काठमाडौं/ झुटा उजुरी दिएर हैरान बनाउने रुकुम पश्चिम आठबिसकोट नगरपालिका– ५ का दीपक पुनमगरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जरिवाना तिराएको छ । अख्तियारका अनुसार उनले अर्कै व्यक्तिको नामबाट असम्बन्धित व्यक्तिका नाममा झुटा उजुरी दिने गरेका थिए । कुनै काल्पनिक कथा बुनेर उजुरी गरी उनले अख्तियारलाई दुःख दिने गरेको अनुसन्धानमा खुलेको हो ।
नेपाल प्रहरीका डिआइजीले ४० लाख घुस मागेको भन्दै हुँदै नभएको घटनाको उजुरी अर्कै व्यक्ति एबी राई (आङबाबु राई)को नामबाट हालेर पुनले हैरानी दिएको अनुसन्धानमा खुलेको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनको व्यवस्थाबमोजिम उनलाई दुई हजार जरिवाना तिराएको जनाएको छ ।
एबी राई नामबाट परेको उजुरीमा आफू अध्यक्ष रहेको सहकारीबाट डिआइजीले ऋण लिएको उल्लेख मात्रै थिएन, उक्त ऋणको भुक्तानी माग्दा डिआइजीले उल्टै राईविरुद्ध परेको उजुरी मिलाइदिन ४० लाख घुस मागेको उल्लेख थियो । त्यसमध्ये १५ लाख नगद र कान्छी श्रीमतीको नाममा थप चेक लिई धम्की दिएर रकम माग गरिरहेको उजुरीमा थियो । उक्त उजुरीमाथि अनुसन्धान गर्दा मगरले अर्काको नाममा बदमासी गरेको खुलेको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले बताए ।
‘उजुरीमा संलग्न गरिएको ठेगानामा सम्पर्क गरेर अख्तियारले अनुसन्धान थालेको थियो । तर, उजुरीमा नाम र सम्पर्क गरेको व्यक्तिले आफूले उजुरी नहालेको र उजुरीका विषयवस्तुबारे पनि जानकारी नभएको बताए,’ उनले भने, ‘त्यसपछि थप सोधीखोजी गर्दा उजुरी हाल्ने वास्तविक व्यक्ति (दीपक पुनमगर)को पहिचान गरेर बयान गराउँदा उसले झुटा उजुरी हालेको स्वीकार गरेपछि आयोगले कानुनबमोजिम जरिवाना तिराएको छ ।’
अख्तियारले जारी गरेको विज्ञप्तिमा उजुरी एबी राईको नामबाट दर्ता भए पनि निजले आफूले नदिएको तथा उजुरीमा भएको हस्ताक्षरसमेत आफ्नो नभएको भनी सनाखत गरेका थिए । अनुसन्धानका क्रममा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ५ बस्ने दीपक पुनमगरसँग अख्तियारले १७ असारमा बयान लिएको थियो । आयोगसमक्ष गरेको बयानमा उक्त उजुरी आफूले नै एबी राईको नामबाट दिएको स्वीकार गरेका थिए ।
‘निज दीपक पुनमगरले उजुरीकर्ता नै नभएको व्यक्तिको नामबाट निजको जानकारी तथा स्वीकृतिविना उजुरी दर्ता गराएको, उजुरीमा नेपाल प्रहरीमातहतको डिआइजी पदमा रही उक्त पदको दुरुपयोग गरी मुद्दा मिलाइदिने भन्दै ४० लाख रकम माग गरेको तथा धम्की दिएको’ अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
अनुसन्धानका क्रममा पुनमगर र राई दुवैले त्यस्तो कुनै घटना नभएको, आफूलाई कुनै व्यक्तिबाट धम्की नदिइएको तथा मुद्दा मिलाइदिने भनी रकमसमेत नमागिएको भनी बयान गरेका थिए । एबी राईको नाम तथा दस्तखत प्रयोग गरी निजसमेतलाई दुःख, हैरानी दिने बदनियतले पुनमगरले आयोगमा झुटा उजुरी दिएको तथ्य पुष्टि भएको ठहर अख्तियारले गरेको छ ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४९ लगायतको प्रचलित कानुनबमोजिम दुई हजार रुपैयाँ जरिवाना गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । उक्त दफामा ‘कसैले उजुरी दिने मनासिब कारण नभई कसैलाई कुनै किसिमको हानि–नोक्सानी पुर्याउन वा दुःख दिने नियतले कुनै राष्ट्रसेवक वा व्यक्तिउपर झुटा उजुरी दिएको ठहरेमा निजलाई अनुसन्धान अधिकृतले पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन्’ को व्यवस्था छ । यही व्यवस्थाबमोजिम पुनमगरलाई दुई हजार जरिवाना गरिएको अख्तियारले बताएको छ ।
अख्तियारका प्रवक्ता न्यौपानेका अनुसार काल्पनिक उजुरी हालेकामा जरिवाना गरिएका यस्ता घटना कम छन् । ‘म आयोगमा कार्यरत रहेको तीन वर्षको अवधिमा यस्तो जरिवाना गरिएको घटना मेरो जानकारीमा छैन,’ उनले भने ।