स्विडेनका पाबोले पाए चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

सोमबार, १७ असोज, २०७९
डिजिटल संस्करण

यस वर्षको (सन् २०२२) को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्विडेनका आनुवंशिकविद् स्वान्ते पाबोले पाएका छन्। 

पाबोलाई विलुप्त पूर्वजहरूबाट आधुनिक समयका मानिसहरू कसरी विकसित भए भन्ने विषयमा गरेको खोजका लागि यो पुरस्कार प्रदान गरिएको हो। 

विलुप्त होमिनिन र मानव विकासको जिनोमहरूसम्बन्धी उनले गरेको खोज अकल्पनीय रहेको पुरस्कार समितिले जनाएको छ।

जर्मनीको म्याक्स प्लान्क इन्स्टिच्युट फर इभोलुसनरी एन्थ्रोपोलोजीका संस्थापक र ओकिनावा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीमा सहायक प्रोफेसरको रूपमा काम गर्ने पाबोले हेर्दा असम्भव देखिने कुरामा अनुसन्धान गरेका थिए। 

मंगलबार भौतिकशास्त्रतर्फको, बुधबार रसायनशास्त्रतर्फ र बिहीबार साहित्यका लागि नोबेल पुरस्कारको घोषणा हुने समितिले जनाएको छ। 

यस्तै, शुक्रबार नोबेल शान्ति पुरस्कार र आउँदो २४ गते अर्थशास्त्रतर्फको पुरस्कार घोषणा हुने जनाइएको छ। 

यो पुरस्कार संसारको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ। यसको राशि नौ लाख अमेरिकी डलरको छ। 

सुझावित समाचार