विश्वकप लिग– २ : ओमानविरुद्ध नेपालको रोमाञ्चक जित
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ। ओमानको अल अमिरातस्थित मिनिस्ट्री टर्फ– १ क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २७० रन मात्र बनाउन सक्यो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो। नेपालको इनिङ्समा रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ८० रनको योगदान दिए। उनले ८१ बलको सामना गर्दै उक्त रन बनाएका थिए।
दसैँ मनाउन गाउँ फर्किए सर्वसाधारण, सुनसान बन्यो काठमाडौं उपत्यका
बडादसैँ मनाउन लाखौँ सर्वसाधारण आफ्नो जन्मथलो फर्किएसँगै काठमाडौं उपत्यका सुनसान बनेको छ। सधैँ सवारी चाप र मानिसहरूको भिडभाड रहने मुख्य सडक, बजार तथा सार्वजनिक स्थलमा चहलपहल घटेको छ।
घटस्थापनादेखि नै थानकोट, जगाती, दक्षिणकाली र टोखालगायतका नाकाबाट यात्रुहरू बाहिरिने क्रम बढेको थियो। नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर, चाबहिल, रत्नपार्क र कलंकीजस्ता व्यस्त क्षेत्रमा सवारी आवागमन न्यून बनेको छ। सार्वजनिक बिदाका कारण अधिकांश पसल तथा कार्यालयसमेत बन्द छन्।
एनटी फाइबरको सस्तो प्याकेजमा ग्राहकको आकर्षण, अब अनलाइनबाटै सेवा लिन सकिने
नेपाल टेलिकमको एनटी फाइबर सेवाअन्तर्गत सस्तो र उच्च गतिको इन्टरनेट प्याकेजप्रति ग्राहकको आकर्षण बढेको छ। हालै टेलिकमले चार हजार ९९९ रुपैयाँमै ३० एमबिपिएस गतिको वार्षिक प्याकेजसहित अन्य विभिन्न अफरहरू उपलब्ध गराएको छ।
नयाँ लाइन जडान तथा जानकारीका लागि टेलिकमको १९८ नम्बरमा चाप बढेपछि कम्पनीले अनलाइनमार्फत पनि सेवा अनुरोध र गुनासो दर्ता गर्न सकिने व्यवस्था गरेको छ।
गेटामा एमबिबिएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, सरकारलाई एक साताको अल्टिमेटम
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आवश्यक पूर्वाधार र जनशक्ति अभाव हुँदाहुँदै एमबिबिएस तथा नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्न माग गरेका छन्। उनले आफ्ना माग पूरा गर्न सरकारलाई एक साताको अल्टिमेटम दिँदै माग सम्बोधन नभए सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्।
सोमबार विज्ञप्ति जारी गर्दै डा. केसीले चिकित्सा शिक्षा आयोगले नेपाली आर्मी मेडिकल कलेजलगायत विभिन्न शिक्षण संस्थामा विद्यार्थी भर्ना सिट वृद्धि गर्ने निर्णयसमेत तत्काल खारेज गर्नुपर्ने बताएका छन्।
टाइगर श्राफमाथि गोली प्रहारको घटनामा तीनजना पक्राउ
बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहारको घटनामा तीन संदिग्ध व्यक्ति पक्राउ परेका छन्। रेलमा यात्रा गरिरहेको अवस्थामा राजस्थानको कोटा रेल्वे स्टेसनबाट उनीहरू पक्राउ परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
पक्राउ परेकामध्ये दुईजना हरियाणाका र एकजना बिहारका रहेका एनडिटिभीले जनाएको छ। उनीहरू तीनैजना लरेन्स विष्णोई समूहसँग आबद्ध रहेको बताइएको छ।
दसैँमा सर्वसाधारणको सहजताका लागि सशस्त्र प्रहरीद्वारा निःशुल्क बससेवा
