- सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमातहत सुरु शिक्षण अस्पताल चिकित्सा शिक्षा र स्वास्थ्य सेवा प्रवाहमा समक्ष रहेको सरकारको निष्कर्ष, तर पूर्वाधार कमजोर भएको तथा प्राज्ञिक जनशक्ति सुनिश्चित नगरिएको भन्दै डा. केसी आन्दोलनमा, विश्वविद्यालय र चिकित्सा शिक्षा सञ्चालन रोकिने चिन्ता
काठमाडाैं- देशमा मेडिकल शिक्षा सुरु भएको पाँच दशकपछि सुदूरपश्चिममा बल्लतल्ल सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमातहत शिक्षण अस्पताल सञ्चालनमा आएको छ । संघीय राजधानीबाट दूरीमा मात्रै होइन, हरेक पाटोमा ‘दूर’ बनेको सुदूरपश्चिममै स्वास्थ्य जनशक्ति उत्पादन र सेवा प्रवाहको ढोका खुल्दै गर्दा फेरि विश्वविद्यालयको संरचना, शैक्षिक कार्यक्रम र स्वास्थ्य जनशक्तिमाथि प्रश्न उठाउँदै ‘चलखेल’ सुरु भएको छ ।
विगतमा गेटा मेडिकल कलेज खोलिनुपर्छ भनेर सोही स्थानमा दुईपटकसम्म आमरण अनशन बसेका डा. गोविन्द केसी नै अहिले गेटाको विरोधमा उभिएका छन् । उनले विश्वविद्यालयको पूर्वाधार कमजोर भएको, प्राज्ञिक जनशक्ति सुनिश्चित नगरिएको र हचुवामा एबिबिएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको आरोप लगाएका छन् । तर, केसीले भौगोलिक रूपमा पछि परेको सुदूरपश्चिम क्षेत्रलाई समेट्ने गरी खोलिएको विश्वविद्यालयलाई नबुझेको भन्दै विश्वविद्यालयका पदाधिकारीले गुनासो गरेका छन् । उनीहरूले विश्वविद्यालयको अवस्थाबारे एकपटक वस्तुनिष्ठ बुझ्नसमेत डा. केसीलाई अनुरोध गरेका छन् । डा. केसीले यसअघि अन्य क्षेत्रमा स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्दा विरोध नगरेको, तर सुदूरपश्चिममा खोल्दा भने विरोध गरेको भन्दै कतिपयले यसलाई स्वार्थको रूपमा पनि हेरेका छन् ।
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीम चन्दले सुदूरपश्चिम क्षेत्रमा ठुलो प्रयासपछि खोलिएको विश्वविद्यालयमा कुनै पनि कमी नरहेको र पूर्वाधारको हिसाबले योग्य रहेको बताए । ‘मेडिकल शिक्षा र स्वास्थ्य सेवाको हिसाबले सुदूर निकै पछि परेको छ, तर यसलाई बुझिँदैन, अर्कातर्फ गेटाको संरचना विशाल छ, ९३० बेडको अस्पताल आफ्नै विश्वविद्यालयको छ, तर उहाँहरूले यहाँको संरचना सानो भयो भन्नुभएको छ,’ चन्दले भने, ‘यहाँको वस्तुस्थिति र वास्तविकतालाई नहेरी प्रश्न उठाउनु राम्रो होइन, गेटालाई विश्वविद्यालय बनाउँदा यो क्षेत्र मेडिकल शिक्षाको हब बन्दै छ, सयौँ शङ्ढयामा अस्पताल सञ्चालन हुँदै छ ।’ उनका अनुसार हाल गेटामा ३२५ बेड सञ्चालनमा छन् भने अन्य ६२२ बेड सञ्चालनका लागि तयारी अवस्थामा राखिएको छ ।
५१.६ हेक्टरमा फैलिएको गेटास्थित विश्वविद्यालयमा हाल ठुला–साना गरी ४० भवन छन् । यो स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डभन्दा पनि धेरै हो । यो मेडिकल कलेजले सेती, महाकाली, टीकापुर र लम्कीचुहा अस्पतालसँग पनि शिक्षण अस्पतालको रूपमा काम गर्न २० वर्षको सम्झौता गरिसकेको छ ।
यसअघि कोभिडका वेला नेपाल–भारत सीमामा खोलिएका अस्थायी अस्पतालमा राखिएका बेड पनि गेटामा ल्याएर राखिएका छन् । हाल मेडिकल कलेज र स्वास्थ्य सेवा प्रवाहका लागि तीन सयभन्दा धेरै जनशक्ति छ । तर, डा. केसीले चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति तथा निर्णय प्रक्रियामा स्वार्थको द्वन्द्व रहेको आरोप लगाउँदै आएका छन् । गेटा शिक्षण अस्पताललाई पूर्णक्षमताको बनाउनुपर्ने, अस्पतालको संरचना व्यवस्थित हुनुपर्ने, छात्रवृत्ति प्रदान गर्नुपर्ने, निजीलाई नियन्त्रण गरेर सरकारी मेडिकल कलेज खोल्नुपर्ने रजिस्ट्रार चन्दको माग छ ।
