मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष २७ बुधबार ०७:१४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

लुम्बिनीले फाइनलमा विराटनगरको सामना गर्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष २७ बुधबार ०७:१४:००

पहिलो संस्करणको नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंग्सबीच बुधबार प्रतिस्पर्धा हुँदै छ । लिगको मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम प्ले अफमा विराटनगरले जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै लुम्बिनीविरुद्धको फाइनल भेट पक्का गरेको हो । यसअघि नै लुम्बिनी अन्तिम दुईमा पुगेको थियो । त्रिवि क्रिकेट मैदानमा विराटनगरले पहिलो ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा जनकपुर १९.१ ओभरमा एक सय २८ रनमा समेटियो ।

बलरको उत्कृष्ट प्रदर्शन
विराटनगरले लक्ष्य रक्षा गर्दा सिमर र स्पिनरले उत्कृष्ट बलिङ गरेका थिए । केओन जासेपले चार ओभरमा एक मेडन राखी तीन विकेट लिए । यसैगरी, नेपाली बलर नन्दन यादवले तीन ओभरमा २८ रन खर्चंदै दुई विकेट हात पारे । राज ननामले २८ रनमा दुई विकेट हात पारे । हुसेन टटालले जनकपुरको अन्तिम विकेट लिएका थिए । नेपालका सूर्य तामाङले २१ रन खर्चेर एक विकेट हात पारे । विराटनगरका बलरले कसिलो बलिङ गर्दा जनकपुरले इनिङ्सको पाँचौँ बलमै विकेट गुमाएको थियो । जनकपुरले दोस्रोदेखि चौथो विकेटसम्म गतिलो साझेदारी पाएको थियो । 

पाँचौँ विकेटपछि जनकपुरका ब्याट्सम्यानहरूले गतिलो साझेदारी गर्न नसक्दा विराटनगरले बाजी मा¥यो । जनकपुरले पछिल्लो ६ विकेट केवल १७ रनको अन्तरमा गुमाएको थियो । इनिङ्सको एक समयमा जनकपुर १११–४ को अवस्थामा थियो । त्यसवेला इनिङ्स १५.३ ओभर चलिरहेको थियो । मध्य तथा पुछारका ब्याट्सम्यानले जोसेप, टटाल र नन्दनको घातक बलिङ सामना गर्न नसक्दा जनकपुर १११–४ बाट १२८–१० मा अलआउट भयो । 

वाल्टनको अर्धशतकीय इनिङ्स
जनकपुरको कमजोर ब्याटिङमा चौथो क्रमका ब्याट्सम्यान चडविक वाल्टनले अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ४७ बलमा ६ चौकाको सहयोगमा ५१ रनको योगदान दिए । उनी इनिङ्सको १५.३ ओभरमा आउट भए । वाल्टनले दोस्रो विकेटका लागि कप्तान ट्रेभोन ग्रिफित र सन्दीप जोरासँग गतिलो साझेदारी गरेका थिए । जनकपुरको ब्याटिङमा सन्दीपले १० बलमा एक छक्काको सहयोगमा नौ रन बनाए । यसैगरी, कप्तान ट्रेभोनले २४ बलमा चार चौका र एक छक्का प्रहार गरी ३४ रन जोडे । सो इनिङ्समा आठ ब्याट्सम्यानले दोहोरो रन नै बनाएनन् । 

विराटनगरको सुदृढ ब्याटिङ
पहिलो ब्याटिङ गरेको विराटनगरका लागि कुनै पनि ब्याट्सम्यानले अर्धशतकीय इनिङ्स खेलेनन् । तर, चार ब्याट्सम्यानले विराटनगरलाई चुनौतीपूर्ण योगफलसम्म पुर्‍याए । ओपनर गौरान्सु शर्मा, अर्जुन साउद, टटाल तथा राज ननामले बलभन्दा बढी रन प्रहार गरे । गौरान्सु र अर्जुनबीच पहिलो विकेटका लागि ७.१ ओभरमा ५९ रनको साझेदारी भएको थियो । गौरान्सुले टटालसँग तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरे । यसैगरी, टटालले राजसँग पाँचौँ विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । 

गौरान्सुले ४१ बलमा समान दुई चौका र छक्का प्रहार गरी ४२ रन बनाए । अर्जुनले २६ बलमा समान दुई चौका र छक्काको सहयोगमा ३५ रनको योगदान दिए । टटालले २१ बलमा पाँच चौका प्रहार गरी ३१ रन बटुले । राजले केवल १८ बलमा २८ रन बनाउन तीन चौका र दुई छक्का प्रहार गरेका थिए । विराटनगरका कप्तान रोहितकुमार पौडेल एक रनमै आउट भए । सो ब्याटिङ इनिङ्समा चार ब्याट्सम्यानले दोहोरो रन बनाएनन् । बलिङमा जितेन्द्र मुखियाले चार ओभरमा ३८ रन खर्चंदै दुई विकेट हात पारे । असफ, ललित राजवंशी र सिन्वारीले एक–एक विकेट लिए ।