यी हुन् कञ्चनपुरमा एमालेका उम्मेदवार

शनिबार, २२ असोज, २०७९
डिजिटल संस्करण

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि एमालेले कञ्चनपुरका तीनै संघीय निर्वाचन क्षेत्र र ६ प्रादेशिक निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा एमालेले तारा लामा तामाङलाई टिकट दिएको छ। तामाङसंगै वीरबहादुर थापा (पातल) र खेम सुुवेदी पनि आकांक्षी थिए। एमाले कञ्चनपुरका पूर्वअध्यक्ष तामाङ गत बर्ष एमालेफुटसँगै एकीकृत समाजवादीमा गएका थिए। एस सुदूरपश्चिम प्रदेशका उपसचिवसमेत रहेका तामाङ गत १५ भदौमा पुनः एमाले प्रवेश गरेका थिए।

एमाले प्रवेश गरेको महिनादिनमै टिकट दिएको भन्दै एमालेभित्र आकांक्षी उम्मेदवारसहित केही नेता कार्यकर्ता आक्रोशित छन्। विगतमा एमाले फुट्दा पार्टी टुहुरो छाडेर मन्त्री हत्याउने र मन्त्रीबाट हटाएपछि सांसद पदकै लागि एमाले आएको भन्दै तामाङविरुद्ध एमाले नेता कार्यकर्ता खनिएका छन्। प्रदेश सभा १(क) मा वीरबहादुर थापा र (ख)मा जिल्ला सचिव पल्लवराज भट्टले टिकट पाएका छन्।

यता, प्रतिनिधिसभा क्षेत्र नं २ मा एमाले केन्द्रीय सदस्य तथा निर्वतमान सांसद नरबहादुर धामीले पुनः टिकट पाएका छन्। प्रदेश सभातर्फ २(क)मा युवा संघका निर्वतमान अध्यक्ष बचन सिंह  र (ख)मा पार्टी केन्द्रीय सदस्य कृपाराम रानाले टिकट पाएका छन्।

क्षेत्र नं ३ मा पोलिटब्यूरो सदस्य तथा निर्वतमान सांसद निरुदेवी पालले टिकट पाएकी छिन्। प्रदेश सभातर्फ ३(क) भने एमालेले राप्रपाका लागि छाडेको छ। राप्रपासँग चुनावी गठबन्धन गरेको एमालेले कञ्चनपुरमा राप्रपालाई एक सिट मात्रै दिएको छ। उक्त सिटबाट राप्रपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशी उम्मेदवार बन्ने निश्चित भएको राप्रपा नेताले बताएका छन्।

प्रदेश सभाको ३(ख)मा भने एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले टिकट पाएको बुझिन्छ। ३(ख)बाट विष्ट र २(ख)बाट कृपाराम रानाको एकल सिफारिस भएको थियो। टिकटकै विषयलाई लिएर वीरबहादुर थापा  (पातल), जयराज पाण्डेसहितका नेता कार्यकर्ता असन्तुष्ट छन्।

सुझावित समाचार