१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मंगलबार पोखरामा बसेको क्यान बैठक । तस्बिर: रोहितराज पराजुली/नयाँ पत्रिका
२०७९ माघ १८ बुधबार ०६:२७:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सेभेन थ्रीले गर्‍यो नेपाल टी–२० लिगको सम्झौता रद्द

नेपाल टी–२० लिगको रणनीतिक एवं व्यावसायिक साझेदार सेभेन थ्री स्पोर्टस्ले क्यानसँगको सम्झौता तोड्दै उल्टै लाइसेन्सबापत दिएको एक करोड २० लाख मागेको छ

Read Time : > 1 मिनेट
२०७९ माघ १८ बुधबार ०६:२७:००

भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्ले एकलौटी रूपमा नेपाल टी–२० लिग आयोजना गर्न नेपाल क्रिकेट संघ (क्यान)सँग गरेको सम्झौता रद्द गरेको छ । नेपाल टी–२० लिगमा भएका म्याच फिक्सिङपछाडि सेभेन थ्री स्पोर्टस्लाई मुख्य दोषी मानिएको छ । टी–२० लिगको आलोचना र विवादपछि सेभेन थ्री स्पोर्टस्ले मंगलबार एकतर्फी रूपमा आफैँ सम्झौता रद्द गरेको जनाएको छ । ९ देखि २७ पुससम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा आयोजना भएको नेपाल टी–२० लिगमा सुरुदेखि नै विभिन्न विवाद सिर्जना भएका थिए ।

लिग चलिरहँदा नै खेलाडी तथा कमेन्टेटरले फिक्सिङ प्रस्ताव आइरहेको र म्याच फिक्सिङ भइरहेको खुलासा गरेका थिए । त्यसलगत्तै जतिन अलुवालिया सुरक्षाको कारण देखाउँदै भारत भागेका थिए । रणनीतिक एवं व्यावसायिक साझेदारीका रूपमा रहेको सेभेन थ्री स्पोर्टस्का संस्थापक जतिनले क्यानसँग सम्झौता रद्द गरेको जनाएका छन् । क्यानले नेपाल टी–२० लिग आयोजना गर्न सेभेन थ्री स्पोर्टस्सँग एकैपटक आठ वर्षको सम्झौता गरेको थियो । आठ वर्षको सम्झौता रकम ३३ करोड रुपैयाँ थियो ।

सम्झौताअनुसार पहिलो वर्ष सेभेन थ्री स्पोर्टस्ले क्यानलाई तीन करोड ९० लाख रुपैयाँ दिनुपर्ने थियो । तर, सेभेन थ्री स्पोर्टस्ले लाइसेन्स शुल्कबापत एक करोड २० लाख रुपैयाँ मात्र क्यानलाई प्रदान गर्‍यो । नेपाल टी–२० लिग सबै हेर्ने जिम्मेवारी पाएको भारतीय कम्पनीका संस्थापक जतिनले पहिलो संस्करणसमेत पूरा गर्न सकेनन् । जतिनले उल्टै सम्झौता तोड्दै क्यानसँग एक करोड २० लाख रुपैयाँ फिर्ता मागेका छन् । भारतीय कम्पनीले प्रतियोगिताका लागि नेपाल सरकारको सहमति प्राप्त नभएको कारण देखाउँदै क्यानलाई मंगलबार इमेलमार्फत सम्झौता भंग गरेको जनाएको हो ।

‘हामीले क्यानलाई सम्झौता भंग भएको पत्र पठाएका छौँ,’ जतिनले भनेका छन् । यसैगरी, क्यानले पनि नेपाल टी–२० लिगको रणनीतिक एवं व्यावसायिक साझेदारी कम्पनी सेभेन थ्री स्पोर्टस्ले इमेलबाट सम्झौता रद्द गरेको पुष्टि गरेको छ । ‘हामीलाई सेभेन थ्री स्पोर्टस्बाट इमेल प्राप्त भएको छ, सम्झौता रद्द भएको जनाउनुभएको छ, साथै प्रतियोगिताको लाइसेन्सबापत दिइएको एक करोड २० लाख फिर्ता माग्नुभएको छ,’ क्यानका एक पदाधिकारीले भने । 

यसअघि गत बिहीबार क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विदेशी कम्पनीसँगको सम्झौता गल्ती भएको स्विकारेका थिए । चन्दले नै सम्झौता रद्द गर्ने प्रक्रियामा जाने पनि बताए । क्यानले सम्झौता रद्द गर्नुअघि नै सेभेन थ्री स्पोर्टस्ले सम्झौता भंग गरेको हो । प्रतियोगिताका दौरान विभिन्न किसिमका विवाद बाहिर आएका थिए । क्यानले आफैँले पहिलोपटक आयोजना गरेको नेपाल टी–२० लिग विवादास्पद बनेपछि तीन पक्षले छानबिन गरेका थिए । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), राष्ट्रिय खेलकुद परिषद् र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले टी–२० लिगमा भएका विवादको छानबिन गरेका हुन् । सिआइबीले फिक्सिङमा १० जना संलग्न रहेको जनाएको छ । यसैक्रममा सिआइबीले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकीर्तिमानी बलर मेहबुब आलम र आदिल अन्सारीलाई पक्राउ गरेको थियो । 

सहमति पत्र ल्याउँदा सहभागी हुने
नेपालमा आयोजना हुने कुनै पनि खेलकुद प्रतियोगितामा विदेशी खेलाडी तथा कम्पनीलाई ल्याउँदा प्रचलित कानुनअनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग अनुमति लिनुपर्छ । क्यानले नेपाल टी–२० लिगको सम्बन्धमा राखेपसँग अनुमति मागेको थियो । तर, राखेपले विधिवत् रूपमा कुनै पनि प्रक्रिया पूरा नगरेको जनाउँदै क्यानलाई अनुमति प्रदान गरेन । राखेपको स्वीकृतिविना नै क्यानले नेपाल टी–२० लिग आयोजना गर्‍यो ।

सेभेन थ्री स्पोर्टस्का जतिनले आफूहरूलाई क्यानले झुक्याएको दाबी गरेका छन् । ‘क्यानका अधिकारीहरूले सहमति प्राप्त भएको बताए, आधिकारिक रूपमा उनीहरूले स्वीकृति प्राप्त भएको पत्र देखाएनन्,’ उनले भने, ‘क्यानकै विश्वासमा प्रतियोगितामा हामी सहभागी भयौँ ।’ जतिनले पत्रमा क्यानले राखेपबाट सहमति ल्याउँदा आफूहरू सहकार्य गर्न सक्ने जनाएका छन् ।