२४ चैत ०७८ मा बसेको मन्त्रिपरिषद् बैठकले गेटामा तीन सय बेडको अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यतिवेलादेखि नै कानुनी प्रक्रियाअनुसार गेटाले अस्पताल सेवा सुरु गरेको थियो । उक्त अस्पताललाई विश्वविद्यालयमातहत राख्ने गरी २४ असार ०८३ मा साबिकको गेटा अस्पताल विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने गरी मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । सोहीअनुसार गत ४ साउनमा पदाधिकारी नियुक्ति गरिएको थियो ।
डा. केसीले विश्वविद्यालय खारेज गरेर प्रतिष्ठान बनाउनुपर्ने माग गरेका छन् । जबकि गेटालाई अब छिट्टै ९३० बेडको अस्पताल बनाइँदै छ । यो अवस्थामा गेटामा मेडिकल शिक्षाको अभ्यास र उपचार सेवा पनि प्रभावकारी हुने शिक्षा तथा खेलकुद मन्त्रालयको दाबी छ । अझ विश्वविद्यालयलाई भेरी अस्पतालसँग समेत जोडेर सञ्चालन गर्न लागिएकाले यस क्षेत्रमा मेडिकल जनशक्ति उत्पादन र स्वास्थ्य सेवा प्रवाहमा सहज हुने देखिन्छ । विश्वविद्यालयमा हालै मात्र चिकित्सा शिक्षा आयोगले कोटासमेत निर्धारण गरेको छ । यस वर्षका लागि एमबिबिएसमा ५० र नर्सिङमा २० जनासहितको शैक्षिक कार्यक्रम सञ्चालन गर्दै छ ।
डा. गोविन्द केसीले हालको अनशनमा मुख्यतः गेटामा मेडिकल शैक्षिक गुणस्तरीयतामा जोड दिएको स्वास्थ्यमन्त्री निशा मेहताका स्वास्थ्य सल्लाहकार डा. मनोहरलाल प्रधानले बताउँछन् । ‘उहाँले नियुक्ति खारेज वा मेडिकल कार्यक्रम बन्दभन्दा पनि गुणस्तरीयतामा प्रश्न उठाउनुभएको हो, तर त्यहाँको संरचना व्यवस्थित र पुग्दो छ,’ उनले भने, ‘संरचना र अन्य हिसाबमा कुनै कमी देखिँदैन । चिकित्सा शिक्षा आयोगले भवन संरचना र अन्य पूर्वाधार निरीक्षणपछि मूल्यांकन गरेर नै सिट निर्धारण गरेको हो ।’
शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले चिकित्सा शिक्षा आयोगले सबै प्रक्रियाअनुसार नै सिट निर्धारण गरेको बताए । ‘उहाँ (केसी)ले अनशन बसेर भनेजस्तो आयोगले त्यसै सिट तोकेको होइन, पठनपाठनको मापदण्डअनुसार नै तोकिएको हो, गुणस्तर कायम नगरी पठनपाठन सुरु गर्ने कुरा भएन, सबै पुग्दो छ,’ उनले भने, ‘मेडिकल शिक्षाको कार्यक्रम चलाउँदा केही समस्या देखिएमा हामीले त्यसलाई व्यवस्थित पार्न सक्छौँ, केसीसँग हामीले संवाद गरिरहेका छौँ ।’
अन्य विश्वविद्यालयभन्दा यसकारण फरक छ गेटा
गेटाले भूगोलको रूपमा सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रलाई समेट्छ । दूरदराजदेखि काठमाडौंमै उपचारका लागि आउनुपर्ने बाध्यता घटाउँछ भने अस्पताललाई चाहिने आवश्यक जनशक्ति पनि त्यहीँ उत्पादन हुने भएकाले गेटा अस्पतालको सेवा प्रवाह पनि उकासिने रजिस्ट्रार चन्दको भनाइ छ । त्यस्तै, गेटाको आफ्नै शङ्ढया र भव्य भवन छ । जबकि हाल सञ्चालनमा रहेका अन्य प्रतिष्ठान पोखरा, राप्ती, मदन भण्डारी, मधेश र पूर्वाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै बेड छैन । तर, गेटाको आफ्नै बेड र बलियो संरचना बनेको छ । जनशक्तिका लागि ओएनएम पनि स्वीकृत गरिसकिएको छ । आयोगको नियमअनुसार ७७ जना शिक्षक फ्याकल्टी नियुक्ति भइसकेका छन् ।
यी हुन् अस्पतालले सञ्चालन गरेका सेवा र विभाग
