मेगा बैंकले सुरु गर्‍यो भू–सेवा केन्द्र

घरजग्गा र अपार्टमेन्ट धितो रोक्का–फुकुवा बैंकबाटै हुने

शुक्रबार, ४ कार्तिक, २०७९
डिजिटल संस्करण

मेगा बैंक नेपाल लिमिटेडले भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । ग्राहकलाई सहज रूपमा सेवा दिने उद्देश्यले ल्याएको यो सेवा घरजग्गा तथा अपार्टमेन्टको रोक्का–फुक्का बैंकबाटै गर्न मिल्ने सेवा हो ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा केन्द्र सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । कानुनबमोजिम भू–सेवा केन्द्र सञ्चालनको अनुमति लिई घर–जग्गाको रोक्का तथा फुकुवा अनलाइनबाट गर्ने कार्यको सुरुवात गरेको मेगा बैंकले जनाएको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागमा आयोजित समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया तथा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का–फुकुवा गर्ने सम्बन्धमा समझदारी भएको थियो । समझदारीपत्रमा मेगा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पीताम्बर घिमिरेले हस्ताक्षर गरेका थिए ।  भू–सेवा केन्द्र सञ्चालनमा आएपछि घर–जग्गाको रोक्का तथा फुकुवाका लागि बैंकको प्रतिनिधि, जग्गाधनी तथा ऋणी सम्बन्धित मालपोत कार्यालयहरूमा उपस्थित नभई बैंककै भू–सेवा केन्द्रमा उपस्थित भई आवश्यक कागजपत्रहरू अनलाइनमार्फत पेस गरे पुग्ने जनाइएको छ । 

बैंकबाट रोक्का तथा फुकुवा कार्य गर्न सकिने हुँदा बैंक, सेवाग्राही तथा सम्बन्धित मालपोत कार्यालयहरूलाई समेत रोक्का तथा फुकुवा कार्यमा सहजीकरण हुने बैंकले विश्वास व्यक्त गरेको छ । यसबाट सेवाग्राही तथा बैंकको समय तथा लागतको समेत बचत हुन गई समयमा नै बैंकिङ सुविधा उपभोग गर्न सकिने तथा मालपोत कार्यलयहरूमा समेत सेवाग्राहीहरूको भिडमा कमी आउने बैंकले जनाएको छ । बैंकका अध्यक्ष शाह तथा कामु प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकबाट प्रवाह हुने बैंकिङ सेवा–सुविधालाई डिजिटलाइज गर्ने सन्दर्भमा मेगा बैंक सदैव अग्रस्थानमा रहेको बताए । 

सुझावित समाचार