नेपालबाट मनसुन बाहिरियो, यस वर्ष १२ दिन ढिलो

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार (असोज २८ गते) दिउँसो २ बजे मनसुन बहिर्गमनसम्बन्धी बुलेटिन जारी गर्दै मनसुन पूर्ण रूपमा बाहिरिएको जनाएको हो।

महाशाखाका अनुसार यस वर्ष असोज १७ गतेदेखि मनसुन बहिर्गमन सुरु भएको थियो। उक्त दिन सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका केही स्थानबाट मनसुन बाहिरिन थालेको थियो।

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष अक्टोबर १४ मा मात्रै मनसुन बाहिरिएको हो। यससँगै मनसुन सरदर मितिभन्दा १२ दिन ढिलो गरी बाहिरिएको विभागले जनाएको छ।

मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्लो सूचना नियमित रूपमा लिन महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

मौसमसम्बन्धी थप जानकारीका लागि मौसम पूर्वानुमान महाशाखाको टोल फ्री नम्बर ११५५ वा विभागको आधिकारिक वेबसाइट www.dhm.gov.np/mfd मार्फत जानकारी लिन सकिनेछ।

सुझावित समाचार