१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २७ बुधबार ०९:०६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु र सेन्चुरी बैंकको एकीकृत कारोबार सुरु

मर्जरपछि ग्राहक ३० लाख नाघे, चुक्ता पुँजी २३ अर्ब ५२ करोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २७ बुधबार ०९:०६:००

प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकले एकीकृत कारोबार सुरु गरेका छन् । प्रभु बैंकले सेन्चुरीलाई गाभेर मंगलबारदेखि एकीकृत कारोबार सुरु गरेको हो । प्रतिनिधिसभा सांसद तथा प्रभु बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनले एकीकृत कारोबारको औपचारिक उद्घाटन गरे ।

प्रभु बैंकले १ः१ को स्वाप अनुपातको समान हैसियतमा सेन्चुरीलाई प्राप्ति गरेको हो । अर्थात् मर्जरपछि सेन्चरी बैंकको एक सय कित्ता सेयर हुने सेयरधनीले प्रभु बैंकको पनि एक सय कित्ता नै सेयर पाउनेछन् । एकीकृत कारोबारपछि प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला कायम छन् भने प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन नै छन् ।

मर्जरपछि बैंकको एकीकृत सम्पत्ति तीन खर्ब ४० अर्ब रुपैयाँ नाघ्नेछ । कुल चुक्ता पुँजी २३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । प्रभुको चुक्ता पुँजी १३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । बैंकको कुल निक्षेप दुई खर्ब ८४ अर्ब रुपैयाँ र कर्जा प्रवाह दुई खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । मर्जरपछि ग्राहक संख्या ३० लाख नाघेको छ । अब बैंकका कुल तीन सय ६५ वटा शाखा, तीन सय नौवटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर छन् । 

गत १५ साउनमा प्रभु बैंकले सेन्चुरी बैंकलाई प्राप्ति गर्ने सहमति भएको थियो । राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएपछि दुई बैंकबीच २२ मंसिरमा प्राप्तिसम्बन्धी अन्तिम सम्झौता भएको थियो । नेपाल राष्ट्र बैंकले प्रभु र सेन्चुरीलाई प्राप्ति गर्न १९ पुसमा अन्तिम स्वीकृति प्रदान गरेको थियो । राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएसँगै यी दुई बैंकले एकीकृत कारोबार सुरु गरेका हुन् ।

गुनासो नआउने गरी सेवा दिनेछौँ 
अशोक शेरचन, प्रमुख कार्यकारी अधिकृत, प्रभु बैंक

हामी बैंकका सबै सरोकारवालालाई ध्यानमा राखेर काम गर्नेछौँ । बैंकका सेयरधनी, कर्मचारी तथा सेवाग्राहीलाई ध्यान दिनेछौँ । सबैको हित हुने काम गर्नेछौँ । सेवाग्राहीलाई उत्कृष्ट सेवा दिँदै गुनासो नआउने गरी काम गर्नेछौँ ।