काठमाडौं। आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ। ओमानको अल अमिरातस्थित मिनिस्ट्री टर्फ– १ क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २७० रन मात्र बनाउन सक्यो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो। नेपालको इनिङ्समा रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ८० रनको योगदान दिए। उनले ८१ बलको सामना गर्दै उक्त रन बनाएका थिए।
२८१ रनको लक्ष्य पछ्याएको ओमानका लागि जतिन्दर सिंह र हम्माद मिर्जाले उत्कृष्ट प्रदर्शन गरे। जतिन्दरले ११४ बलमा ८९ रन बनाए भने हम्मादले ९७ बलमा ८७ रन जोडे। दुवै ब्याटरले टोलीलाई जित नजिक पुर्याए पनि ओमान लक्ष्य पूरा गर्न असफल रह्यो।
नेपालका बलरहरूले दबाबपूर्ण अवस्थामा संयमित प्रदर्शन गर्दै ओमानलाई निर्धारित ओभरमा २७० रनमै रोके। यससँगै नेपालले रोमाञ्चक प्रतिस्पर्धामा १० रनको महत्त्वपूर्ण जित दर्ता गर्यो।