष हुन लाग्दा पनि सडक कालोपत्रे भएको छैन । तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडक आयोजना ३२ किलोमिटर लामो छ । त्यसमा सदरमुकामसँग नजिकै रहेको पहिलो खण्डको दूरावस्थाले पूरै सडक आयोजनालाई प्रभावित बनाएको छ । सदरमुकाम तम्घासदेखि सुपाखोलासम्मको खण्ड कालोपत्रे नहुँदा ग्राभेल उप्किएर बिजोग छ ।

यो आयोजनाका अन्य खण्डमा ग्राभेल भइसकेका सडकको अवस्था पनि बिग्रँदै गएको छ । कालोपत्रे गर्ने बजेट नहुँदा ग्राभेल सडक जीर्ण बन्दै गएका छन् । यद्यपि, केही खण्डमा स्तरोन्नतिको काम चलिरहेको छ । सम्झौता थप्ने, काम नगर्ने, फेरि सम्झौता अवधि बढाउने काम नगर्ने प्रवृत्ति यो सडकमा वर्षौँदेखि चलिरहेको हो । तर, सरोकारवालाले कुनै वास्ता गरेका छैनन् ।

अख्तियारको प्रतिनिधि जिल्ला प्रशासन, समग्र जिल्लाको विकास निर्माणको अनुगमन गर्ने जिल्ला समन्वय समिति, स्थानीय तह, नागरिक समाज र मिडियाको पहुँच भएकै ठाउँमा साढे दुई किलोमिटर सडक आठ वर्षमा पनि बन्दैन भने योभन्दा टिठलाग्दो अवस्था अरू हुँदैन,’ रेसुंगा नगरपालिका– ७ का विष्णु पन्थीले निराशा व्यक्त गरे । 

सुरुमा तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सूर्यटारी सडक पाल्पा सडक डिभिजन कार्यालयले ठेक्का गर्‍यो । त्यसपछि तम्घास–सिमलटारी प्युठान सडक, सडक पूर्वाधार विकास कार्यालय शिवपुर कपिलवस्तु हुँदै अहिले सडक पूर्वाधार विकास कार्यालय गुल्मीसँग दायित्व हस्तान्तरण भएको छ । सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख इन्जिनियर सचितानन्द चौधरीले चिसो मौसम भएकाले तत्काल काम गर्न नसकिएको बताए ।

निर्माण व्यवसायीसँगै फिल्ड भिजिट भएकाले फागुन पहिलो साताबाट काम सुरु गर्ने चौधरीले बताए । ‘धेरै वर्षमा धेरै कार्यालय घुम्दै सडक पूर्वाधार विकास कार्यालयमा ठेक्का हस्तान्तरण भएको छ । अब तत्काल काम गर्ने योजनामा छौँ,’ उनले भने, ‘कालोपत्रेका पूर्वाधार र आवश्यक सामग्री तयार छ ।’ निर्माण व्यवसायीले अन्तिमपटक जेठ ०८० सम्मका लागि म्याद पाएको छ ।