१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ मङ्सिर ६ मंगलबार ०८:३८:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

जाडोयाममा बालबालिकामा देखिने समस्या र समाधान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ मङ्सिर ६ मंगलबार ०८:३८:००

हेल्थ टिप्स 

प्रा.डा. आरपी चौधरी प्रमुख बाल सर्जन ईशान बाल तथा महिला अस्पताल

चिसो बढेसँगै सिजनल फ्लुका बिरामी पनि बढ्न थालेका छन् । यो समयमा चिसोका कारण बालबालिकाको शरीरको तापक्रम पनि घट्दै जाने हुन्छ । जसका कारण रुघाखोकीजस्ता सामान्यदेखि घातक रोगसमेत लाग्ने जोखिम हुन्छ । मानिसले बच्चालाई न्यानो कपडा लगाइदिए पनि टोपी तथा मोजा लगाउन बिर्सेका हुन्छन् ।

पैताला र टाउको खुला हुँदा त्यहीँबाट शरीरमा चिसो पसेर रुघाखोकी लाग्न सक्ने भएकाले यसतर्फ विशेष ध्यान पुर्‍याउन जरुरी छ । रुघाखोकी समयमै उपचार गरिएन भने यसले नवजात शिशुलाई थप कमजोर बनाउँछ । बालबालिकामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले फ्लु सर्ने जोखिम पनि ज्यादा रहन्छ । 

फ्लुका लक्षण
- अचानक ज्वरो आउने । 
- नाकबाट पानी बग्ने । रुघाखोकी लाग्ने ।
- छिटोछिटो श्वास फेर्ने, श्वासप्रश्वासमा समस्या
- घ्यारघ्यार हुने । 
- ओठ, जिब्रो निलो भएर जाने ।
- छाला फुट्ने, सुक्खा हुने, चिरिने, एलर्जी हुने । 
- बच्चाले आमाको दूध नखाने, रुने । 
- बान्ता गर्ने । 

कस्ता समस्या देखिन्छ ?

श्वासप्रश्वासमा समस्या
जाडो मौसममा बालबालिकामा श्वासप्रश्वासमा बढी समस्या देखिन्छ । यो समयमा रुघाखोकी लाग्ने, निमोनिया हुनेलगायतका समस्या देखिन्छन् । धुलोधुवाँ, प्रदूषणका कारणले यस्ता समस्या देखिने हुन्छ । 

छालाको समस्या
चिसोमा बालबालिकामा छालाको समस्या बढी देखिन्छ । छाला सुक्खा हुने, फुस्रो हुने, फुट्ने, चिरा पर्ने, एलर्जी हुने हुन्छ । 

अन्य समस्या
चिसो मौसममा न्यानो गराउनका लागि बालबालिकालाई हिटर, दाउरा बाल्ने, हट ब्यागले सेक्ने गरिन्छ । तर, कहिलेकाहीँ तातोले बालबालिकालाई पोल्ने, विपत्ति निम्तिन सक्ने जोखिम हुने भएकाले विशेष सतर्क रहन जरुरी छ । 

के गर्ने ?
- बालबालिकामा समस्या देखिएमा जथाभावी औषधिको प्रयोग नगर्ने । 
- कुनै पनि समस्या देखिएमा हेलचेक्र्याइँ नगर्ने । तुरुन्तै अस्पताल लैजाने । 
- चिसोमा बालबालिकालाई बिहान–बेलुका बाहिर नलैजाने । लिएर जानुपर्दा टाउकोदेखि पैतालासम्म शरीर ढाक्ने कपडा लगाएर न्यानो बनाई लैजाने । 
- खानपिनमा ध्यान दिने । पोषिलो, झोलिलोपदार्थ खुवाउने । 
- भिटामिनयुक्त फलफूल प्रशस्त खुवाउने । 
- सिजनल फ्लुबाट बच्न भ्याक्सिन लगाउने । 
- रुघा लागेको अन्य व्यक्तिबाट बच्ने । प्mलु लागेको व्यक्तिसँगको सम्पर्कले एकअर्कामा सर्न सक्ने सम्भावना हुन्छ । 
- सरसफाइमा ध्यान दिने । 
- चिसोले छाला फुस्रो हुने, फुट्ने, चिरा पर्ने हुँदा मोस्चराइजर क्रिम लगाउने ।