हाल अस्पतालसँग १७ विभाग छन् । जसमा एनेस्थेसियोलोजी, स्त्री रोग विशेषज्ञ, मनोचिकित्सा, अप्थोमोलोजिस्ट, सामान्य चिकित्सक, सामान्य चिकित्सा, हृदय रोग, बालरोग, सामान्य शल्यक्रिया, दन्त, मूत्ररोग, रेडियोलोजी, प्रसूति तथा स्त्री रोग, नाक, कान घाटी, हाडजोर्नी र छालारोग सेवा छन् । उक्त विभागहरूका १ देखि ३ जनासम्म विशेषज्ञ चिकित्सक छन् ।
फागुनदेखि हुँदै छ पढाइ
सरकारले अनुमति र सिट निर्धारण गरेसँगै गेटामा आगामी फागुनदेखि एमबिबिएस, नर्सिङसहितको मेडिकल शिक्षा पढाइ हुँदै छ । शैक्षिक कार्यक्रम तथा विभिन्न फ्याकल्टीहरू सञ्चालनका लागि फागुनदेखि कार्यान्वयन हुने गरी प्रा.डा. नियुक्ति गरिएको छ । त्यस्तै, शैक्षिक कार्यक्रम सञ्चालनका लागि चाहिने सबै पूर्वाधार र सामग्री पनि तयार भइसकेको विश्वविद्यालयले जनाएको छ ।
भीमकाय छ विश्वविद्यालयको क्षेत्रफल
हाल विश्वविद्यालय सय रोपनी क्षेत्रफलमा फैलिएको छ । ९० रोपनीमा अस्पताल र विश्वविद्यालयको संरचना बनेका छन् । अस्पताल तथा विश्वविद्यालय क्षेत्रमा पर्याप्त रूपमा खुला ठाउँ छ । उक्त जग्गा विश्वविद्यालय र अस्पतालका लागि पर्याप्त हुने विश्वविद्यालयका पदाधिकारीहरूको भनाइ छ । तर, हाल केसीले पूर्वाधार कमजोर भएको, जनशक्ति नपुग्नेजस्ता आरोप लगाइरहेका छन् । ‘सुदूरपश्चिममा मेडिकल शिक्षालाई उकास्न खोलिएको विश्वविद्यालयलाई स्वार्थको द्वन्द्वसँग हेरिनु गलत हो, सरकारले नै चाहेर यहाँ विश्वविद्यालय खोलेको हो,’ चन्दले भने, ‘तर, विरोध गरेर खुलिसकेको विश्वविद्यालयलाई बन्द गर्छु भन्नु दुःखद हो, बरु यसलाई व्यवस्थित बनाउनुपर्छ, अझ भव्य बनाउनुपर्छ भने सोच हुनुपर्थ्यो ।’
गेटामा उपचार गराउनकै लागि दैनिक आउँछन् ६ सय बिरामी
०८२ चैतसम्म गेटा अस्पतालमा दैनिक ५०–६० जनामात्रै बिरामी आउँथे । हाल दैनिक पाँच सयदेखि ६ सयसम्म बिरामी ओपिडीमा मात्रै आउँछन् । आगामी एक वर्षभित्र ओपिडीमा दैनिक दुई हजारजना आउने बनाउने लक्ष्य राखिएको छ ।
सुदूरपश्चिम क्षेत्रका बिरामीलाई काठमाडौंका संघीय अस्पतालमा उपचारका लागि जान नपर्ने गरी अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्ने र सेवा प्रवाह चुस्त पारिने विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनीलकुमार जोशीले बताए ।
‘गएको वर्ष निकै कम अर्थात् दैनिक ५०–६० जना मात्रै बिरामी आउँथे । तर, अहिले ह्वात्तै बढेको छ । सेवा प्रवाह पनि सहज छ, जनशक्ति पनि पुग्दो छ, अझ जनशक्ति थप्दै छौँ,’ उनले भने, ‘गाउँ–गाउँबाट बिरामी आउन थालेका छन् ।’ जोशीका अनुसार शैक्षिक कार्यक्रम सञ्चालनका लागि फ्याकल्टी हाउस, मल्टिप्रपोज हल, क्यान्टिन, सात सय विद्यार्थी अट्ने छात्रावास, प्रोफेसर रुम, अडियो भिजुअल प्रविधि, इ–लाइब्रेरी, केन्द्रीय प्रशासन भवनदेखि अस्पताल तथा मेडिकल कलेजको संरचना पनि व्यवस्थित छ ।
उपचारका लागि गेटामै ल्याउन खोजिएको थियो, तर केसीले मानेनन्
पाँच दिनदेखि इलाममा अनशन बसेका डा. केसीको स्वास्थ्यमा खराबी देखिएपछि सोमबार त्रिवि शिक्षण अस्पताल, काठमाडौं ल्याइएको छ । सुरुमा उनलाई उपचारका लागि गेटामै लैजाने तयारी शिक्षामन्त्री सस्मित पोखरेलले गरेका थिए । उनले गेटाका पदाधिकारीलाई फोनसमेत गरेर उपचारका लागि तयार रहन अनुरोध गरेका थिए । सोहीअनुसार अस्पतालले व्यवस्थापन गरे पनि केसी गेटामा जान अस्वीकार गरेपछि टिचिङमा ल्याइएको थियो ।