मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडाैं
२०७९ पौष २८ बिहीबार ०५:५६:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

टी–२० ‘स्पट फिक्सिङ’ प्रकरण : आशंका गरिएका विदेशी खेलाडी स्वदेश फर्के

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७९ पौष २८ बिहीबार ०५:५६:००

सिआइबी भन्छ– अनुसन्धान अन्तिम चरणमा पुगेको छ, खेलाडी आफ्नो देश फर्के पनि केही फरक पर्दैन

टी–२० क्रिकेट सुपर लिगमा ‘स्पट फिक्सिङ’को आशंका गरिएका अधिकांश विदेशी खेलाडी स्वदेश फर्किएका छन् । फिक्सिङ अनुसन्धानमा संलग्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान ढिलाइ गर्दा उनीहरू स्वदेश फर्किएका हुन् । 

प्रहरीले फिक्सिङ गरेको आशंकामा वेस्टइन्डिजका खेलाडीलाई उच्च निगरानीमा राखेको थियो । जसमध्ये विराटनगर सुपर लिडका क्याप्टेन आन्द्रे म्याकार्थी एक थिए । लिगको समापनसँगै उनीहरू आ–आफ्नो देश पुगिसकेका छन् । केही खेलाडी खेल भइरहँदा बीचमै छाडेर आफ्नो देश फर्केका थिए ।

१२ पुसबाट सुरु भएको लिग बुधबार सकिएको छ । सिआइबीका प्रवक्ता एसपी सञ्जयसिंह थापाले केही विदेशी खेलाडी घर फर्केको सूचना प्राप्त भएको बताए । ‘लिग सकिएको छ । विदेशी खेलाडी स्वदेश फर्कनु ठूलो विषय रहेन । यसले प्रहरीको अनुसन्धानलाई फरक पर्दैन । हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ । निश्चय पनि महत्वपूर्ण कोणमा प्रहरी पुगेको छ,’ उनले भने ।

चार विदेशी र तीन नेपाली खेलाडी उच्च निगरानीमा

आन्द्रे म्याकार्थी

फिक्सिङमा प्रहरीले लिगमा सहभागी चार विदेशी र तीन नेपाली खेलाडीलाई उच्च निगरानीमा राखेको थियो । कतिपय खेलाडीलाई नेपाल क्रिकेट संघ (क्यान)ले खेलमै रोक लगाएको थियो । फिक्सिङका कारण लिग नै विवादित बनेपछि आइसिसी (इन्टनरनेसनल क्रिकेट काउन्सिल)को टोलीसमेत नेपाल आएको थियो । फिक्सिङका सम्बन्धमा उसले पनि विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा सघाउने र लिगको समापनसँगै केही महत्वपूर्ण तथ्य उपलब्ध गराउने भने पनि आइसिसीले सिआइबीलाई हालसम्म नयाँ तथ्य भने उपलब्ध गराएको छैन ।

‘फिक्सिङका सम्बन्धमा हामी अनुसन्धानमै छौँ । हामीलाई आइसिसीले सपोर्ट गर्ने प्रतिबद्धता थियो । लिग सकिनासाथ नयाँ तथ्य उपलब्ध गराउने पनि हामीसँग भनेका छन् । तथ्य संकलन हुँदै होला । उहाँहरूसँग टेक्निकल टिम छ । उहाँहरूले पनि अनुसन्धान गरिरहनुभएको होला । नयाँ तथ्य हामीलाई पनि उहाँहरूले दिनुहोला । जसले हाम्रो अनुसन्धानलाई सघाउनेछ,’ थापाले भने ।

लिग जारी रहेकै वेला केही खेलाडीले राजधानीको होटेलमा शंकास्पद भेट गरेको सूचनापछि सिआइबीले उनीहरूमाथि पनि निगरानी बढाएको छ । सिआइबीका अनुसार केही दिनयता लिगमा आबद्ध खेलाडीले क्रिकेटकै पूर्वखेलाडीसँग गोप्य भेटघाट बढाएका छन् । सूचनापछि प्रहरीले पूर्वखेलाडीलाई समेत निगरानीमा राखेको छ । तर, अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । 

नेपाली क्रिकेट टिमका पूर्वकप्तान तथा काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले सार्वजनिक रूपमै ‘म्याच फिक्सिङको अफर आएको’ भनेपछि सिआइबीले एसपीको नेतृत्वमा अनुसन्धान टोली नै गठन गरेको थियो । टोलीले विशेषगरी वेस्टइन्डिजका खेलाडीलाई उच्च निगरानीमा राखेको छ । नेपालको विभिन्न क्लबबाट वेस्टइन्डिजका चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

अनुसन्धानका क्रममा सिआइबीले क्यानसँग पनि सोधपुछ गरेको थियो । ‘म्याच फिक्सिङ’को आशंकापछि क्यानले पनि वेस्टइन्डिजका खेलाडीलाई खेलमा रोक लगाएको थियो । क्यानका अनुसार टी–२० लिगमा ‘म्याच फिक्सिङ’भन्दा पनि ‘स्पट फिक्सिङ’को आशंका गरिएको छ । ब्याटिङ तथा बलिङमा अब्बल खेलाडीलाई क्याप्टेनले खेलमा मौका नदिनुलाई ‘स्पट फिक्सिङ’ भनिन्छ । 

टी–२० लिगको आयोजक क्यान हो । लिग व्यवस्थापन भने भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्ले गरेको थियो । थ्री स्पोर्टस्सँग क्यानले आगामी आठ वर्षका लागि लिगको व्यवस्थापन गर्न सम्झौता गरेको छ । लिग जारी रहेकै वेला स्पोर्टस्का सञ्चालक जतिन अहुवालिया सुरक्षा थ्रेट देखाउँदै एकाएक भारत भागेपछि फिक्सिङको आशंका झन् बढेको हो । 

टी–२० लिगकै क्रममा गत १३ पुसमा प्रहरीले रंगशालाबाट बेटिङ गरेको आशंकामा रुपन्देही तिलोत्तमा नगरपालिका– ३ का २८ वर्षीय प्रकाश पाण्डेसहित तीनजनालाई पक्राउ गरेका थियो । त्यस दिन रंगशालामा काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीच खेल चल्दै थियो । 

बेटिङकै आशंकामा प्रहरीले गत ३ मंसिरमा कीर्तिपुर क्रिकेट रंगशालाबाट ५० जनालाई पक्राउ गरेको थियो । त्यसवेला रंगशालामा नेपाल र युएईको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल भइरहेको थियो । पक्राउमध्ये ६ जनालाई प्रहरीले सोधपुछपछि छाडेको थियो । बाँकी ४४ जनालाई प्रहरीले पक्राउ गरी भारतीय प्रहरीलाई जिम्मा लगाएको थियो । दर्शकदीर्घाबाट पक्राउ गरिएका उनीहरू सबै भारतीय नागरिक थिए । उनीहरूले मोबाइलमार्फत क्रिकेटमा ‘लाइभ’ बेटिङ गर्दै आएका थिए । हारजितको रकम भने उनीहरूले अनलाइनबाटै लेनदेन गर्ने गरेको प्रहरीको भनाइ छ ।