मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ फाल्गुण २१ आइतबार १०:४४:००
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

योगमायाबारे बायोपिक बन्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ फाल्गुण २१ आइतबार १०:४४:००

समाजसुधारक एवं साहित्यकार योगमाया न्यौपानेको जीवनीमा आधारित अनुसन्धानमूलक फिल्म बन्ने भएको छ । योगमायाबारे बायोपिक फिल्मको निर्देशन भीमा मैनालीले गर्न लागेकी हुन् । शनिबार चलचित्र विकास बोर्डमा आयोजित विशेष समारोहमा मैनालीले योगमायाको जीवनीमा आधारित फिल्मको घोषणा गरेकी हुन् । योगमायाको भूमिका नुभिसा उप्रेतीले निर्वाह गर्ने भएकी छिन् । 

योगमायालगायत ६८ जना सत्य धर्मका भिक्षुकहरू सत्य धर्मको माग पूरा नहुने भएपछि २१ असार १९९८ मा अरुण नदीमा हामफाली समाधि लिएका थिए । त्यसको तीन वर्षअघि योगमायाले दुई सय एकजनासहित अग्निसमाधि लिने प्रयास गरेकी थिइन् । तर, तत्कालीन राणा सरकारले उनको यो प्रयास असफल बनाएको थियो । योगमायालाई विद्रोह र क्रान्तिकारी चेत भएको नारीका रूपमा लिइन्छ । 

निर्माता निर्देशकसमेत रहेकी भीमा मैनालीले तत्कालीन नेपाली समाजमा योगमायाले पु¥याएको योगदानलाई देखाउन फिल्म निर्माण गर्न लागिएको बताइन् । उनले अन्य कलाकारको छनोट गर्ने क्रम जारी रहेको जानकारी दिइन् ।

निर्देशक यादव खरेलले योगमायाको जीवनीमा फिल्म बनाउनु निकै चुनौती रहेको भन्दै त्यसवेलाको काल, परिस्थिति, वातावरणमा पटकथा लेख्ने वेलादेखि नै ध्यान दिन सुझाव दिए । साहित्यकार निनु चापागाईंले साहित्यकारको जीवनीमा आधारित फिल्म बन्न लागेको थाहा पाउँदा खुसी लागेको बताए । उनले योगमायाको पूरै जीवनलाई पर्दामा न्याय दिन सकिन्छ कि सकिन्न भन्नेमा आशंका भए पनि उनका रहस्यमय पाटाबारे अनुसन्धान गर्न सुझाव दिए । कलाकार निर्माता भीमा मैनालीले ‘नुभिव फाउन्डेसन’को समेत घोषणा गरेकी छिन् । आफ्नो दिवंगत छोरा नुभिव उप्रेतीको नाममा उनले फाउन्डेसनको घोषणा गरेकी हुन् ।