मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७९ मङ्सिर १३ मंगलबार ०६:१०:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सरकार गठनमा एमालेको पनि गृहकार्य

माओवादीलाई सत्तागठबन्धनबाट निकाल्न सके बहुमत जुटाउन सहज

Read Time : > 3 मिनेट
२०७९ मङ्सिर १३ मंगलबार ०६:१०:००

मुलुकलाई नेतृत्व प्रदान गर्ने गरी पहल लिन्छौँ र भूमिका खेल्छौँ : विष्णु पौडेल, एमाले उपाध्यक्ष

बहुमत आएको–नआएको वा अनुकूल–प्रतिकूल स्थिति जे भए पनि एमालेले नेतृत्व नगर्दासम्म देश अगाडि बढ्न सक्दैन, राष्ट्रिय राजनीति पनि अगाडि बढ्न सक्दैन । देशले अस्थिरताको चक्रव्यूहबाट मुक्ति पाउन सक्दैन भन्ने विगतको अनुभवले पनि पुष्टि गरेको छ । यो अवस्थामा हामीले सकेसम्म मुलुकलाई नेतृत्व प्रदान गर्ने गरी पहल लिन्छौँ र तदनुकूल भूमिका खेल्छौँ । जनता र राष्ट्रको पक्षमा एमाले एक्टिभ, प्रोएक्टिभ फोर्सका रूपमा अगाडि बढ्छ । मुलुकलाई स्थिरता र विकासतर्फ लैजान गर्न सकिने अधिकतम प्रयास एमालेले गर्छ । त्यो अधिकतम प्रयास सरकार निर्माणका सन्दर्भमा पनि गर्छ । 

   ...                                        ...

आमनिर्वाचनको नतिजा अन्तिमतिर पुग्दै गर्दा सत्तागठबन्धनभित्र बहुमत सिट पुग्ने निश्चित नदेखिएपछि दोस्रो दल एमालेले पनि सरकारको नेतृत्वका लागि गृहकार्य थालेको छ । सत्तागठबन्धनका शीर्ष नेताले सरकार गठनका लागि शक्ति बाँडफाँडकेन्द्रित दौडधुप र अनौपचारिक छलफल सुरु भइरहेकै वेला एमालेले पनि समानान्तर पहल थालेको हो । अहिलेसम्मको मतगणनामा समानुपातिकतर्फ एमाले पहिलो दल बन्ने सम्भावना छ । 

कुनै दल र सत्तागठबन्धनलाई पनि स्पष्ट बहुमत पुर्‍याउन कठिन देखिएको निष्कर्षसहित एमालेले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन सकिने सम्भावित विकल्पमाथि गृहकार्य थालेको हो । कांग्रेसकै हाराहारीमा सिट आएकाले स्थिरता, समृद्धि र परिवर्तनकारी एजेन्डा सुनिश्चित गर्न सरकार निर्माणमा भूमिका खेल्न सकिने एमालेको भनाइ छ ।

एमालेले बहुमत ल्याउने लक्ष्यसहित पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेर निर्वाचनमा होमिएको थियो । तर, नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा मत डाइभर्ट हुँदा बहुमतको लक्ष्यमा क्षति पुगेको एमालेको प्रारम्भिक निष्कर्ष छ । तैपनि सरकार गठनका लागि पहल गर्ने एमाले नेताहरूको भनाइ छ । 

‘राजनीतिक स्थायित्वका लागि एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउने मुद्दासहित चुनावमा गए पनि बहुमत सम्भव भएन । हामीले नपाए पनि अरू कुनै दलले बहुमत प्राप्त गर्नुपर्थ्यो, तर कसैको बहुमत नआउने परिणाम आउनु मुलुककै लागि दुर्भाग्यपूर्ण छ । हामी जनादेश सम्मान गर्दै अगाडि बढ्छौँ,’ एमाले उपाध्यक्ष विष्णु पौडेलले सोमबार भने, ‘एउटा सत्य के हो भने बहुमत आएको–नआएको अनुकूल या प्रतिकूल स्थितिमा पनि एमालेले नेतृत्व नगर्दासम्म देश अगाडि बढ्न सक्दैन, राष्ट्रिय राजनीति पनि अगाडि बढ्न सक्दैन । देशले अस्थिरताको चक्रव्यूहबाट मुक्ति पाउन सक्दैन भन्ने विगतको अनुभवले पनि पुष्टि गरेको छ । यो अवस्थामा हामीले सकेसम्म मुलुकलाई नेतृत्व प्रदान गर्ने गरी पहल लिन्छौँ र तदनुकूल भूमिका खेल्छौँ ।’

