काठमाडाैं- बिचौलिया इनम सापकोटाबिचको विचाराधीन मुद्दाको विषयमा भएको च्याट तथा बारम्बारको भेटभाट सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाल स्वयंले स्वीकार गरिसकेका छन् ।
बिचौलियालाई भेट्न आफूलगायत न्यायाधीशहरू होटेल हिमालयमा गएको समेतका थप विवरण उनले बिहीबार पत्रकार भेटघाटमा सार्वजनिक गरेका थिए ।
बिचौलियालाई भेट्न बारम्बार न्यायाधीशको हुल नै होटेलमा जाने गरेको र उनीहरूबिच मुद्दाको विषयमा समेत कुरा हुने गरेको सार्वजनिक भइसकेपछि यो प्रथम दृष्टिमै न्यायाधीशको आचरणविपरीतको गतिविधि भएको भन्दै छानबिनको माग भइरहेको छ ।
सापकोटाले आफूलाई प्रधानमन्त्रीको मान्छे भनेर चिनाएको र महाभियोगको त्रास रहेकाले त्यसरी बारम्बार भेटेको न्यायाधीश फुयालको प्रस्टीकरण छ ।
तर, न्यायाधीशले दबाब र प्रभावरहित भएर काम गर्नुपर्नेमा महाभियोगको त्रास भन्दै यसरी बिचौलियालाई भेट्न हिंडेको घटनाले सिंगो न्यायलय नै बदनाम भएको छ । यस घटनाको निष्पक्ष अनुसन्धान गर्न नेपाल बार एशोसियसले पनि माग गरेको छ ।
नेपाल रिइन्स्योरेन्सका पूर्वसञ्चालक रोहित गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा छाडेको दिन न्यायाधीश फुयाल र सापकोटाबिच भएको ह्वाट्सएप सम्वाद नयाँ पत्रिकाले सार्वजनिक गरेको थियो । मुद्दा पेशीमा चढेपछि सापकोटाले गुप्ताको मुद्दा नै खारेज गरिदिन आग्रह गर्छन् ।
त्यस मुद्दामा आफ्नो स्वार्थ नमिलेपछि गुप्तालाई थुनामै राख्न उनले दबाब दिने प्रयास गरेका छन् । तर, न्यायाधीश फुयालले साँझ मात्र ह्याट्सएसपको म्यासेज हेर्छन् र उनलाई धरौटीमा छाड्नुपरेको भनेर प्रष्टीकरण दिदै भोलिपल्ट होटलमा भेट्नका लागि आफैंले प्रस्ताव गरेका छन् ।
त्यसअघि पनि उनीहरूबिच विभिन्न मुद्दाको विषयमा कुराकानी हुँदै आएको थियो । केही मुद्दाको विषयमा उनले आफुलाई दबाब दिएको र पछि आफुहरूले उजुरी दिएको फुयालको प्रष्टीकरण छ । तर, ह्वाट्सएपका च्याटले भने थप अनुसन्धानको आवश्यकता रहेको स्रोत बताउँछ ।
सापकोटालाई हाल जिल्ला प्रहरी परिसर, काठमाडौंले हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । उनको च्याटमा प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम उल्लेख भएको एक विवरण पनि फेला परेको छ । उनको नाम र इनामका आफन्तका बैंक खाता सँगै उल्लेख भएको च्याट भएकाले आर्थिक कारोबारको आशंकामा त्यसमा पनि छानबिनको माग उठेको छ ।
बिचौलिया दीपक भट्ट र उनका साझेदारको मुद्दामा सहजीकरण गरेको सूचनाका आधारमा प्रधानमन्त्री सचिवालयको निर्देशनमा सापकोटालाई प्रहरीले गत १४ असोजमा पक्राउ गरेको थियो । उनीउपर सम्पत्ति शुद्धीकरण र नेपाल राष्ट्र बैंक ऐनअनुसार अनुसन्धान भइरहेको छ । जसमा दीपक भट्टका दाइ सुशील भट्ट पनि पक्राउ परेका छन् । अन्य व्यक्तिहरूसँगको सम्बन्ध र कारोबारबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।