मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मुना कुँवर काठमाडाैं
२०७९ मङ्सिर १७ शनिबार ०८:४५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामाजिक सुरक्षा कोषबाट १८ सय ८४ योगदानकर्ताले लिए ३५ करोड सापटी

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ मङ्सिर १७ शनिबार ०८:४५:००

सामाजिक सुरक्षा कोषबाट एक हजार आठ सय ८४ योगदानकर्ताले ३५ करोड रुपैयाँ सापटी लिएका छन् । पछिल्लो साढे तीन महिनाको अवधिमा कर्जा तथा सापटी योजनाअन्तर्गतका विभिन्न शीर्षकमा सो रकम वितरण गरिएको हो । कोषले गत भदौदेखि यस्तो कर्जा तथा सापटी प्रदान गर्न थालेको हो । 

 योगदानकर्तालाई ७५ लाखसम्म घरकर्जा 
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई एक करोड रुपैयाँसम्मको कर्जा तथा सापटी दिने योजना सञ्चालनमा ल्याएको छ । लगानी कार्यविधि पारित गर्दै योगदानकर्तालाई घर कर्जा, शैक्षिक कर्जा, सामाजिक कार्य कर्जा र विशेष सापटी सुविधा सञ्चालनमा ल्याएको हो । कोषका प्रवक्ता विवेक पन्थीका अनुसार योगदानकर्ताले ७५ लाख रुपैयाँ वा १५ वर्षको तलबबराबर घरकर्जा सुविधा पाउनेछन् । त्यस्तै, ३५ लाख रुपैयाँसम्मको शैक्षिक कर्जा र पाँच लाख रुपैयाँसम्मको सामाजिक कार्य (विवाह, व्रतबन्ध आदि) कर्जा सुविधा पाउनेछन् । सामाजिक सुरक्षा कोषमा आबद्ध भई लगातार तीन वर्षसम्म योगदान रकम जम्मा गर्ने योगदानकर्ताले मात्रै यस्तो कर्जा प्राप्त गर्न सक्ने कोषका प्रवक्ता पन्थीले बताए ।

  कोषले घर सापटीका लागि धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी ७५ लाख रुपैयाँ, योगदानकर्ताको १५ वर्षको तलब, योगदानकर्ता साठी वर्ष उमेर पुग्न बाँकी कार्य अवधिको तलबमध्ये जुन कम हुन्छ, सोहीबराबरको सापटी योगदानकर्तालाई प्रदान गर्छ । पति र पत्नी दुवैजना योगदानकर्ता भएमा एउटै धितोबाट दुईजनाको नाममा सापटी हिसाब गर्दा सापटीको अधिकतम सीमा दुवैजनाको तलबमानका आधारमा अलग–अलग कायम गरी सापटी प्रदान गर्न सकिनेछ । यसरी अलग–अलग सापटी प्रदान गर्दा धितो मूल्यांकनबाट कायम भएको रकमभन्दा बढी प्रदान नगर्ने सापटी निर्देशिकामा उल्लेख गरिएको छ । 

घर निर्माण गर्ने प्रयोजनका लागि घर सापटी दिँदा कम्तीमा दुई किस्ता र अधिकतम चार किस्ता कायम गरिएको छ । पहिलो किस्ता भुक्तानी गर्दा स्वीकृत सापटीको बढीमा २५ प्रतिशत र बाँकी किस्ता भुक्तानी गर्दा मूल्यांकनकर्ताले सिफारिस गरेको प्रगति विवरणका आधारमा कायम गरिनेछ । तर, घर खरिद गर्दा स्वीकृत रकम एकमुष्ट प्रदान गरिनेछ ।
तर, शैक्षिक सापटी लिई सो सापटीको ब्याज नियमित रूपमा चुक्ता नगरेका योगदानकर्तालाई कोषले घर सापटी प्रदान गर्दैन । योगदानकर्ताले अनिवार्य अवकाश हुने अवधि ननाघ्ने गरी सहुलियत अवधिसहित घर सापटीको पहिलो किस्ता लिएको बढीमा २० वर्षभित्र सापटी चुक्ता गर्नुपर्नेछ । तर, योगदानकर्ताले जुनसुकै कारणले कोषमा नियमित योगदान गर्न छाडेमा त्यसरी योगदान गर्न छाडेको ६ वर्षभित्र त्यस्तो सापटी चुक्ता गरिसक्नुपर्नेछ । 

त्यस्तै, कोषले ३५ लाख रुपैयाँसम्म शैक्षिक सापटी प्रदान गर्दै आएको छ । योगदानकर्ता वा निजको पति, पत्नी, छोरा वा छोरीलाई स्वदेश वा विदेशका शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन प्रयोजनका लागि कोषले यस्तो खालको शैक्षिक सापटी प्रदान गर्ने जनाएको छ । 

