तराजु छोडेका रवीन्द्रले भोलिदेखि हलो बोक्ने

मंगलबार, ११ असोज, २०७९
डिजिटल संस्करण

संचारकर्म छाडेर वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा लागेका विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र भोलि राप्रपामा प्रवेश गर्ने भएका छन् । 

भोलि काठमाडौंमा एक कार्यक्रम आयोजना गरी राप्रपाले मिश्रलाई भित्र्याउन लागेको हो । मिश्रको नेतृत्वमा वृहत् ध्रुवीकरण समूहको नाममा विवकेशील साझाका केही नेता पनि राप्रपामा प्रवेश गर्न लागेको राप्रपाका एक नेताले जानकारी दिए । 

कमल थापालाई पराजित गरी राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि मिश्र उनीसँग लगातार संवादमा थिए । गत स्थानीय तहको निर्वाचनमा आफू नेतृत्वको पार्टीले शर्मनाक पराजय व्यहोरेपछि मिश्रले अध्यक्ष पदबाट राजीनामा दिई साधारण सदस्य मात्र रहेका थिए । । हिजो साधारण सदस्यसमेतबाट राजीनामा दिएपछि उनी राप्रपा प्रवेश गर्न लागेका हुन् । 

राप्रपामा उनलाई सहअध्यक्ष पद दिने सहमति भइसकेको नेताहरूले बताएका छन् । मिश्र केही अघि नै राप्रपामा प्रवेश गर्न लागेको भए पनि उनले मागेअनुसारको पद टुंगिन नसक्दा ढिलो भएको हो । उनले अध्यक्ष लिङ्देनपछिको पद मागेका थिए । तर, राप्रपाका केही उपाध्यक्षले विरोध गरेपछि उनको पार्टी प्रवेश लम्बिएको हो । अन्ततः सहअध्यक्ष दिएर मिश्रलाई भित्र्याउन राप्रपाका सबै सहमत भएका छन् । 

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भोलि आयोजित कार्यक्रममार्फत् मिश्र राप्रपामा आउने जानकारी दिए ।  
 

सुझावित समाचार