१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २१ आइतबार
  • Friday, 09 May, 2025
२o७९ फाल्गुण २१ आइतबार १८:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

देशभरका चाम्लिङ राईहरूको भाषिक सम्मेलन खोटाङमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २१ आइतबार १८:३२:oo

देशभरका चाम्लिङ राईहरूको भाषिक सम्मेलन खोटाङमा सुरु भएको छ। चाम्लिङ राईहरूको भाषा तथा संस्कार/संस्कृति संरक्षण, संवर्द्धन र विकास गर्ने उद्देश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– २ सोल्मास्थित शुभम् फाउन्डेसनमा तीनदिने सम्मेलन सुरु गरिएको हो।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले उद्घाटन गरेका सम्मेलनमा डा. तारामणि राई, प्राज्ञ जयकुमार राई, मुन्धुम अध्येता भोगीराज चाम्लिङ र किराँत राई चाम्लिङ खाम्बातिमका अध्यक्ष युवराज राईले चाम्लिङ भाषासम्बन्धी कार्यपत्र पेस गरेका छन्। सम्मेलनमा सहभागी देशभरका चाम्लिङ राईहरूबीच समूह विभाजन गरेर विज्ञबाट प्रस्तुत भएका कार्यपत्रमाथि छलफल सुरु गरिएको खाम्बातिमका महासबीच तेजकुमार राईले जानकारी दिए।

सामूहिक छलफलपछि चाम्लिङ राईहरूले प्रयोग गर्दै आएका भाषासम्बन्धी एउटै धारणा बनाउने कार्ययोजनासमेत रहेको खाम्बातिमले जनाएको छ। सम्मेलनमा खाम्बातिमका महासचिव तेजकुमार राईबाट चाम्लिङ राईहरूको सांगठनिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ। 

सम्मेलन उद्घाटन समारोहमा किराँत राई चाम्लिङ खाम्बातिम केन्द्रीय कार्यसमितिले प्रकाशन गरेको स्मारिकासमेत विमोचन गरिएको छ। किराँत राई चाम्लिङ भाषी र सांस्कृतिक पक्ष, चाम्लिङ मातृभाषा शिक्षणका सन्दर्भ, भाषामा यसका अनुकूलन र प्रयोग, चाम्लिङ राईहरूको सामै-सामे र पाछा, राई जातिका मौलिक संस्कृति, चाम्लिङ विवाह तथा मृत्यु संस्कार, चाम्लिङ राईहरूको भाषा तथा संस्कार-संस्कृति संरक्षण एवं संवर्द्धनलगायतका विषय समेटिएको स्मारिका विमोचन गरिएको हो।

सम्मेलन उद्घाटन समारोहमा खोटाङ जिल्लाबाट निर्वाचित जनप्रतिनिधि, नछुङ (धामी), मुन्धुमीलगायतलाई सम्मानसमेत गरिएको छ। सम्मेलनमा कोसी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य पासाङ, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, उपप्रमुख सुरेशकुमार तामाङ, कृषिविज्ञ मदन राई, चाम्लिङ राई खाम्बातिमका सल्लाहकार मणिकुमार राईलगायतले भाषा तथा संस्कार-संस्कृतिसम्बन्धी आ–आफ्नो धारणा राखेका छन्।

चाम्लिङ राईको उद्गमस्थल खोटाङ जिल्लाका विभिन्न विद्यालयहरूमा चाम्लिङ राई भाषाको पाठ्यक्रम पठनपाठन हुँदै आएको छ। चाम्लिङ राईहरूको बाहुल्यता रहेका अन्य ठाउँहरूमा सञ्चालित विद्यालयहरूमा चाम्लिङ भाषामा निर्मित पाठ्यक्रम लागू गर्न जनप्रतिनिधिहरूसँग समन्वय गर्ने विषयमा समेत कार्यक्रम बनाइने जनाइएको छ।

सम्मेलन समापनपछि जिल्लास्थित किराँत ऐतिहासिक स्थलहरू तुवाचुङ–जायाजुम, मझुवागढी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित साकेला थानलगायतका ठाउँहरूको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ। हलेसी तुवाचुङ नगरपालिकामा अवस्थित त्रिधार्मिकस्थल हलेसीनजिकै पर्ने तुवाचुङ–जायाजुम किराँत राईहरूको उद्गमस्थल मानिन्छ।