जुम्लामा मतदान स्थलतर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ। निर्वाचन सामग्रीसहित मतदान स्थलतर्फ जाँदै गरेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना भएको हो। जिपमा आठजना सवार रहेका बताइएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला गाउँपालिका– ४ स्थित रावतवाडामा ताम्ती मतदान स्थलतर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो। एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन प्रहरी र एक कार्यालय सहयोगी घाइते भएका उनले जानकारी दिएका छन्।
प्रारम्भिक जानकारीअनुसार निर्वाचनमा खटिएका कार्यालय सहयोगी अंगराज गिरी, मतदान अधिकृत हरिप्रसाद देवकोटा, सहायक मतदान अधिकृत आदिप्रसाद न्यौपानेसहित ६ जना घाइते भएका छन्। घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ।