रिजाल टासी जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वमन्त्री मीनेन्द्र रिजाललगायतलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर

मंगलबार, १७ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं । सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज)को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाटै निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन मन्त्री मीनेन्द्र रिजाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सो कम्पनीको नाममा सुनसरी र मोरङमा रहेको जग्गा बिक्री गर्न नेपाल अध्यक्षताको मन्त्रिपरिषद्ले नै सहमति दिएको थियो।  

इटहरीबाट विराटनगर जाने मूल सडकसँग जोडिएको जग्गा बिक्री गर्न दिएर दुर्गम स्थानमा जग्गा सट्टापट्टा गर्न ०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले अनुमति दिएको थियो। यसमा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर भएको हो । 

मन्त्रिपरिषद्ले ५९ बिघा नौ कट्ठा जग्गा त्यसरी सट्टापट्टा गर्न दिइएको थियो। जसमा मन्त्रिपरिषद्को सामाजिक समिति जिम्मेवार देखिएकाले सो समितिमा रहेका तत्कालीन मन्त्री मीनेन्द्र रिजाललाई पनि प्रतिवादी बनाइएको छ।

विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार अख्तियारबाट यससम्बन्धी मुद्दाको आरोपपत्र आएको र दर्ताको प्रक्रियामा रहेको छ ।

यसमा मालपोतका कर्मचारीलाई समेत प्रतिवादी बनाइएको छ। फलफूलसम्बन्धी उद्योग सञ्चालनका लागि भनेर सो कम्पनीले हदबन्दीभन्दा बढी जग्गा राखेकोमा जग्गाको मूल्य बढेपछि बिक्री गरिएको थियो। सो उद्योग भने अहिले पनि इटहरीमा सञ्चालनमै छ। 

यसअघि पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको जग्गा पनि यसैगरी बिक्री गर्न दिएको प्रकरणमा पनि पूर्वप्रधानमन्त्री नेपाल लगायतविरुद्धको मुद्दा विशेष अदालतमा विचाराधीन छ। 
 

सुझावित समाचार