१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २४ आइतबार ०९:००:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल टी–२० लिग : प्ले अफमा लुम्बिनी र जनकपुर भिड्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २४ आइतबार ०९:००:००

नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको पहिलो प्ले अफमा आज शीर्ष स्थानको लुम्बिनी अल स्टार्स र दोस्रो स्थानको जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । यस खेलको विजेताले बुधबार हुने फाइनलमा स्थान बनाउनेछ । पराजित टोलीले इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो प्ले अफ खेल्नुपर्नेछ । इलिमिनेटरमा सोमबार विराटनगर सुपर किंग्स तथा काठमाडौं नाइट्सबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा सहभागी ६ टोलीले समान १० खेल खेल्दा लुम्बिनी १६ अंकसहित पहिलो, जनकपुर १४ अंकसहित दोस्रो, विराटनगर १० अंकसहित तेस्रो र काठमाडौं आठ अंकसहित चौथो स्थानमा रहन सफल भए । समान ६ अंक बटुले पनि फार वेस्ट युनाइटेड र पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । 

लिग चरणको अन्तिम खेलमा शनिबार काठमाडौंलाई हराउँदै विराटनगरले तेस्रो स्थानमा रहेर इलिमिनेटरमा स्थान बनायो । हारका बाबजुद चौथो स्थानमा रहेर काठमाडौंले इलिमिनेटरमा स्थान बनायो । शनिबारै अर्को खेलमा फार वेस्ट युनाइटेडसँग ४१ रनले पराजित हुँदा पोखराले चौथो स्थानमा उक्लने अवसर गुमायो । हारले पोखरा लिगको पुछारमा झर्‍यो । 

कप्तान रोहित र गौरान्सु चम्किए
कप्तान रोहितकुमार पौडेल र गौरान्सु शर्मा दुवैले अर्धशतक बनाएपछि विराटनगरले काठमाडौंलाई सात विकेटले हराएर इलिमिनेटरमा स्थान बनायो । काठमाडौंले प्रस्तुत गरेको एक सय ५५ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गरेको थियो । राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितले ४२ बलमा पाँच चौका र तीन छक्का मद्दतमा ६६ रन बनाए । त्यसैगरी, अमेरिकाका २४ वर्षीय ब्याटर गौरान्सु शर्माले ६९ बलमा चार चौका मद्दतमा अविजित ५१ रन जोडेका थिए ।

२१ रन जोड्दा ओपनर अर्जुन साउदलाई विराटनगरले गुमाएको थियो । क्रिजमा आएका प्लेयर अफ दी म्याच रोहित र गौरान्सु शर्माले दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरेपछि विराटनगर बलियो अवस्थामा पुगेको थियो । 

राजको कसिलो बलिङ 
विराटनगरका बलर राज रकी नानन चम्किएपछि टस जितेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५४ रन बनायो । उसका ओपनर सन्तोष कार्कीले सर्वाधिक ३४ रन बनाए । एलेक्स ब्लेकले ३४ तथा सन्दीप रजालीले ३० रन जोडेका थिए । विराटनगरका बलर राज नाननले सर्वाधिक चार विकेट लिए । वेस्ट इन्डिजका ३० वर्षीय खेलाडीले चार ओभरमा एक मेडन राख्दा १३ रन खर्चिए । 

अन्तिम खेलमा चुक्यो पोखरा 
अन्तिम खेल जितेको भए चौथो स्थानमा रहेर पोखराले इलिमिनेटरमा स्थान बनाउने थियो । तर, हारले पोखरा पुछारमा झर्‍यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फार वेस्टले प्रस्तुत गरेको एक सय ८८ रनको लक्ष्य पछ्याएको पोखरा १८.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ४६ रनमा समेटियो । पोखराका विदेशी खेलाडी तथा कप्तान उपुल थरांगाले ३६ रन बनाए । त्यस्तै, प्रतिश जिसीले ३४ र सिद्धान्त लोहनीले २८ रन जोड्न सफल भए ।  

विनोद र हस्मतउल्लाहको अर्धशतक 
टस जितेर सुरुवाती ब्याटिङ गरेको फार वेस्टले कप्तान हस्मतउल्लाह र विनोद भण्डारीको शतकीय साझेदारीमा पाँच विकेट गुमाउँदै एक सय ८७ रनको विशाल योेगफल खडा गरेको थियो । हस्मतउल्लाह र विनोदले पहिलो विकेटका लागि एक सय ३४ रनको साझेदारी गरेका थिए ।