
एकीकृत समाजवादी संसदीय दलका नेता माधवकुमार नेपालले जनताले परिवर्तनको अनुभूति गर्न सक्ने गरी काम गर्न सरकारलाई सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जनजीविकाको सवाल, भ्रष्टाचार र दण्डहीनताको अन्त्य, अर्थतन्त्रको सुधारको पक्षमा सरकारले विशेष ध्यान दिनुपर्ने अवस्था रहेको बताए ।
‘अब जनताले हाम्रो बोली मात्र पत्याउँदैनन् । जनता व्यवहार हेरिरहेका छन्,’ उनले भने, ‘कार्यशैली परिवर्तन गरेर सरकारले चाँडो सेवा प्रत्याभूति गराउन सकोस् ।’ उनले मिटरब्याजीले विपन्नको जीवन नरक बनाइदिएको पनि बताए ।
जनताले राजनीतिक स्थायित्वको आशा र अपेक्षा गरेको भन्दै उनले भने, ‘छिनछिनमा सरकार परिवर्तन होस् भन्ने जनताले चाहेका छैनन् । त्यसैले विगतका अनुभवबाट शिक्षा लिएर सरकार अगाडि बढोस् ।’
प्रधानमन्त्रीमा नियुक्त भएकोमा प्रचण्डलाई शुभकामना दिँदै उनले प्रधानमन्त्रीले पनि संविधानको पालना गरेर हिँड्नुपर्दछ भन्ने हेक्का राख्न सुझाव दिए ।