डोल्पामा उम्मेदवारले चुनावी सभालाई भन्दा घरदैलो कार्यक्रमलाई प्राथमिकता दिएका छन्।
प्रतिनिधिसभामा एउटा र प्रदेश सभामा दुईवटा निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला डोल्पामा निर्वाचन आयोगले राजनीतिक दललाई निश्चित समयावधि तोकेर आमसभा, भेला गर्न खुला गरेको एक साता बितिसक्दा पनि डोल्पामा अहिलेसम्म कुनै पनि पार्टीले आमसभा गरेका छैनन्।
प्रतिनिधिसभामा पाँच र प्रदेश सभामा सात गरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन्। प्रतिनिधिसभामा सत्तागठबन्धनको तर्फबाट एकीकृत समाजवादीका धनबहादुर बुढाले उम्मेदवारी दिएका छन्।
प्रदेश (क)मा गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति दीपेन्द्रबहादुर शाही, नेपाल कम्युनिस्ट पार्टी एमालेबाट जिल्ला कमिटी अध्यक्ष शेरबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नारान बुढा, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)बाट नन्दबहादुर रोकायबीच प्रतिस्पर्धा हुँदै छ।
प्रदेश (क) मा चारवटा स्थानीय तह छन्। ठूलीभेरी नगरपालिकाको प्रमुख उपप्रमुख कांग्रेसले जितेको छ। काइके र छार्काताङसाेङ गाउँपालिकामा एकीकृत समाजवादीको नेतृत्व छ भने डोल्पोबुद्ध गाउँपालिकाको प्रमुखमा एकीकृत समाजवादीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार कार्माछोइवेल गुरुङ निर्वाचित भएका छन्। सो गाउँपालिकाको उपप्रमुख एकीकृत समाजवादीकै पोल्टामा छ।
स्थानीय तहको यो परिमाणलाई हेर्ने हो भने प्रदेश (क)मा गठबन्धनका साझा उम्मेदवार दीपेन्द्रबहादुर शाही निकै बलियो अवस्थामा छन्। प्रतिनिधिसभामा सत्तागठबन्धनको तर्फबाट एकीकृत समाजवादीका धनबहादुर बुढाले पनि शाहीलाई जिताउने वचन दिएका छन्।
उपल्लो डोल्पाका तीन स्थानीय तहबाट बुढालाई आउने मत शाहीलाई आयो भने निर्वाचित हुने सम्भावना रहेको उनको दाबी छ। कांग्रेसको पनि ठूलीभेरी नगरपालिकाबाट ६० प्रतिशत मत पाउने दाबी छ।
त्यसैगरी एमालेका उम्मेदवार शेरबहादुर बुढा पनि बलिया उम्मेदवार मानिन्छन् । बुढालाई गृह क्षेत्र काइके गाउँपालिकाबाट एकलौटी मत आउने एमालेको दाबी छ। काइकेमा दुई हजार तीन सय ६३ मतदाता छन् । जस्तोसुकै गठबन्धन भए पनि एमालेको जित सुनिश्चित भएको उम्मेदवार बुढाले दाबी गरे। यहाँ नाै हजार पाँच सय ६७ मतदाता छन्।
त्यसैगरी, प्रदेश निर्वाचन क्षेत्र (ख) मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता तथा कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री वीरबहादुर शाही, नेपाल कम्युनिस्ट पार्टी एमालेबाट धनचन्द्र बैजी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बौद्धसिंह कठायतबीच प्रतिस्पर्धा हुँदै छ।
यहाँ पनि चारवटा स्थानीय तह छन्। स्थानीय तहको चुनावलाई हेर्ने हो भने एमाले र माओवादीले दुई–दुईवटा स्थानीय तह जितेका छन्। त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख उपप्रमुख नै एमालले जितेको छ। एमालेका जनचन्द्र रोकायले दुई हजार एक सय चार मत ल्याएका थिए।
निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्रलाल धरालाले एक हजार पाँच सय ९६ मत ल्याएका थिए । कांग्रेसलाई प्राप्त मतलाई आधार मान्ने हो भने त्रिपुरासुन्दरीमा कांग्रेस एमालेपछि दोस्रो शक्तिको रूपमा रहेको छ। उता माओवादीका उम्मेदवार दिलबहादुर विष्टले एक हजार चार सय २२ मत ल्याएका थिए।
त्रिपुरासुन्दरीमा माओवादीले पाँचवटा वडासमेत जितेको छ। से–फोक्सुन्डाे गाउँपालिकामा प्रमुख भने एमालेले जितेको छ। एमालेबाट उम्मेदवार बनेका धावा सुम्डुक निर्विरोध अध्यक्षमा निर्वाचित भएका थिए। उपाध्यक्ष पेम्वावाङ्छेन गुरुङ एक हजार एक सय मत ल्याएर स्वतन्त्रबाट निर्वाचित भएका थिए। उनी एमाले समर्थक हुन्।
उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पेम्मा डोल्पा गुरुङले दुई सय ७६ मत ल्याएका थिए। त्यसैगरी मुड्केचुला गाउँपालिकामा प्रमुख, उपप्रमुख नै माओवादी केन्द्रले जितेको छ। प्रमुखमा दत्तबहादुर शाहीले एक हजार चार सय चार मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लंकबहादुर रोकायले एक हजार तीन सय ६७ मत ल्याएका थिए।
मुड्केचुलामा कांग्रेसको संगठन कमजोर छ। संगठन कमजोर भएकाले कांग्रेसले स्थानीय निर्वाचनमा उम्मेदवार उठाएन । त्यसैगरी जगदुल्ला गाउँपालिकामा पनि प्रमुख, उपप्रमुख नै माओवादी केन्द्रले जितेको छ। प्रमुखमा नारासिंह रोकायले सात सय ७० मत ल्याए। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हेमबहादुर महताराले सात सय ४६ मत ल्याएका थिए।
स्थानीय तहको मतपरिमाणलाई आधार मान्ने हो भने एमाले माओवादी बराबरी हैसियतामा छन्। तर, तीनदलीय गठबन्धन भएकाले उम्मेदवार वीरबहादुर शाहीलाई कांग्रेस र समाजवादीका समेत मत आउने भएकाले बलियो देखिएका छन्।
माओवादी बलियो रहेको यस क्षेत्रमा बलियो पकड भएको कांग्रेस र समाजवादीको मत पाउने भएकाले झन्डै चार–पाँच सय मतान्तरले आफूले जित्ने शाहीको दाबी छ।
अहिले गाउँघरमा गठबन्धनको पक्षमा जनलहर उर्लिरहेको उनले बताए। त्यसैगरी एमालेका उम्मेदवार धनचन्द्र बैजी पनि बलिया उम्मेदवार हुन्। भर्खरै मात्रै राजनीतिमा प्रवेश गरेका उनी आर्थिक हिसाबले पनि मजबुत छन्।