गृहमन्त्री सुधन गुरुङले क्षेत्रीय सुरक्षा सुदृढीकरण, सीमापार अपराध नियन्त्रण र जलवायुजन्य विपत् व्यवस्थापनमा बिमस्टेक राष्ट्रहरू दृष्टिकोणबाट कार्यान्वयनतर्फ अघि बढ्नुपर्ने बताएका छन् । भारतको नयाँदिल्लीमा मंगलबार आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को पहिलो गृहमन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
गुरुङले बिमस्टेक संयुक्त विपत् कार्यदलको प्रस्ताव गरेका छन् । नेपालमा हालै गएको विनाशकारी भोटेकोशी, मनाङ–मुस्ताङ र बुढीगण्डकी बाढीको प्रसंग उल्लेख गर्दै गुरुङले ‘विपत् पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बिमस्टेक क्षेत्रीय ढाँचा’ प्रस्ताव गरे ।
हिमालयदेखि महासागरसम्मका भूभागमा जुनसुकै परिस्थितिमा तत्काल खटिन सक्ने उच्च दक्षतायुक्त संयुक्त कार्यदल गठन हुनुपर्नेमा उनको जोड थियो । गृहमन्त्री गुरुङले अपराध र गैरकानुनी वित्तीय प्रवाह नियन्त्रणमा पनि जोड दिए । आतंकवाद, मानव बेचबिखन, लागुपदार्थ तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता जटिल चुनौतीले नागरिकको जीवन र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै उनले गैरकानुनी वित्तीय प्रवाह रोक्ने कार्ययोजनाको स्वागत गरे ।
गृहमन्त्री गुरुङले घोषणापत्र र योजनाहरू कार्यान्वयनका लागि तयार हुने समयबिचको दूरी घटाउनुपर्ने बताउँदै आपराधिक सञ्जालहरूलाई निस्तेज पार्न सुरक्षित तरिकाले सूचना तथा विशेषज्ञता आदानप्रदान गर्ने प्रणाली निर्माण गर्न पनि जोड दिएका छन् ।
भारतीय गृहमन्त्रीसँग भेटवार्ता
गृहमन्त्री सुधन गुरुङले भारतीय समकक्षी अमित साहसँग भेटवार्ता गरेका छन् । भेटमा दुई देशबिचको सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण र विपत् व्यवस्थापनमा पारस्परिक सहयोग सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको नेपाली दूतावासले जनाएको छ । भेटमा कार्यवाहक नेपाली राजदूत डा. सुरेन्द्र थापालगायत दूतावासका अधिकारीहरू सहभागी थिए । भेटवार्तापछि भारतीय गृहमन्त्री साहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘हामीले द्विपक्षीय सहयोगलाई थप प्रगाढ बनाउने र हाम्रो क्षेत्रको शान्ति, प्रगति र समृद्धिका लागि भारत र नेपालबिचको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ गर्ने प्रतिबद्धता दोहोर्याएका छौँ ।’