
मंगलबार संघीय संसद् भवनअगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका मागहरूको सम्बोधन गर्न माग गर्दै आज पनि शान्तिपूर्ण विरोध भएको छ ।
माइतीघर मण्डलामा आज बिहीबार पनि मृतक आचार्यले उठाएका माग पूरा गर्न सरकारलाई दबाब दिँदै युवाहरूले शान्तिपूर्ण विरोध गरेका हुन् । औपचारिकता मात्रै पूरा गर्ने गरेको सरकार अहिले पनि मृतक आचार्यका मागहरू छानबिन गर्ने भनेर औपचारिकता पूरा गर्न मात्रै लागिपरेको प्रदर्शनकारीको आरोप छ ।
आचार्यले आत्मदाह गर्नुपर्ने स्थिति कसरी सिर्जना भयो र त्यो अवस्थामा कसले पुर्यायो ? भन्नेबारे सरकार गम्भीर नबनेको आरोप पनि उनीहरूले लगाएका छन् । परिवारलाई भेटेर सरकारले घटना थामथुम पार्ने प्रयास गरिरहेको भन्दै उनीहरूले आचार्यलाई आत्मदाह गर्न बाध्य बनाउने दोषीहरूलाई कारबाही हुनुपर्ने माग राखेका छन् ।
सरकारलाई नागरिकको प्रश्न– यो देश हो कि वधशाला ?
जर्किन र बोतलमा पेट्रोल बेच्न नपाउने निर्णय गरेर सरकार गम्भीर बन्न नसकेको भन्दै प्रदर्शनकारीले गाउँमा ट्याक्टर चलाएर खाने किसानलाई झनै समस्या पैदा गरेको बताए । सस्तो लोकप्रियताका स्टन्ट सरकारले अब बन्द गर्नुपर्ने चेतावनी दिँदै सरकारले शान्तिपूर्ण आग्रह नसुने आगामी आन्दोलनका कार्यक्रमहरू फरक हुने प्रदर्शनकारीको चेतावनी छ ।