शैक्षिक सापटी स्वीकृत गर्दा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी ३५ लाख रुपैयाँ वा सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्च, (सम्बन्धित शिक्षण संस्थामा लाग्ने वास्तविक खर्च गणना गर्दा भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, सम्बन्धित शिक्षण संस्थाको होस्टेल खर्च वा आवास खर्च, सम्बन्धित शिक्षण संस्थाले तोकेको अन्य शुल्क, शैक्षिक सामग्री खर्च र ट्राभल तथा बिमा खर्च जोडिने)बराबरको सापटी प्रदान गर्छ । 

शैक्षिक सापटी प्रदान गर्दा योगदानकर्ता वा निजकोे पति वा पत्नी, छोरा, छोरीमध्ये बढीमा दुईजनासम्मलाई धितो मूल्यांकनले खाम्ने यस्तो खालको कर्जा दिइने कोषले जनाएको छ । योगदानकर्ताले सापटी स्वीकृत भएको दुई वर्षभित्रमा स्वीकृत भएको सम्पूर्ण रकम उपयोग नगरेमा सो अवधिसम्म लिएको सापटीलाई निजको हकमा शैक्षिक सापटीको अधिकतम सीमा कायम गरिने कोषका प्रवक्ता पन्थीले बताए । 

शैक्षिक सापटी प्रदान गर्न योगदानकर्ताको मागबमोजिम एकमुष्ट वा बढीमा चार किस्तामा भुक्तानी गर्न सकिनेछ । योगदानर्ताले लिएको शैक्षिक सापटी चुक्ता गरेमा पुनः शैक्षिक सापटी प्रदान गर्न सकिनेछ । शैक्षिक सापटीको पहिलो किस्ता लिएको अवधिको बढीमा १५ वर्षभित्र सापटी चुक्ता गर्नुपर्नेछ । 

सामाजिक सुरक्षा कोषमा आबद्ध भएका योगदानकर्ताले आफू वा एकाघर सगोलको परिवारको सदस्यको सामाजिक कार्यका लागि कोषबाट सापटी लिन सक्नेछन् । योगदानकर्ताको अवकाश कोष योजनामा जम्मा भएको रकमको अधिकतम ८० प्रतिशत रकमसम्म प्रदान गर्न सकिने कोषले जनाएको छ । त्यस्तै, कोषले योगदानकर्ताका लागि विशेष सापटी योजनामा पनि सञ्चालनमा ल्याएको छ । योगदानकर्ताले चाहेमा एक वर्ष पूरा भएपछि पुनः विशेष सापटी लिन सक्नेछन् । 

अवकाश योजनाबाट पनि सापटी लिन सकिने
कोषले योगदानकर्ताले अवकाश योजनामा जम्मा भएको रकमबाट सापटीसमेत लिन पाउने सुविधा सञ्चालन गरेको छ । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि संशोधन गरी निवृत्तिभरण योजना र अवकाश योजना सँगसँगै सञ्चालन गर्ने भएको हो । जसअनुसार योगदानकर्ताले अवकाश योजनामा जम्मा भएको रकम सापटीको सुविधा पनि पाउनेछन् ।

त्यस्तै, योगदानकर्ताको जागिर छुटेको अवस्थामा यस्तो योजनामा संकलन भएको रकम निकाल्न पाउन सक्ने व्यवस्था गर्न लागिएको कोषका प्रवक्ता विवेक पन्थीले बताए । पन्थीका अनुसार निश्चित समयपछि निवृत्तिभरण योजनामा संकलन भएका रकम पनि योगदानकर्ताले सापटीको प्रयोग गर्न पाउँनेछन् । कोषले वृद्धावस्था योजनामा जम्मा हुने रकमध्ये ८ प्रतिशत रकम अवकाश योजना र २० प्रतिशत रकम निवृत्तिभरण योजनामा जम्मा गर्ने योजना बनाएको कोषका प्रवक्ता पन्थीले बताए । 

हालको व्यवस्थाअनुसार सामाजिक सुरक्षा कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत दुईवटा उपयोजना सञ्चालन गरेको छ । निवृत्तिभरण योजना र अवकाश योजना । यीमध्ये योगदानकर्ताले कुनै एउटा योजना छनोट गर्नुपर्नेछ । योगदानकर्ता ६० वर्ष पुगेपछि वा योगदान रकम जम्मा गरेको १५ वर्षपछि मात्रै उक्त योजनामा संकलन भएको रकम प्राप्त गर्न सक्नेछन् । योगदानकर्ताले कोषमा जम्मा गरेको ३१ प्रतिशत रकममध्ये २८.३३ प्रतिशत रकम वृद्धावस्था सुरक्षा योजनामा जम्मा हुँदै आएको छ ।