एमालेले आफ्नै नेतृत्वमा सरकार गठनका लागि सक्रिय पहल लिनेसमेत पौडेलको भनाइ छ । ‘एमाले निष्क्रिय राजनीतिक शक्ति होइन, सक्रिय राजनीतिक शक्ति हो । त्यसैले जनता र राष्ट्रको पक्षमा एमाले एक्टिभ, प्रोएक्टिभ फोर्सका रूपमा अगाडि बढ्छ । अहिलेको परिणाम स्वीकार गर्दै मुलुकलाई स्थिरता र विकासतर्फ लैजान सकिने अधिकतम प्रयास एमालेले गर्छ । त्यो अधिकतम प्रयास सरकार निर्माणका सन्दर्भमा पनि गर्छ । एमाले पेसिभ भएर रहँदैन । सशक्त, प्रभावकारी र निर्णायक पहलकदमी एमालेले लिन्छ,’ पौडेलले भने । 

विकास र समृद्धिको अभियानमा अहिलेको संसदीय संरचनाले प्रतिकूल प्रभाव पार्ने भएकाले परिवर्तनकारी एजेन्डा कार्यान्वयनका लागि तदनुकूलका शक्तिसँग छलफल र संवाद गर्ने पनि उनले संकेत गरे । ‘विकास र समृद्धिको अभियानमा यो संसदीय संरचनाले प्रतिकूल प्रभाव पार्ने निश्चित छ । मुलुक फेरि अस्थिरताको चक्रव्यूहमा फस्न सक्ने जोखिम छ,’ पौडेलले भने, ‘त्यसैले अग्रगामी परिवर्तनकारी एजेन्डा कार्यान्वयनका लागि मुलुकलाई स्थिरतातर्फ लैजान, विकास र समृद्धि सुनिश्चित गर्न अधिकतम प्रयास गर्छ ।’

चुनावी परिणामको प्रारम्भिक आकलनपछि गत ८ मंसिरमा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोनमार्फत बधाई दिएर संवाद, सहमति र सहकार्यका लागि तयार रहेको सन्देश दिएका थिए । गृहजिल्ला झापाबाट आइतबार काठमाडौं फर्किएलगत्तै आफूलाई भेट्न बालकोट निवासमा आएका कांग्रेस नेता प्रकाशमान सिंहलाई पनि ओलीले स्थिरता र समृद्धिका लागि एमाले मिलेरै अगाडि बढ्न चाहेको बताएका थिए । 

करिब तीन वर्षदेखि तिक्त सम्बन्धमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई टेलिफोनमार्फत ओलीले चुनावी समीक्षासहित संवाद र सहकार्यको प्रस्ताव राखेको दाहालको सचिवालयले दाबी गर्दै आएको छ । ‘तिक्तता बढ्दै जाँदा निकै वरपर भइएजस्तो छ, अब बसेर कुरा गरौँ,’ ओलीको प्रस्ताव उद्धृत गर्दै प्रचण्डनिकट स्रोतको भनाइ थियो, ‘हामीलाई टाढा पार्ने शक्ति अहिले पनि सक्रिय नै छन् ।’ जवाफमा प्रचण्डले चुनावी परिणाम आइसकेपछि समीक्षासहित छलफलका लागि तयार रहेको बताएका थिए । 

सोमबारसम्म प्रत्यक्षतर्फ एक सय ५९ सिटको नतिजा आउँदा एमालेले ४२ सिट जितेको छ । सुनसरी ३ मा फराकिलो मतान्तरले एमाले अगाडि छ । सुनसरी ४ र धनुषा ४ एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा छ । ५३ सिट जितेको कांग्रेससँग एमाले प्रत्यक्षको नतिजामा ११ सिटले पछि छ । तर, समानुपातिक निर्वाचनको नतिजामा भने एमाले कम्तीमा ३५ सिट जितेर पहिलो दल बन्नेतिर अग्रसर छ ।

सत्तागठबन्धन नफुटाई एमालेलाई सरकार बनाउन गाह्रो

सत्तागठबन्धन नफुटाईकन राष्ट्रिय स्वतन्त्र पार्टीसहित अन्य साना दल र सबै स्वतन्त्र सांसद जोड्दा पनि एमालेले बहुमत जुटाउन सक्ने देखिँदैन । एमाले, राप्रपा र जसपाको प्रत्यक्ष र समानुपातिकतर्फ गरी १०५ सांसद पुग्ने देखिन्छ । बहुमतका लागि अझै ३३ सांसद अपुग हुन्छन् । स्वतन्त्र पार्टीले २२ (प्रत्यक्षमा सात र समानुपातिकमा १५) सिट ल्याउने देखिन्छ । नागरिक उन्मुक्ति पार्टीका तीन, नेमकिपा र जनमतका एक–एक र पाँच स्वतन्त्र सांसद छन् । यी सबैले साथ दिँदा पनि एक सांसद अझै अपुग हुन्छ ।