संखुवासभा गोल्डकप : न्युस्टार र प्लानिङ ब्वाइजको विजयी सुरुवात

मंगलबार, १७ कार्तिक, २०८३
डिजिटल संस्करण

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका– ३, मानेभन्ज्याङमा संखुवासभा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। सोमबारदेखि सुरु भएको प्रतियोगितामा न्युस्टार क्लब सुनसरी र प्लानिङ ब्वाइज काठमाडौंले विजयी सुरुवात गरेका छन्।

प्रतियोगिताको पहिलो खेलमा आयोजक एडभान्स क्लब र न्युस्टार क्लब सुनसरीबिच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा दुवै टोलीले बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा न्युस्टारले आयोजक एडभान्स क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

त्यस्तै, दोस्रो खेलमा खाँदबारी युथ क्लब (केवाइसी) संखुवासभा र प्लानिङ ब्वाइज काठमाडौंबिच प्रतिस्पर्धा भएको थियो। पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए।

दोस्रो हाफमा प्लानिङ ब्वाइजका ११ नम्बरका खेलाडी फाल्गुन थारूले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सोही गोल निर्णायक बनेपछि प्लानिङ ब्वाइजले जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

मंगलबार हुने पहिलो खेलमा सलेहस क्लब सिराहा र लोहोरुङ क्लब संखुवासभाबिच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो खेलमा झापा– ११ फुटबल क्लब र सेखाहा क्लब संखुवासभाबिच भिडन्त हुनेछ।

प्रतियोगिताको एक समारोहबिच खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले उद्घाटन गरेका थिए। प्रतियोगिता कात्तिक २० गते सम्पन्न हुनेछ। समापन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की सहभागी हुने आयोजकले जनाएको छ।

बंगालको खाडीबाट आएको अर्नब चक्रवातको प्रभावका कारण लगातार वर्षा भएपछि कात्तिक १४ गतेदेखि सञ्चालन हुने भनिएको प्रतियोगिता दुई दिनपछि सारिएको थियो।

सुरुमा दैनिक एउटा मात्र खेल सञ्चालन गर्ने तालिका रहे पनि प्रतियोगिता दुई दिन पछाडि सरेपछि दैनिक दुई खेल सञ्चालन गरी कात्तिक २० गते नै प्रतियोगिता सम्पन्न गर्ने तयारी गरिएको प्रतियोगिता संयोजक जिल्लामान राईले जानकारी दिए।

प्रतियोगितामा जिल्लाका चार चर्चित क्लब र जिल्लाबाहिरका चार गरी आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

 

 

सुझावित समाचार