विशेषले उल्ट्याएका १० मुद्दाको पुनरावेदन लिएर सर्वोच्च गयाे अख्तियार

सोमबार, ३१ असोज, २०७९
डिजिटल संस्करण

विशेष अदालतबाट उल्टिएका १० मुद्दाको पुनरावेदन लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ। रंगेहात घुसका आठ र प्रश्नपत्रको गोपनीयता भंग तथा झुटा बिल भर्पाइको एक–एक मुद्दाको पुनरावेदन लिएर अख्तियार सर्वोच्च गएको हो।

विशेष अदालतको फैसलामा चित्त नबुझेर ती मुद्दाको पुनरावेदन गर्ने निर्णय अख्तियारले गत २ साउनमै गरेको थियो। सो निर्णयबमोजिम ९ साउनमा ती मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएका छन्। रंगेहात पक्राउ परेका र मागदाबी पुगेका मुद्दाका प्रतिवादीले पनि सफाइ पाएपछि ती मुद्दा पुनरावेदन गर्ने निर्णय अख्तियारले गरेको हो।

मागैन महतो र रामनारायण पोदार प्रतिवादी भएको रंगेहात पक्राउको मुद्दा विशेष अदालतबाट उल्टिएपछि आयोग पुनरावेदनमा गएको छ। मुद्दाका दुवै प्रतिवादीले विशेष अदालतको गत ८ वैशाखको फैसलाबाट सफाइ पाएका छन्। त्यस मुद्दाको आरोप मागदाबीमा उल्लेख भएका कुरा शंकारहित नै पुष्टि भएको, महतोले ११ हजार रकम लेखनदास पोदारलाई दिनु भनेको र पोदारले पनि स्वीकार गरेको, पोदारको साथबाटै रकम बरामद भएकोलगायतका आधारमा आयोगले यो मुद्दा पुनरावेदनमा लगेको छ।

त्यस्तै, सुन्दर भट्टराई, यामलाल ढकाल, यादव पौडेल र राजु सेढाईं प्रतिवादी भएको मुद्दा पनि आयोगले पुनरावेदन गरेको छ। तीनैजनाले विशेषबाट सफाइ पाएका थिए । पाँच लाख चार हजार आठ सय ५० घुस लिएर झुट्टा कागजातका आधारमा विदेशी सवारीचालक अनुमतिपत्रलाई नेपालीकरण गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको थियो। तर, २२ चैत ०७८ मा विशेषले प्रतिवादी सबैलाई सफाइ दियो। भ्रष्टाचारको तथ्य स्थापित भएको भनी कसुर ठहर गरेर पनि अदालतले आरोपितलाई सफाइ दिएको आयोगको दाबी छ।

नवीनकुमार साह र वीरेन्द्रकुमार साह प्रतिवादी भएको अर्को मुद्दा पनि आयोगले पुनरावेदनमा लगेको छ। तर, मुद्दाका प्रतिवादी र उजुरी निवेदकबीच भएको कुराकानीको अडियो रेकर्डमा समेत रकम बार्गेनिङ गरेको, घुस रिसवतबापतको रकम दिने सहमति भएपश्चात् मात्र कर्मचारीले टिप्पणी फाइल फरवार्ड गरेको, प्रतिवादीले आरोप इन्कार गर्न नसकेकोलगायतका आधारमा यो मुद्दाको पुनरावेदन निर्णय अख्तियारले गरेको छ। विशेषले यस मुद्दाका दुवै प्रतिवादीलाई गत ६ जेठमा सफाइ दिएको थियो।

ध्रुव महतो नुनियाँ प्रतिवादी भएको घुसको अर्को मुद्दा पनि अख्तियारले पुनरावेदन गरेको छ। १५ हजार घुसको यो मुद्दा गत १४ वैशाखमा विशेष अदालतले उल्ट्याइदिएको थियो। मिछुहाङ किराँत प्रतिवादी भएको मुद्दा २९ चैत ०७८ को विशेषको फैसलाबाट उल्टिएपछि त्यसलाई पनि अख्तियारले पुनरावेदन गरेको छ। ५० हजार घुस लिएको आरोपमा किराँतविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो।

नइन्द्र पारुहाङ प्रतिवादी भएको अर्को मुद्दा पनि अख्तियारले पुनरावेदन गरेको छ। २० हजार घुस लिएसम्बन्धीको यस मुद्दालाई गत ५ जेठको विशेष अदालतको फैसलाले उल्ट्याइदिएको थियो। गम्हिरा साह तेली आरोपित मुद्दा पनि अख्तियारले पुनरावेदन गरेको छ। पोलिग्राफ परीक्षणबाटसमेत आरोपितको कसुर पुष्टि भएकोलगायतका आधारमा अख्तियारले मुद्दा पुनरावलोकन गरेको छ। यसैगरी, विनोदकुमार श्रीवास्तव प्रतिवादी भएको मुद्दामाथि पनि आयोग पुनरावेदन गएको छ। पोलिग्राफ परीक्षण, रंगेहात परीक्षण तथा नमुना संकलन मुचुल्का, खानतलासी एवं बरामदी मुचुल्कासमेतबाट कसुर पुष्टि, रकम बार्गेनिङको अडियो रेकर्डसमेत भएको मुद्दाका आरोपितले सफाइ पाएपछि अख्तियार पुनरावेदनमा गएको छ।

त्यस्तै, टेकबहादुर भण्डारी र दलबहादुर विश्वकर्मा प्रतिवादी भएको प्रश्नपत्र गोपनीयता भंग गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पनि अख्तियार पुनरावेदन गएको छ। फोनकल, मोबाइलबाट आउट भएको प्रश्नपत्रलगायतबाट कसुर पुष्टि हुने दाबी अख्तियारको छ। ११ चैत ०७८ मा विशेष अदालतबाट भएको फैसलाउपर अख्तियार सर्वोच्च गएको हो। थमन योगी, तरिणबहादुर विष्ट, घनश्याम शर्मा, डिम्बरबहादुर कामी, कर्णबहादुर विक र अनिता विक प्रतिवादी भएको गलत प्रतिवेदन र झुट्टा बिल भर्पाइको आधारमा भ्रष्टाचार गरेसम्बन्धीको मुद्दामा पनि अख्तियार पुनरावेदन गएको छ। गत २ वैशाखको विशेष अदालतको फैसलाउपर अख्तियारले पुनरावेदन गरेको हो।

सुझावित समाचार