
भारतबाट हुने तरकारी आयातमा कडाइ गरिने कृषिमन्त्री ज्वालाकुमारी साहले आश्वासन दिएकी छिन् । उचित मूल्य नपाएपछि राजमार्गमा तरकारी फाल्ने किसानहरूको भेटमा उनले यस्तो बताएकी हुन् । शनिबार किसान संघर्ष समिति चितवनले विदेशी तरकारी आयातलाई निषेध गर्नुपर्ने मागसहित मन्त्री साहलाई १० बुँदे ज्ञापनपत्र बुझाएका थिए ।
उनीहरूले स्वदेशी तरकारी तथा कृषिजन्य उत्पादनलाई प्रोत्सान गर्नुपर्ने, किसानहरूको वर्गीकरण गरी किसान कार्ड र पेन्सनको व्यवस्था गर्नुपर्ने, तरकारी तथा कृषिजन्य वस्तुहरूमा लागत मूल्य नउठेमा सरकारले अनुदान दिनुपर्ने, उत्पादन र क्षेत्रफलका आधारमा अनुदान दिनुपर्नेलगायत माग गरेका छन् ।
नेपाली बजारमा भारतीय तरकारी छ्यापछ्याप्ती आएपछि स्थानीय उत्पादन नबिकेको भन्दै शुक्रबार नारायणगढ बजारमा तरकारी छरेर विरोध गरेका किसानलाई भेट्न मन्त्री किसानको फार्ममा पुगेकी थिइन् । किसानको मागलाई सम्बोधन गर्दै मन्त्री साहले भारतबाट आउने तरकारीलाई कडाइ गर्ने र अन्य समस्या समाधानका लागि नीतिगत तहदेखि नै लाग्ने बताइन् ।
‘सडकमा तरकारी फालेको घट्नाले साह्रै पीडा भएको छ,’ उनले भनिन्, ‘धेरै लगानी गरेर हामी उत्पादन गर्छौँ, त्यो उत्पादन सडकमा देख्नु पीडादायी भयो । बिचौलियाले मुनाफा कमाउने र किसानलाई सधैँ मर्का पर्ने कारण के हो ? पत्ता लगाएर प्रक्रियामा जान्छु ।’