बडादसैँका अवसरमा सर्वसाधारणको आवतजावत सहज बनाउन सशस्त्र प्रहरी बल नेपालले काठमाडौं उपत्यकामा निःशुल्क बससेवा सञ्चालन गरेको छ।
दसैँका वेला सार्वजनिक यातायातका साधन न्यून संख्यामा सञ्चालन हुने भएकाले नागरिकलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
आनी छोइङ डोल्मालाई कोषको उपाध्यक्ष नियुक्त गरेपछि लुम्बिनीका स्थानीयद्वारा विरोध
आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाएपछि लुम्बिनीका स्थानीय आक्रोशित बनेका छन्। विवादित पात्र डोल्मालाई कोषको उपध्यक्षमा नियुक्त गरेको भन्दै लुम्बिनी बचाउ महाअभियानले कोषपरिसरमा पत्रकार सम्मेलन गरी सरकारलाई तत्काल निर्णय सच्याउन माग गर्दै धर्ना र प्रवेश निषेधको घोषणा गरेको महाअभियानका संयोजक अक्रम खानले जानकारी दिए।
कोषको कार्यकारी उपाध्यक्षमा ‘विवादित पात्र’को नियुक्तिले लुम्बिनी क्षेत्रमा आक्रोश बढेको हो। असोज ३० गते सरकारले डोल्मालाई नियुक्त गरे पनि १ कात्तिकमा मात्रै निर्णय सार्वजनिक भएको थियो।
बर्दियामा पाँच वर्षमा २८० जना घरमा सुत्केरी : सबैभन्दा बढी गुलरिया नगरपालिकामा
बर्दियामा पाँच वर्षमा २८० जना महिला घरमा सुत्केरी भएका छन्। स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांकअनुसार पाँच वर्ष २८० जना महिला घरमा सुत्केरी भएका हुन् ।
विगत पाँच वर्षको तथ्यांक हेर्दा घरमा सुत्केरी भएकामध्ये गुलरिया नगरपालिकामा मात्र २६६ जना महिला घरमा सुत्केरी भएका छन् ।
कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०८२/८३ मा १९ जना घरमा सुत्केरी भएका थिए । जसमध्ये १९ जना नै गुलरिया नगरपालिकाका रहेका थिए । त्यसैगरी आर्थिक वर्ष ०८१/८२ मा ३२ जना महिला घरमा सुत्केरी भएका थिए । जसमध्ये ३२ जना नै गुलरिया नगरपालिकाका रहेका थिए ।
विराटनगरवासीले पाउने भए शुद्ध खानेपानी, साढे दुई अर्बभन्दा बढीको परियोजना अन्तिम चरणमा
विराटनगरमा अब अशुद्ध खानेपानीको त्रास अन्त्य हुने भएको छ। अशुद्ध खानेपानीकै कारण १२ वर्षअघि जन्डिसको महामारी फैलिएको विराटनगरमा नयाँ परियोजना निर्माण सम्पन्न भएसँगै अशुद्ध खानेपानीको त्रास अन्त्य हुने भएको हो। शुद्ध खानेपानी वितरणका लागि विराटनगरमा करिब दुई अर्ब ५४ करोड रुपैयाँबराबरको परियोजना अन्तिम चरणमा पुगेको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को अनुदान सहयोगमा विराटनगरमा खानेपानी परियोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको हो।
राष्ट्रपति पौडेलद्वारा नक्साल भगवतीसहित शक्तिपीठको दर्शन
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा काठमाडौं उपत्यकाका प्रमुख शक्तिपीठको दर्शन तथा पूजाआराधना गरेका छन्।
सोमबार राष्ट्रपति पौडेल काठमाडौंस्थित नक्साल भगवती मन्दिर पुगेर पूजाआराधना गरेका हुन्। उनले मन्दिरमा दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरेका थिए।
दसैँका अवसरमा राष्ट्रप्रमुखले काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहँदै आएको छ। सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले पनि शक्तिपीठको दर्शन गरेका हुन्।